मेलम्चीमाथि काठमाडौं कविता

तिमी नरिसाउन मेलम्ची

डोरबहादुर केसी

देशको पसिना छिनभरमै माटोमा मिलिन भयो
मृगतृष्णा सरी जनताको सपना त्यसै विलिन भयो
आखिर यसरी किन रिसाएयौ मेलम्ची ?
देशको मुटु नै रक्तसञ्चारबिहिन भयो आज ।

तिम्रो कञ्चन चरित्रमा कुनै खास खोट सुनेनौं
तिम्रो अद्भुत शक्ति छ भनेर खासै कुरा बुझेनौं
तिमी हिँड्ने बाटो तयार गरी
स्वागतको रातो कार्पेट बिच्छाएर
स्वागत धुनसहित
नवबधू जस्तै गरी तिमीलाई घर भित्र्याउँदै गर्दा
मनलाई अचानक अन्त कतै फसायौ रे
गेगरानको प्रदुषित विकार त्यो मनमा बसायौ रे
छिः कस्तो निष्ठुरी तिमी
आफू हिँड्ने बाटो नै ठाउँ ठाउँमा पो खसायो रे ।

तिमी आउने खबर पाएर
भ्यागुताले बागमतीमा अण्डा पार्दै थियो
सुन्दरीजलको असलाले यतैतिर बसाइ सार्दै थियो
मेलम्ची बजारमा पनि चहलपहल बढ्दै थियो
तर तिमीले त कुनै विचारै नगरी
मेलम्ची बजार र माथिमाथि दैत्यरुप पो देखाएछौ
सुन्दर वस्तीलाई निर्जन वगर भनी लेखाए छौ ।

तिमी आउँछौ भन्दाभन्दै जनताले वर्षौं वर्ष कुरिसके
तिमीले निम्तो पठाएपछि भएको इनार पनि पुरिसके
तिम्रो आवगमनलाई ठूलो उपलब्धि ठान्दै
नेताजीहरु पनि धुरी चढेर सिंहझैं घुरिसके
तर तिमी भने,
आफ्नै त्यो सुन्दर रुपलाई कुरुप पार्दै खुबै रिसाएकी छौ
त्यो तिम्रो स्वच्छ वहावमा अहिले त,
भेमाथाङको गेगरान ल्याएर पो मिसाएकी छौ ।

आखिर किन रिसायो मेलम्ची ?
तिम्रा आफ्ना थुप्रै गुनासाहरु होलान्
तिम्रा आफ्ना मनका थुप्रै वेदनाहरु पनि होलान्
तर, तिम्रा ती सबै पीडाहरुलाई तिमीभित्रै थाती राखेर
तिम्रो त्यो रिसको आवेगलाई शान्त पार्दै
तिमी जनताको घरघरमा आउन मेलम्ची
जनताको मनिलो अनुहारलाई
फेरि छिट्टै खुसीले हँसाउन मेलम्ची
जुगल हिमालको त्यो स्वच्छ मुहानलाई बागमतीमा
फेरि छिट्टै मिसाउन मेलम्ची
तिमी अब धेरै नरिसाउन मेलम्ची ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button