
हसाउँनेको भन्दा रुवाउँनेको याद आउँदोरहेछ
पाँच मुक्तक
लता पौडेल
१.
हसाउँनेको भन्दा रुवाउँनेको याद आउँदोरहेछ
कोखाइ कोखाइ खुवाउँनेको याद आउँदोरहेछ
सुखमा होस् या दुखमा आफूलाई नै बिर्सिएर
आँखाबाट आँसु चुहाउनेको याद आउँदोरहेछ ।
२.
बाघको छालामा स्यालको रजाइँ देखियो यो देशमा
नीति नियममा विदेशी बठ्याइँ देखियो यो देशमा
जे जे तन्त्र आए पनि लुटतन्त्रको नै चल्छ शासन
साधु होइन चोरहरुको हर्कबढाइँ देखियो यो देशमा ।
३.
राज्यको ढिकुटी भ्रष्टाचारीको चारो हुन्छ
सरकारी काम सक्नलाई नै हतारो हुन्छ
वर्षान्तमा खन्याइन्छ देश विकासमा बजेट
बनाउँदै भत्किएको देख्दा लाजको पसारो हुन्छ ।
४.
आँखा जुधे तर तिम्रो आँखाको भाषा बुझिन
तानिएँ तिमीतिर आफ्नै मनको आशा बुझिन
कस्तो खेल खेल्ने मैदान हो प्रिये तिम्रो मन ?
हार्दै गएँ तर हराउने त्यो खेलको पासा बुझिन ।
५.
न भेषको न देशको विकासतिर ध्यान छ
कसरी लडाउने अरुलाई त्यति उद्यान छ
ए ! गरिबका पेटमाथि लात हान्नेहरु हो ?
तिम्रा यी कुकर्ममा स्वयं तिम्रो अवसान छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



