.. र पढाउँछ तिमीलाई बधुशिक्षा

सन्ध्या पौडेल

ऊ ढुक्क छ,
समाज उसको हो
वा ऊ जस्तैको मात्र हो
त्यसैले अनेकौ दुष्कृतिहरुपछि पनि
ऊ ढुक्क निदाउँछ ।

बारम्बार तिम्रो आत्मा कुल्चेर
आफ्ना अधिकारहरु फैलाउँछ,
र, तिम्रा अधिकारहरु खुम्च्याउँछ ।

उसलाई लाग्छ
ऊ नै सत्य हो
र, निस्फिक्री फलाक्छ
उसका उरनठेउला उपदेशहरु
अट्टाहासका साथ देखाउछ, आफ्नो अँहकार ।

उसलाई लाग्छ
तिम्रो जिन्दगीको लगाम
अब उसको हातमा छ
अनि त बाँध्न खोज्छ तिमीलाई
कुसंस्कारका बन्धनहरुमा
थुन्न खोज्छ तिमीलाई
अदृश्य कैदमा
र, कुर्लन्छ तिमीमाथि
र, निर्धक्क भट्टयाउँछ
तिमी नारी हौ
तिमीले सहनुपर्छ
पृथ्वी बन्नुपर्छ ।

ऊ तन्काउँछ
तिम्रो कर्तव्यको डोर
ऊ नाप्छ
तिम्रो सहनशीलताको बाँध
ऊ तोक्छ
तिम्रो धिरताको सीमा
ऊ फलाक्छ
सँस्कारको प्राचिनता
ऊ उदाहरण गर्दछ, मनुस्मृति
र, पढाउँछ तिमीलाई, बधुशिक्षा ।

ऊ खोक्छ, आफनो शक्ति बल
ऊ प्रहार गर्दछ, तिम्रो स्वभिमानमा
र, निर्घक्क घोषणा गर्दछ
तिमी नारी हौ, त्यसैले तिमीले नै सहनुपर्छ ।

ऊ आफुलाई न्यायधिश ठान्छ यो समाजको
र, फैसला गर्छ तिम्रो जीवनको
के तिमीेले यो अधिकार उसलाई दिएकी छयौ ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button