
महोदय !!!
प्रतिमा पन्थी
महोदय तपाईंको खुम्चिएको नाक
गुजुल्टिएको निधारले बोल्छ
कि कति पट्यारलाग्दो छ यो कुरा !
तपाईं २-३ पटक मात्र सुन्दा
पित्तृसत्ताको दमनको कहानी
झिझ्इनु हुन्छ,
सोच्नुस त युगौदेखि सहेर
सिङ्गो जुनी काटेका नारीहरु कति सकेका !
कति सकेका दमन र विभेदलाई
कर्मको खेल भनिरहन
कति सकेका दासतालाई भाग्यको मेल भनिरहन !
महोदय, तपाईं झर्कनु हुन्छ कि
कति एउटै कुरा गरिराखेको !
अरे, हाम्रा त कति शताब्दी कटेका छन्
यहि तादम्यतामा, यार !
तपाईं २-३ वातमै झर्किने ।
पुस्तौंदेखि यो रितिले थिचेर
संस्कारको वर्तमान आकार पाएको छ
त्यहि आकारमा अटेको घरमा
तपाईं दिन बितेपछि फर्कनु हुन्छ ।
हेर्नुस् त कति व्यवस्थित छ यो
उफ ! नभनि समेटिएको छ यो ।
कस्ले गराइदिएको छ यो ?
महोदय, तपाईंलाइ तपाईंको
अस्तित्वमा अहम गर्नेसम्म कसले बनाइदिएको छ ?
कसले बनाएको छ खण्डहरलाई घर ?
जहाँ तपाईं आफ्ना सुख र दुःख सु्स्ताउनु हुन्छ …
महोदय, कहिलेकाहीँ जब मागिन्छ
आफ्नो भागको अलिकति सम्मान
बुझिन्छ जब आत्मसम्मानको खाँचो
र बोलिन्छ २-३ शब्द
तपाईं बेहिसाबले चिडिनुहुन्छ !
महोदय, तपाईं झर्कनु हुन्छ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



