
जसले पाल्छ, उसैले खान्छ
लघुकथाः दानबकस
लता पौडेल
हाल: इलाम ।
‘फुपू ! म भरेतिर निस्कन्छु है, सन्चै हुनुहुन्छ नि ?’, बिहानै उसले फोन गरेकी थिई ।
उनले सरितासँग भेट हुने आशाले बाटो हेरिन् ।
साँझ ६ बज्न लागेको थियो सरिता हस्याङफस्याङ गर्दै आइपुगी ।
ढोग गरें, उसले फुपूका हातमा शिर राखी ।
‘भाग्येमानी बनेस्’ फुपूले आर्शीवाद दिइन् ।
सात वर्षमा विवाह गरेर धनकुटा दिएकी गौरीमाया श्रीमानको वार्षिकीपछि माइतमै बस्दै थिईन् । बाआमा पहिले नै खसेका थिए । श्रीमान् खसेको दुई वर्ष भएको थियो । उनीहरु निसन्तान थिए । बाआमाका चार सन्तानमध्ये उनी कान्छी थिइन् । दिदी सानैमा खसेकीले बाआमाले दाजुहरुलाई अंश दिंदा उनलाई ६ पाथिको घुमाउनेखेत दाइजोपेवा पास गरिदिएका थिए । दाजुहरु ६ महिनाको अघि पछि भएर चार वर्ष पहिले खसेका थिए । दाजुहरुका एक एक छोरा ।गौरीमाया जेठा दाजुको घरमा जाहान थपिएकी थिइन् । सरिता कान्छा दाजुकी बुहारी थिई ।
सरिताले फुपू ठुलै घरानकी बुहारी हुन् भन्ने सुनेकी थिई । उनी माइतै बसेको देखेर सरिताले अंश खोज्न उक्साएकी थिई ।
‘अंश दिने सासुससुरा मरिसके, देवर देवरानी छन्, गएर बसे उनैले हेरचाह गर्छन्, नगए ‘भाउजु तपाइँको अंश’ भन्दै दिन उनीहरुलाई के चासो, फेरि खर्च लाग्छ भन्छन्, उनले सरीतालाई भनेकी थिइन् ।
‘हजुर अंश लएिर माइत बस्न सक्नुहुन्छ, खर्चको के चिन्ता, म लगाईदिन्छु’ सरिताले फुपूलाई विश्वस्त गराएकी थिई ।
सल्लाहबमोजि उनीहरुले ६ महनिा पहिले धनकुटा जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । मुद्दको बाँकि कामको लागि वारेस राखिएको थियो । अंश मुद्दा नजित्ने कुरै छैन भन्दै वकिलले फैसलासम्मकै पचासहजार पारिश्रमिक छोड्न भनेपछि सरिताले चेक काटेर दिएकी थिई ।
‘बिहान वकिलले सरितालाई फोन गरे । सबै सम्पत्ती बाबुले कान्छा छोरालाई शेषपछिको बकस गरिदिएका रहेछन् । त्यसमा निसन्तान भएकोले केही नचाहिने भन्दै गौरीमायाका श्रीमानले मन्जुरी दिएको रहेछ । यिनै कागज प्रमाणहरु प्रतिवादीले अदालतमा पेश गरेका छन्, मेरो जेडबल लागेन ।’
वकिलको कुरा सुनाउँदै सरिताले भनी, ‘फुपू बर्वाद भयो, पचासहजार गयो, मुद्दा पनि हारियो । उप्रान्त म हजुरलाई पाल्छु, त्यो घुमाउने खेत मेरा नाममा बकस गरिदिनुहोस् ।’
सरिताको कुटिलता बुझेर असी वर्षकी गौरीमायाले भनिन् ‘दिन्न कसैलाई मेरो पितृप्रसाद, लोग्नेले त मलाई आफ्नो देखेनछन्, सबै बलेकै आगो ताप्ने त रहेछन् नि, जसले पाल्छ उसैले खान्छ, ला तेरो पचासहजार ।’
उनले सुनको चुरा फुकालेर सरितातिर हुत्याउँदै भनिन् ‘तैंले गर्दा देवर-देवरानीसँगको नाता टुट्यो ।’
फुपूको कुराले सरिताले निलो-कालो अनुहार लगाई ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



