
कोरोना गयो, कथासंग्रह आयो
'भुँडीपुराण'द्वारा केही दिनअघि प्रकाशित वस्तीको छैठौं कथाकृति ‘देउदत्त र रानी मुखर्जीहरू’ मा कथाकारबाट अभिव्यक्त विचार सान्दर्भिक ठानेर प्रकाशित गरेका छौँ ।
कथामा तीन दशक
विवश वस्ती
सामाजिक जीवनका अनेक रुप, रङ र दृश्य–विम्बहरुलाई वृहत् एवं फराकिलो क्यानभासमा उतार्ने ध्येय सँगालेर कथा–लेखनमा सङ्केन्द्रण गरें । यसरी, तीन दशकभन्दा बढी समयावधि कथा–लेखनको व्यसनीमा बितिसकेछन् । पूर्ववर्ती समाजका विम्ब÷प्रतिविम्ब, राजनीतिक क्षेत्रमा व्याप्त उतारचढाव, साँस्कृतिक तहमा थुप्रिएका विचलनलगायत दैनन्दिन जीवनका दृश्य–परिदृश्यहरुलाई टिपेर त्यसलाई कथ्यको रसायनमा पकाउनु निकै दुःसाध्य कर्म थियो । तर, कथा–लेखनलाई सिर्जनाको मूल ध्येय बनाउनमा समर्पित रहँदै आएँ र आफूले अनेक माध्यमद्वारा अनुभूत गरेका घटनाहरुलाई टिप्दै आएँ, लेखन धरालतमा सजाउँदै आएँ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिका वर्ष-दशकहरु उथलपुथलमय रहे । परिवर्तनपछिका ती दिनहरु हरेक क्षेत्रमा तरङ्ग ल्याउन सक्षम रहे । तथापि, तत्कालीन समयमा प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अग्र दिशामा पाइला चालिने अपेक्षा विपरीतका कार्य र कदमहरु चालिँदै आए । नेपाली समाजले अनेक राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक र नैतिक सङ्कटहरु झेल्दै गुजार्नु प¥यो । यद्यपि, सङ्कटका काला बादलहरु सामाजिक आकाशमा मडारिए पनि राजनीतिक, सामाजिक, शैक्षिकजस्ता क्षेत्रमा चेतनाको स्तर भने अपेक्षाकृत रुपमा उकासिए । जन–जनमा व्याप्त त्यही अकासिएको चेतना स्तरकै कारण २०६२÷०६३ को जनआन्दोलनले सफलताको चुली टेक्यो र देश गणतान्त्रिक राजनीतिक प्रणालीको गोरेटामा पाइला चाल्न सक्षम भयो । निःसन्देह, जनतामा भित्रिएको अशेष सामथ्र्य र मनोबलकै कारण परिवर्तनका ध्वता–पताकाहरु फर्फराउन पुगे ।
यद्यपि, राजनीतिक तहमा परिवर्तन भए पनि अझै सीमान्तीय वर्गले त्यसको वैविध्य उपभोग र स्वाद ग्रहण गर्न भने पाएका छैनन् । जसले मह काढेका हुन्, उनैले मात्र स्वाद लिइलिई हात चाटिरहेका छन् । यदाकदा, मह काढ्नेको हातबाट चुहिएको मह सीमान्त तहका वर्गले चाट्न पाएका त होलान् तर अपर्याप्त मात्र । मूलतः यस्ता परिदृश्य जन्मिनुमा राजनीतिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा प्रकट विसङ्गतिका साथै मानवीय संवेदनामा व्याप्त -हास र नैतिक एवं साँस्कृतिक जीवन र मूल्य, मान्यतामा छाएको खडेरी नै दोषी छन् भन्नु अतिशयोक्ति नहोला ।
मेरा कथाहरु यिनै सेरोफेरोमा केन्द्रित छन् ।
नेपाली समाजलाई अनेक राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक पक्षहरुले प्रभावित तुल्याउँदै आयो, बितेको तीन दशकको अवधिमा । पचासको दशकमा विद्रोही माओवादीले सशस्त्र युद्धको थालनी गरेपछि हिंसात्मक द्वन्द्वको शृङ्खला निकै लम्बिन पुग्यो । द्वन्द्वको मौलोमा पूरै सामाजिक जीवन बाँधिन पुग्यो । हजारौंको बलिदानपछि विद्रोहीहरु शान्ति प्रक्रियामा आए र पछिल्लो समय सत्तामा पनि पुगे । तर, दशक लामो युद्धाभ्यास गरेर आएका विद्रोही पक्ष आफ्नो नैतिक÷साँस्कृतिक धरातलबाट क्रमशः पथभ्रष्ट र स्खलित हुँदै गए । त्यसका झलकहरु मैले केही कथामा उतारेको छु र केही चाहिँ द्वन्द्वकालीन समयका तस्बिरहरु पनि छन् । मेरो अपेक्षा छ– ती कथाहरुले द्वन्द्वकालीन समयको अमानुषिक चरित्र र मनोविज्ञान बुझ्न हरेक कोणबाट सघाउने छन् ।
वर्षौंदेखि बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक नेपाली समाजको सुन्दर र उज्यालो अनुहारलाई कालो धब्बा पोत्दै आएको छ– जातीय विभेद र छुवाछुतले । कथित तल्लो जात मानिने÷भनिने दलित समुदायमाथि लामो कालखण्डदेखि थोपरिँदै आएको विभेद र छुवाछुतका असहिष्णु÷अमानवीय व्यवहारहरु अझै व्याप्त छन् । कुनै पनि सभ्य, आधुनिक र विवेकशील समाजका निम्ति विभेद र छुवाछुतजस्ता पाटाहरु अमान्य हुनु पर्ने हो, तर रुकुम नरसंहारजस्ता दृश्य नियाल्न हामी बाध्य भइरहेका छौं । त्यसका निरीह साक्षी बन्न अभिशप्त छौं । यो संग्रहमा दलित–विमर्शमाथि लेखिएका केही कथा समाविष्ट छन् र यो कवितांशले तिनै विभेद र छुवाछुतजन्य व्यवहार भोग्न बाध्य कथित दलित समुदायको व्यथा पस्किएको छ ।
‘मस्जिदबाट अजानको आवाज आयो
सबै मुसलमान मस्जिदभित्र छिरे
गिर्जाघरमा घन्टी बज्यो
सबै इसाई गिर्जाघरतिर गए
जब मन्दिरमा घन्ट बज्यो
तब आधा मानिस मन्दिरभित्र छिरे
आधा मानिस बाहिरै उभिए ।’
(शरणकुमार लिम्बाले, मराठी कवि)
…
२०६९ सालमा पाँचौं कथाकृति ‘तला’ प्रकाशित भएयता करिब दुई वटा कृतिका लागि पर्याप्त कथाहरु लेखिसकेको रहेछु । तर यो समयावधिमा संग्रह निकाल्नेतिर ध्यान केन्द्रित गर्न सकिएन । पछिल्लो समय, २०६८ साल वैशाखको अन्तिम साता कोभिड–१९ को तिखो चपेटामा परेर त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जको बेडमा सकसपूर्ण तरिकाले बस्दा, बारम्बार मृत्युबोध र चेतनाले गाँजिरहँदा घरिघरि एउटै प्रश्न मस्तिष्कभरि घुमिरह्यो– मेरा रचनाहरु अब के होला ? त्यसले आम पाठकसामु पुग्ने सुऔसर पाउला वा नपाउला ?
आठ दिनसम्म कष्ट झेल्दै अस्पतालमा बस्दा जीवनसाथी दीपा, छोरा विभव, ज्वाइँ डा. आशिष श्रेष्ठ, छोरी थुङ्गा र अस्पताल भर्ना हुनुअघि प्रिय मित्र डा. रवीन्द्र समीरका साथै स्वास्थ्यलाभको कामना गर्नु हुने आफन्तजन, साथी, शुभचिन्तकहरुको हौसला र प्रेरणाले नयाँ जीवन पाएँ । र, केही तङ्ग्रिएपछि छरिएका कथाहरुलाई बटुलेर कृतिको रुप दिन सक्षम भएँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



