प्रभु ! अन्याय भयो, अरूको भाग खोसेर खानेमाथि कारबाही होस्’

लघुकथाः न्याय

संकलनः चन्द्रज्योति सुवेदी

दिनभरिको अथक मिहिनेतपछि बेलुकी पख बल्ल उसको जालमा एउटै गतिलै माछा पर्‍यो ।

अलिकति मुस्कुराउँदै जालबाट माछा निकालेर उसले के समाएको थियो, एउटा लुटेरा आएर उसको हातको माछा खोसेर भाग्यो । माछा जिउँदै थियो, लुटेराको बूढी औंलामा क्याप्प टोकिहाल्यो ।

घाउ गहिरो थियो, डाक्टरलाई देखायो, ड्रेसिङ गरेर डाक्टरले भन्यो, ‘यो औषधी खानु, तीन दिनपछि फेरि आउनु ।’

तीन दिनमा औंला टनटन सुन्निएर दुखिरहेको थियो । चेकअपपछि डाक्टरले भन्यो, ‘ओहो ! यो औंला काट्नु पर्छ, नत्र संक्रमण हातभरि फैलन सक्छ ।’

औंला काटेर औषधी दिँदै भन्यो, ‘चार दिनपछि आउनु ।’

चार दिनपछि जाँदा डाक्टरले भन्यो, ‘लौ ! हत्केला पनि काट्नु पर्ने भयो !’

सँक्रमण फैलिदै जाँदा त्यसको चार दिनपछि कुहिनाबाट र आठ दिनपछि कुमबाटै हात काटेर फाल्नु पर्ने भयो ।

लुटेरा माछा मार्ने मान्छे कहाँ गयो र रूदै भन्यो, ‘माफ गर दाजै, तिमीले ममाथि के जादु गर्‍यौ ? जसले मेरो हात काट्नुपर्‍यो ।’

माछा मार्ने मान्छेले भन्यो, ‘मैले केही जादु गरेको होइन । जब मेरो दिनभरिको परिश्रमको फललाई तिमीले चुँडेर लग्यौ, मैले दुई हात जोडेर भगवानसँग बिन्ती गरेको थिएँ, प्रभु ! ममाथि अन्याय भयो । अरूको भाग खोसेर खानेमाथि कारबाही होस् ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button