म भगवान हुँ

आशिष खरेल

कोहि भन्छन् भगवान एक अदृश्य शक्ति हो । कोहि भन्छन्, भगवान हाम्रो आस्था हो । कोहि भन्छन्, भगवान हाम्रो विश्वास हो । अनि कोहि भन्छन्, भगवान बादल पारी रहने एक शक्तिशाली सृष्टिकर्ता हो ।

धेरै प्रकारका मानिस पाइन्छन् । एक हुन्छन्, भगवानमाथि विश्वास राख्नेहरु, जो ठान्छन्, जे हुन्छ सब भगवानले नै गर्नु हुन्छ र सबथोकको कारण भगवानै हुन् । अर्को हुन्छन्, भगवान त हुन्नन्, देख्या छ र कसैले भन्ने अनि केही आपत आइपर्दा हे भगवान रक्षा गर भन्दै भगवानलाई विभिन्न कुरा चडाउँछु भनेर झुटो आशा देखाउने अनि आपत टरेपछि भगवानमा त मलाई खासै विश्वास लाग्दैन भन्दै हिँड्ने । अनि आउँछ अर्को, भूत हुन्छ भने त भगवान पनि हुन्छ होला नि भन्नेहरु । यी यस्तै नै छन्, भगवानमाथि विश्वास राख्ने र नराख्ने अनि आधा विश्वास राख्ने अनि आधा विश्वास नराख्ने मानिसको प्रकार ।

तर, मेरो भने भगवानप्रतिको छुट्टै धारणा छ । म भन्छु, भगवान म हुँ, भगवान हामी हौँ । अर्थात् भगवान हामीभित्र भएको एक सकारात्मक सोच, विचार र धारणा हो । कोही अफ्ठ्यारोमा पर्दा उप्रति सहयोगको भावना प्रकट गर्नु नै आफुभित्र भएको भगवानको निसानी हो । कसैलाई पनि जानी जानी दुख नदिनु, यदि कहिलेकाहीँ अन्जानमा आफ्नो कारणले दुख पर्यो भने त्यो दुखको जिम्मेवार म हुँ भनेर स्विकारी त्यसको समाधान गर्नु पनि म एक भगवान हुँ भन्नुको निसानी हो ।

यहाँ भगवान भन्नवितिकै एक विशाल शक्ति जस्ले जे पनि गर्न सक्ने भन्ने बुझिन्छ तर त्यस्तो होइन ।

मानौँ एक धनी व्यक्ति छ । ऊसँग जे पनि गर्न सक्ने पैसा छ । तर, ऊ त्यो पैसाको केही भाग गरिब दुखीलाई दिनु भन्दा त्यो पैसालाई अझ थुपारेर राख्ने गरिरहन्छ। अनि आफू त जे पनि गर्न सक्छु भनेर घमण्डी म बनेर हिँड्छ । अनि दुनियाँलाई म धनी हुँ, मैले केही कुरा बाँड्यो भने मलाई सबले चिन्छन् अनि म सबका नजरामा राम्रो देखिन्छु भनेर केही बाँड्दै हिड्छ भने त्यो भगवानको स्वरुप होइन । किनभने, उसले केही अरुलाई दिएर त्यसबाट अरुले मलाई चिन्छन् भन्ने स्वार्थ बोकेको हुन्छ । उसलाई आफ्नो अन्तरआत्मादेखि दान गर्न मनै भएको हुँदैन । त्यसैले शक्ति र पैसावाला मात्र भगवान हुने होइन ।

अब एउटा अर्को उदाहरणमाथि चर्चा गरुम् । एउटा सानो बच्चा थियो । ऊ सारै गरिब परिवारमा जन्मेको थियो । एकदिन उसलाई सारै भोक लागेको बेला आमाले उसलाई पाँच रुपैयाँ दिएरा जा पाउरोटी किनेर खा भन्नुभयो। अनि उस्ले एउटा पसलमा गएर एउटा पाउरोटी किन्छ र खान खोज्छ । त्यतिकैमा उसले त्यही छेउमा एउटा कुकुर आफुसँग भएको पाउरोटीलाई हेरिरहेको देख्छ र आधा त्यो कुकुरलाई दिई आधा आफुले खान्छ । यहि हो, एक म भगवान हुँ भन्नुको प्रमाण । आफू जति भोकाए पनि एक जनावरको भोकलाई महसुस गरी उसलाई सानो सहयोगस्वरुप पाउरोटीको आधा भाग दिने सोच बनाउनु र दिनु नै म भगवान हु भन्नुको एउटा सानो उदाहरण हो ।

हामीले ममा त यस्तो सोच आउँदैन भनेर चिन्ता गर्नु पर्दैन । आए पनि हामीले धेरै के पो सहयोग गर्न सक्छौ र भनेर पनि चिन्ता लिनु पर्दैन । यस्तो धारणा हामीमा नभएको होइन । हामीले त्यस्ता सोचलाई कहिलै खोज्ने प्रयासै नगरेका हौं । अनि अर्को कुरा, सहयोग कुनै सानो ठूलो हुँदैन । यदि सहयोग गर्न मन छ भने हामीले आफुले सके जति अर्थात एउटा भोको मानिसलाई एक पुरीया बिस्कुट खुवाउन पनि सक्छौं । यस्को लागि हामीले हामीभित्र भएको भगवानको खोजी गर्न जरुरी छ ।

हाम्रो सानो सहयोग आवश्यक मानिसको लागि ठूलो सहयोग बन्न जान्छ र त्यो मानिसको सामु तिमी एक भगवानको स्वरुप बनेर प्रकट हुने गर्छौ । यसरी नै सानो सानो सहयोग गरे बापत कसैको ओठमा मुस्कान ल्याउन सक्यौ भने सम्झ, ‘म भगवान हुँ ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button