‘क’ संसार

पानी त हो
चलायो भने उसको ऐनालाई
जो कसैको अनुहार
कच्याककुचुक पार्छ
भत्काउँछ
बिगार्छ । – पानी

यस्तै यस्तै पङ्क्तीहरूको सिङ्गो सङ्ग्रह हो ‘क’ । ‘क’ असीम सागरको कविता सङ्ग्रहको नाम । फाइन प्रिन्टबाट २०७७ सालमा प्रकाशन भएको यो कृति कविता प्रेमीहरूकालागि पठनीय मात्र होइन संग्रहनीय कृति पनि हो । भौतिक रूपमा असीम सागरसँग मेरो भेट भएको छैन तथापि यो सङ्ग्रहभित्रका कविता पढेपछि लाग्यो- उनीसँग वर्षौदेखिको चिनजान छ । एउटा पाठकको मनमा बस्ने कविता लेख्नसक्ने कविहरु सबैको पुरानो चिनजानकोझैँ लाग्ने रहेछन् । कविको सफलता पनि यही हो सायद ।

प्रस्तुत कविता सङ्ग्रहभित्र जम्मा पच्पन्न वटा कविताहरू सङ्ग्रहित छन् । शीर्ष कविता ‘क’ बहत्तर सालको बिनासकारी भूकम्पले ढलाएको आलिशान अहमको धरासायी अवस्थाबाट सिर्जना भएको छ जसमा करोडपतिहरूको ‘क’को ताज झरेको अवस्थाको चित्रण छ । अधिकांश कविता माटोको सुगन्धबाट निर्मित छन् । पसिनाले भिजेको श्रमजस्ता कविता प्रस्तुत कृतिको विशेषता हो, पहिचान हो । साँच्चो कवि सधैँ ध्यानस्थ हुन्छ । आवाजविहीनहरूको आवाज सुन्न र लेख्न सक्नु कविको धर्म हो । कवि असीम सागर आफ्नो ध्यानले माटोको आवाज सुन्छन्, शडकको आवाज सुन्छन् र तिनका आवाजलाई कवितामा उतार्छन् । उनले चयन गरेका कविताका शीर्षकहरूले पनि यो कुरालाई पुष्टि गरेका छन् । वास्तवमा अरूले सुन्न नसकेका आवाजहरू सुन्नु, अरूले नबोलेको बोल्नु या अरूले बोलिसकेको विषयलाई फरक ढङ्गबाट प्रस्तुत गर्नु कविको सफलता हो, यो कुरामा कवि सचेत लाग्दछन् ।

आत्रेय

असल कविले राज्यको पक्षमा तर परेको खण्डमा सत्ताको बिपक्षमा समेत आफ्ना अक्षरको जुलुस निकाल्छ । हामी वेथितिले भरिएको सत्ताले डामिएका देशबासी । देश बनाउछु भन्नेहरूले नै देश भत्काएर थाङ्थिलो बनाएका देशका मान्छे । भन्नेहरूले जे भने पनि यो देशको अस्तित्व कमिला र मौरीजस्ता काम गर्ने श्रमिकहरूको पसिनाले अडेको छ । असीम सागरले यही कुरालाई आफ्नो कवितामा यसरी उतारेका छन्-

आफैँ तर्सिने आफ्नो सिकुटे अनुहारले
ओझेल परेको घामको तस्बिर नियाल्दै
आफ्नै पाखा पखेराको धुलौटे माटोमा
धनमाया
पसिनाले देश लेख्छिन्
ढाकरमा देश बोक्छिन् -पसिनाको जुलुस

यसरी माटाका साना साना कणमा र पसिनाका थोपा थोपामा बसेर कविले कवितामा प्राण भरेका छन् । उनका कवितामा हल्लिरहेको पानीमा देखिने चित्र जस्तो देशको चित्र दुखेको छ । स्कुल जान नपाएका नानी बाबूहरूको अँध्यारो भविश्य छ, युवाहरूकोविदेश पलायनको ऋण छ र वृद्धवृद्धाहरूको कहिल्यै निको नहुने एक्लोपना छ र यी तमाम असहज परिश्थितिलाई व्यवश्थापन गर्न नसक्ने पटक पटकको असफल राजनीति छ, सरकार छ । यिनै बेथितिले बनाएको मानिसहरूको वर्ग छ । बाँच्नकैलागि शडकमा हात थाप्नुपर्ने वर्गदेखि लिएर सम्पत्तिको भारले थिचेर रोगाउने वर्गसमेत छ । यो आकाश पातालको विभेदी वर्गमा रगत चुस्ने जुकाजस्ता सत्ताधारीहरूमाथिका खबरदारी कविताहरू छन् असीम सागरका । प्रकाशकले पछिल्लो कभर पेजमा लेखेजस्तै असीम सागर पसिनाको मसीले कविता लेख्छन् ।

यस सङ्ग्रहभित्रका कविता पढिरहँदा यस्तो लाग्छ- कवि असीम सागर भावनाका सागर हुन् । उनीभित्र कविताको विशाल सागर छ जुन सागरबाट अड्कली अड्कली उनी पाठकमाझ कविता पस्किन सिपालु छन् । कवितामा धार लगाएर जुकाहरूको झाँको झार्ने काम उनले गरेका छन्, खबरदारी गर्ने काम गरेका छन् । हर क्षेत्रमा हुने भ्रष्टाचारले ढाड सेक्ने भनेको आखिर गरीबहरूकै हो र यस्ता कुराहरूो निदान राज्यले गर्नुपर्ने हो तर राज्यसत्ता कुम्भकर्ण जस्तै निदाएको छ । बरु अझ उल्टो बेथितिको विरोध गर्ने सही आवाजमाथि राज्य स्वयं अङ्कुश लगाउँछ । जतिसुकै राज्यले आवाज बन्द गर्न खोजे पनि कलमको आवाज बन्द गर्न सक्दैन किनकी कवि लेखकहरू आवाज विहीनहरूको आवाज बन्न नै आफ्ना काव्यिक हतियार चलाउछन् । यी र यस्ता सवालहरूलाई कवि सागरले मिहिन ढङ्गले केलाएका छन् र विद्रोह भएका छन् । आफ्नै देशभित्र देश नहुुनुको असह्य पीडा, अनागरिक भएका लाखौं नेपालीहरूको आवाजमाथि कवितामार्फत यसरी प्रस्तुत भएका छन् कवि

-श्रीमान्
चेतनाको दियो बालेर
उज्यालो छर्दै हिँड्न खोज्ने
म यो देशको अयोग्य नागरिक
मलाई अपराधी घोषणा गरियोस्
र सुनाइयोस् मृत्युदण्डको फैसला –सर्वोच्चलाई आदेश

कवि लेखकलाई सत्ताको प्रतिपक्षीको रूपमा त्यसै लिइएको होइन, राज्य सत्ताका कमी कमजोरीलाई आफ्ना मसीमार्फत सर्वसाधारणसम्म पु¥याएर सामुहिक आवाज उठाउँने काम लेखकको हो । जनताको ढाडमाथि टेकेर सत्ताको मेजमान खान पल्किएकाहरूले नै देशलाई खोक्रो बनाएका छन् । यो प्रवृत्तिमाथिको हामी आम नागरिकको असन्तुष्टिलाई कविले आफ्ना कवितामा टपक्क टिपेका छन् । उनले कवितामा भनेझैँ वेथितिमाथि प्रश्न उठायो कि प्रश्नकर्ता देशद्रोही हुन्छ । मानौँ प्रत्येक ‘माफिया’हरू देश हुन् र माफियाको विरोध गर्नु देशद्रोही हुनु हो । कवि असीम तितो पोख्छन्

-कसैले चूँ ग-यो कि
आत्तिएर केही निरङ्कुश थुतुनाहरू
कोकोहोलो गर्छन् र चोर औला देखाएर भन्छन्-
यो देश द्रोही हो
यसलाई देश निकाला गर –जहाँ मान्छे मर्मत गरिन्छ’

बिसङ्गतिको त्रासभन्दामाथि उठेर समाजका लागि उज्यालो पस्किनु लेखकको कर्म हो, धर्म हो । आफ्नो लेखकीय कर्तव्यमा असीम सागर सचेत देखिन्छन् । वर्षौदेखि अल्मलिएको नेपालीहरूको भाग्य र चुनौतिमाथिको शुक्ष्म विशलेषण गर्न सफल भएका छन् कवि आफ्ना कवितामा । मैले माथि पनि लेखेकी छु कि कुनै पनि वस्तु वा तथ्यलाई फरक ढङ्गले देख्ने र लेख्ने कला कविसँग हुन्छ त्यो उसको नितान्त आफ्नो सम्पत्ति हो । कवि असीम सागर पनि आफ्ना कवितामा अरूले देख्न नसकेका कुराहरू देखाउन सफल छन् । प्रायः सबै कवितामाश्रमजिवी नागरिकको आँखाले समस्याहरूको उठान गरेका छन् र श्रमजिवीहरूको आवाज बोलेका छन् । साना साना कुरामाथिको गम्भिरतामा उनको ध्यान पुगेको पाइन्छ ।

जति नै अँध्यारो भए पनि ब्ल्याकबोर्ड
उज्यालो घाम बाँढ्छ नानीहरूलाई
तर यति निकम्मा हुन्छ कि डस्टर
न आफू लेख्छ
न चकले लेखेको देखिसहन्छ -डस्टर

कविले भने जस्तै हामीले पटक पटक यस्ता डस्टरजस्ता सत्ता भोग्यौँ जसले न आफूले देश बनाए न त अरूलाई देश लेख्न दिए । एउटा छोटो कवितामा सिङ्गो देशको अनुहार अटाउन सफल भएका छन् कवि असीम सागर । उनका कविता सामान्य पाठककालागि पनि सरल छन् । सरल शब्दमा गहन विषय व्यक्त गर्ने सीप र कौसलका कारण पनि कवि असीम आफ्ना सबै पाठकको मन सिँचाइ गर्न सक्नेछन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button