
म तिम्री आमा तर तिमी सानुआमाकी छोरी
लघुकथाः परिबन्द
लता पौडेल
पोहोर मात्र उनको विवाह गरेको । ज्वाइँ अस्ट्रेलिया भएकोले उनी धेरैजसो माइतमै बस्थिन् ।
‘ममी म कसको छोरी ?’ बैठक कोठामा बसीरहेकी छोरीले एक्कासी सोधिन् ।
आज पनि छोरीले त्यही प्रश्न सोधिन्, योसँग तीन पटक भयो । ‘के भनेर टार्ने हो ?’ मैंले मनमनै सम्झें ।
किन टोलाउनु भएको ममी ? किन लुकाउनु हुन्छ ? जवाफ दिनुहोस् आज ।
छोरीको दोस्रो प्रश्नले म तीस वर्ष अगाडिको घटना सम्झेर झस्किएँ । ‘सायद मेरो मुखमुद्रामा केही झल्किएको थियो ।’
‘किन नानी तिमी आफूलाई खोज्दैछ्यौ ?’ मैंले प्रश्न गरें ।
‘मैंले किन थाहा नपाउने ? पख्नुहोस् !! ‘ भन्दै उनी भान्सातिर लागिन् र दुई ग्लास पानी ट्रेमा राखेर आइन् ।
‘पराइघर गइसकेकी छोरी, यतिन्जेल कुरा लुकाएर राखे पनि उनले सोधेको बेला नभने पश्चाताप हुनेछ, छोरीको मप्रति विश्वास रहने छैन,’ मैंले भन्ने निश्चय गरें ।
आफूलाई सम्हाल्दै उनको प्रश्नको उत्तर दिएँ ‘सानुमुमाकी ।’
‘कसरी ममी ?’ उनी मेरो कुराले आत्तिइन् ।
बाबा र म एउटै अफिसमा जागिर गर्थ्यौं । तिम्रो दाजु जन्मिएको एक महिनापछि मैंले अफिस जानुपर्ने भयो । त्यो बेलामा अहिलेजस्तो तीन महिना सुत्केरी विदा थिएन । दाजु हेर्न मान्छे पाइएन । सानुमुमाले एसएलसी दिएकी थिईन् । मैले बुबामुमासँग उनलाई लिएर जान्छु, उतै बसेर पढ्छिन् भने, उहाँहरु मन्जुर हुनुभयो । पन्ध्र पुगेर सोह्र वर्ष मात्र लागेकी सानुमुमा दिदीसँग जानपाउँदा फुरुक्क भईन् ।
‘अनि कसरी ममी ?’ उनले क्रोध मिश्रित भावमा प्रश्न गरिन् ।
‘तिम्रो बाबासँग उनको सहवास भएछ, उनलाई गर्भ रहने ज्ञान थिएन सायद । चार महिनापछि मैंले थाहा पाएँ । बुबामुमा काठमान्डौमा बस्नुहुन्थ्यो । मैले सानुमामुलाई काठमान्डौ जाउँ भनेर बिराटनगर लिएर गएँ, पाँच महिना त्यतै बस्यौं । कोशी अस्पतालमा तिमी जन्मियौं । तिमी जन्मिएको पन्ध्र दिनपछि हामी इलाम गयौं । दाजुभन्दा तिमी एघार महिनाले कान्छी भएर कसैले शङका गर्ने कुरो भएन । तिमीहरुलाई हुर्काउँदा हुर्काउँदै सानुमुमाले स्नातकसम्म पढिन् । पछि उनको विवाह गरिदियौं ।
‘किन लुकाउनु भयो ममी अहिलेसम्म ?’ उनले घाइते बाघ जस्तो गरिन् ।
उनको आक्रोशलाई शान्त पार्दै मैंले भने, ‘परिबन्द कसरी सुनाउनु ? गल्ती मेरो पनि हो, दाजु हेर्न सानुमामु नलगेको भए यो हुने थिएन, मेरा लागि तिमी र सानो मुमा अबोध थियौ । मैले जसरी पनि तिमीहरुको रक्षा गर्नु थियो ।’
यति सुन्दासुन्दै मलाई गम्ल्याङ्ग अँगालो हालेर डाको छोडेर भनिन्, ‘माई गड … ! दादाले सात वर्ष पहिले तिमी र म एउटै आमाका सन्तान होइनौ रे भन्नु भएको थियो ।’
‘हँ !! दाजुलाई थाहा छ ?’, मैंले सोधें ।
उनी घोप्टो परेर रोइरहिन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



