कविताः जेनी

निर्मला प्रसाई सापकोटा

जेनी,
तिमी डेन्टल चेयरमा
दाँत फुकाल्न पल्टेको बेला
म तिम्रो अनुहारमा
मेरी आमा खोजिरहेकी थिएँ
तिम्रा अनुहारका
हरेक छेउकुना नियाल्दा नियाल्दै
मैले तिम्रो चिउँडोमा
मेरी आमा भेटेकी थिएँ ।

त्यति नै बेला
सायद तिमीले
मेरो मन नियालिरहेकी थियौ
मैले तिमीमा
मेरी आमा खोज्दै गर्दा
तिमीले ममा
आफ्नी छोरी भेट्दै थियौ
त्यसैले तिमी
मसँग कुरा गर्न खोजिरहेकी थियौ
डेन्टीससँग भन्दा पनि
मसँग नै धेरै समय बिताएकी थियौ

थोरै समयमा तिमीले
धेरै प्रश्न सोध्यौ
तिमीलाई मैले उत्तर दिइरहें
सोध्न त तिमीलाई
मसँग पनि धेरै प्रश्नहरु थिए
तर म समयको बन्धनमा बाँधिएकी थिएँ

आफ्नो दुखाई बिर्सेर
तिमी मसँग झ्याम्मिएकी थियौ
पछि धेरैपछि
कतै हराएर भेटेकी छोरीलाई
जसरी अँगालेकी थियौ
म पनि
मनमनै आश्चर्य बन्दै सोच्दै थिएँ
पहिले त्यस्तो कहिल्यै भएको थिएन
के त्यो हाम्रो पहिलो भेट नै थियो ?

जेनी,
जुन क्षण
मैले तिमीमा आमा खोजें
त्यही क्षण
तिमीले ममा छोरी भेट्यौ
के मेरी आमा
तिमीमा नै आएर विलीन भएकी थिइन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button