
सडकबृद्धको नाटक
कथा
तृष्णा कार्की
विराटनगर ।
विक्रम नयाँ कार लिएर घर फर्किदै थिए । साँझ पर्न लागेको थियो ।
अचानक उनको आँखाले सडकपेटीमा एक जना बृद्धलाई देख्यो । गाडी उनकै छेउ लगेर रोके । र, बृद्धको मलिन अनुहारलाई हेरिरहे । उनले आफूलाई सम्झे र बृद्धमा आफ्नु अनुहार देखे । यत्तिकैमा अगाडिबाट आएको गाडीको हर्नले उनलाई झल्याँस्स भए । गाडीबाट ओर्लेर बृद्ध भए ठाउँ पुगे । बृद्धसँग केही कुरा गरे । उनको दयनिय अवस्था देखेर आफूसँगै लिएर आए अनि गाडी घरतिर दौडाए । गाडी आँगनमै राखेर बृद्ध लिएर घरभित्र गए ।
‘कसलाई लिएर आउनु भएको ?’, विनिताले सोधिन् ।
‘पहिला हामीलाई एक एक कप चिया लिएर आउ न अनि खाना खाने व्यवस्था गर । अरु कुरा पछि गरुँला’, विक्रमले भने ।
हस् भन्दै विनिता भान्सातिर लागिन् । बृद्धले विक्रमलाई हेरेर हर्षपुर्ण भावले हेरिरहे ।
चिया खाइसकेपछि विक्रमले दराजबाट केही लुगा ल्याएर उनलाई दिँदै नुहाउन भने ।
बृद्धले भने, ‘तपाईंहरु दुवैजनालाई धेरै धेरै धन्यवाद । आज मलाई यत्रो सम्मान गरेर खाना खुवाउनु भो । अब मलाई विदा दिनुहोस् । म घर जान्छु । नजिकै छ । मलाई अब नरोक्नुहोस् ।’
विक्रमले धेरै बस्न जोड गरे । तर उनले जिद्धी गरेपछि विक्रमको केही चलेन । बृद्ध आफ्नु घरतिर लागे ।
‘यिनी को हुन् ? कसरी तपाईंले लिएर आउनु भो ? भन्नुहोस न ?’, विनिताले फेरि सोधिन् ।
विक्रमले सबै कुरा भनेपछि विनिताले भनिन्, ‘यसरी सडकमा भेटिएका मान्छे ल्याउन थाल्यो भने त हजारौ छन् । के तपाईं सक्नु हुन्छ ?’
विक्रमले भने, ‘तिमीलाई थाहा छ, आज यी बृद्धलाई देखेपछि मेरो विगत याद आयो । कुनै दिन म पनि ती बृद्धजस्तै सडक मा भौंतारिएर हिड्ने सडक बालक थिएँ अनि कुनै सज्जन मान्छेले उठाएर मलाई ल्यायो र यो अवस्थामा पुगेँ र म तिमीसित छु अनि तिमी मसित । साँझमा आएका पाहुनालाई सत्कार गरेकोमा तिमीलाई धन्यवाद । अब रात धेरै भो, सुत ।’
बिहान आठ बजे विक्रम चिया खाएर पत्रिका पढ्दै थिए । एक्कसी डोर्बेल बज्यो । ढोका खोले । बाहिर तिनै हिजैका व्यक्ति उभिएका देखेर छ्क्क परे । उनको पहिरन धनी व्यक्तिको जस्तो थियो ।
विनिता पनि ती व्यक्तिलाई देखेर तीनछक्क परिन् । लाजले शिर निहुराउँदै बृद्धले भने, ‘तपाईंहरुको मप्रतिको धारणा ठिक हो । त्यो मैले गरेको एउटा नाटक थियो । तर, मैले गरेको नाटकमा म सफल भएँ । किनकी, मैले तपाईंहरुजस्तो इमानदार मानिसको खोजी गरेको एक बर्ष भयो । त्यो किनभने म यो शहरको एउटा प्रतिष्ठित उद्यमी हुँ । मेरो विगत सडक बालक नै हो । नियतिको खेल भनुँ या मेरो भाग्य एकजना विदेशीले मलाई सडकबाट उठाएर आज यो अवस्थासम्म पुर्याए । मेरा कुनै परिवार या आफन्त कोही छैनन् । म को हुँ मलाई नै थाहा छैन । जुन दिनदेखि जान्ने भएँ, ती विदेशी नै मेरा आफन्त हुन् । तर अब उनी यो संसारमा छैनन् । अब मेरो पनि बृद्ध उमेर भो । कति दिन बाँच्छु होला ? त्यही भएर मेरो जे जति सम्पति छ, त्यो सबै समाज सेवामा लगाउने विचार भएर यसको सहि संचालन गरिदिने व्यक्तिको खोजीमा थिएँ । बल्ल हिजो मैले खोजेको मान्छे भेटेँ । अब म ढुक्क छु । मेरो इच्छा पूरा हुने भो ।’
बृद्धका कुराले विक्रम भावुक भए । उनको आँखामा आँसु अडिन सकेन । बृद्धले भने, ‘विक्रम बाबु ! दया गरेर मेरो यो भारी बोकिदिनुस् र म बोझबाट हल्का हुनेछु । आजै अदालत गएर कानुनी प्रक्रिया पूरा गरिदिन्छु।’
विक्रम र विनिता तीन छक्क परे । पर्दा विस्तारै बन्द भयो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



