कति हाँस्नु ? राम्री भन्छ मलाई बुढेसकालमा पनि !

मुक्तक

नानु राना थापा


मुहार पुस्तिकामा आउँछन् हेल्लो हाई भनी
साथी बनायो नजिक आउँछ साखिल्ले बनी
कहाँबाट कसलाई भेटाउँछ फेसबुकको कमाल
कति हाँस्नु ? राम्री भन्छ मलाई बुढेसकालमा पनि !


उमेरले सानो मान्छे, भन्छु भन्दा भाई
मन पराउँछु रे भाई नभन्नू भन्छ नाई
तिमी पाए घरकीलाई छाड्छु लव यु पो भन्छ
माया हैन यो वासना हो भन्दा के के भन्छ बाई !


मन पराउँछु सार्है राम्री रै’छौ भन्छ बारम्बार
मुखले राम राम कोखामा लुकाउँछन् तरवार
सोचे जस्तो हुँदैन वास्तविकता यत्ति कुरा बुझौं
घरकीलाई छाड्नेले अर्की छाड्न के को आईतवार ?


पानी, बैंस र समयलाई कसले पो थुन्छ ?
कसैले राम्री भन्दैमा मख्ख नपरे पनि हुन्छ
वरपर धेरै हुन्छन् कपटी र छद्मवेशीहरू
फसाउँनलाई नै नानाभाती जालहरू बुन्छ


यस्ता चिल्ला चिप्ला कुरामा कोही फस्नु हुँदैन
ऐनामा हेर्नुपर्छ आफ्नो मुहार भ्रममा बस्नु हुँदैन
घर जलाएर खरानीको व्यापार कहाँ हुन्छ र हजुर ?
आफ्नो धरातल भूलेर पतन भई तल खस्नु हुँदैन !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button