राती बाह्र बजेसम्म कुरा गर्नेले नै जिन्दगीमा बाह्र बजाइदिन्छन्

कपडा खोलेर माया गर्ने दुनियाँमा दिल खोलेर माया गर्नेहरु हराउने गर्दछन् ।

सुप्रिया खनाल

बिस्तारै बिस्तारै आधुनिकीकरणतिर लम्किएको संसार अनि यही आधुनिकिरणसँगै आधुनिक भएका मान्छे । यहाँ अब हरेक कुरा आधुनिक । अरु त कुरा छोडम्, अब त प्रेम पनि आधुनिक । रगतले लेखिएको प्रेमपत्र, मनसँग सच्चा मन जोडिएका कहानीहरु बस् कहानीमा मात्र सीमित रहे ।

अहिले त मेसेन्जरमा बलेको हरियो बत्तीको भरमा नै प्रेम हुने गर्दछ । कसैको अनुहार राम्रो लागेकै भरमा प्रेम गरिन्छ । उसको व्यवहार कस्तो छ, बुझ्न जरुरी मानिँदैन । हरियो बत्तीको भरमा प्रेम गर्नेहरू सबैले धोका खान्छन् या दिन्छन् भन्दिन तर हरेक मानिस विश्वासका पात्र पनि हुँदैनन् । आज इम्प्रेस पार्न हरेक थरी गर्न पछि नपर्नेहरुले नै भोलि डिप्रेसनमा पुर्याएर टाढा भइदिन्छन् । जोसँग राती १२ बजेसम्म कुरा हुन्छ, एकदिन उसैले नै जिन्दगीको १२ बजाएर गैदिन्छन् ।

कपडा खोलेर माया गर्ने दुनियाँमा दिल खोलेर माया गर्नेहरु हराउने गर्दछन् । आजकालका प्रेमहरु लाग्छ, बन्द कोठाभित्र फक्रिन थालेका छन् । हिजो हजारौं खुबिया देखाएर नजिक हुनेहरू आज करोडौं खोट देखाएर टाढिने गर्दछन् । कसैले त मिलन बिछोड यस्तै हो भनी चित्त बुझाउँछन् तर कोही बिछोडमा पागलपनको शिकार हुने गर्दछन् । हिजो थोरै औंला काट्दा रगत देख्न नसकेर आमाले आफ्नै फरिया च्यातेर औला बाँधिदिएका सन्तानले आज हात काटीकाटी रगतले प्रेमपत्र लेखिरहँदा आमाको याद समेत गर्दैनन् । त्यसैले त भनिन्छ नि, प्रेम अन्धो हुन्छ ।

आफूलाई ९ महिना गर्भमा राखी जन्म दिएर हुर्काइबढाइ गरेका आमाबाबु भन्दा ९ महिना अगाडि भेटेको मान्छेको महत्व र माया बढी हुन्छ । भिजेको दाउरा जस्तै हुन्छ प्रेम । न जल्न सक्छ न निभ्न नै । बस् धुवाँ बनेर सकिदै जान्छ । समाजअगाडि राखेर सात फेरा लिँदै सिउँदोमा सिन्दुर भरेकाहरु त टाढा हुन्छन् भने हरियो बत्तीको आडमा गरिएको प्रेम टाढा हुँदैमा दुखी हुनु पर्ने जरुरी छैन ।

सधैं साथमा हुनेहरु भोलिका दिनहरुमा हाम्रो सामु नहुन पनि सक्छन्त्य । सैले सम्बन्धको दायरा त्यहाँसम्म मात्र राख्नुस्, जहाँ भावनाहरु बद्लिए पनि, सपनाहरु टुटे अनि मनहरु विचलित भए पनि आफूले आफूलाई सम्हाल्न सकियोस् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button