
कतै झुप्रामा प्रेम फुलिरहेछ, कतै महलमा घृणा डुलिरहेछ
सुखानुभूति
दीन पन्थी
सुखको खोजीमा हुन्छन् सबै । भोगी, जोगी, रागी, बैरागी सबै सधै डुल्छन् आनन्दको खोजीमा । आनन्दकै खोजीमा नागा बाबा डुल्छन् । आनन्दकै खोजीमा राजा–महाराजा डुल्छन् । आनन्दकै खोजीमा बने वेदहरु, शास्त्रहरु, पुराणहरु, कुरानहरु, बाइबलहरु । आनन्दकै खातिर बने- धर्म, स्वर्ग र वैकुण्ठहरु । आनन्दकै खोजीमा भेटिए ज्ञानविज्ञान र कलाकौशलहरु ।
सुख के हो ? वस्तु हो कि मन ? बुझ्नै सकिन्न यो । संसार विचित्र छ । सुखकै खोजमा एउटा रागी हुन्छ, अर्को बैरागी हुन्छ, एउटाले पाउडर घस्छ, अर्कोले खरानी घस्छ । सुखकै खोजीमा एउटा शहर पस्छ, एउटा वन पस्छ । सुख वनमा छ कि शहरमा ? परिभाषा नै गन्जागोल छ सुखको । सुखबाट सुख प्राप्त हुँदैन । गर्मीमा घाम ताप्दा सुख हुँदैन । जाडोमा सिर्सिरे बतास सुखदायी हुँदैन । अघाएको पेटमा भोजन सुखकर हुँदैन । आरामपछिको आराम सुखदायी हुँदैन । दुःख हुनाले नै सुख छ । लाग्छ सुख दुःखकै अर्को पाटो हो । जसले दुःखसँग साक्षात्कार गर्छ, त्यसैले सुखसँग साक्षात्कार गर्छ ।
सुखपछि दुःख छ, दुःखपछि सुख छ । दुःखका मूलमा सुख छन्, सुखका मूलमा दुःख छन् । हरेक रात प्रभातको संकेत हुन्छ । हरेक दिन रातको आगमनको संकेत हुन्छ । दुःखमिश्रित सुख छन्, सुखमिश्रित दुःख छन् । जसले कष्ट भोग्छ, उसैले सुख भोग्छ । गुलाबमा काँढा हुन्छन् । तितो खाएपछि गुलियो झन् स्वादिलो हुन्छ । जसले त्याग र संयमको साधना गर्छ, त्यसैले भोगको आनन्द भोग्छ ।
उपनिषद् भन्छ– … तेन त्यक्तेन भुञ्जीथा’ अर्थात् त्यागपूर्वक भोग गर । अति भोग दुःखकर छ । समयको अन्तराल जति बढ्छ, भोगको स्वाद त्यति नै सुखकर रहन्छ । जसले भोकको अनुभव गर्छ, त्यसैले भोजनको आनन्द लिन्छ । जसले प्यासको अनुभव गर्छ, त्यसैले पेयको आनन्द लिन्छ । जसले थकाइको अनुभव गर्छ, त्यसैले विश्रामको आनन्द भोग्छ । भोकविनाको भोजन, प्यास विनाको पेय र थकाइविनाको विश्राम किमार्थ सुखकर हुँदैनन् । हाम्रा बानी विचित्र छन्–बसिरहे हिड्न मन लाग्छ, हिडिरहे बस्न मन लाग्छ । अभावपछिको भावमा आनन्द छ । वर्षामा पानी पर्दा छाता ओढेर हिड्छौं, बाथरुममा छँदा टाउको धारामा थाप्छौं । नखोजेका सुखहरुभन्दा रोजेका दुःखहरु आनन्ददायी हुन्छन् । आनन्द स्वतन्त्रतामा छ । सुनको साब्लामा जेलिएर सुख खोज्नेहरु दुःख भोगिरहेछन् । चाँदीको पिञ्जडामा थुनिएर आनन्द खोज्नेहरु पिञ्जडाबाट उम्किन खोजिरहेछन् । हामीले सुखी देखेका धेरै मान्छे दुःखी छन् । हामीले दुःखी देखेका धेरै मान्छे सुखी छन् । अर्काले जोखेर दिएको सुख भार भएको छ धेरैलाई । सुख मनमोजमा छ ।
संसार विचित्र छ । कोही खरानी घसेर मस्त छ, कोही अत्तर दलेर अस्तव्यस्त छ । एउटा बाबुलाई थुनेर राजगद्दीमा बस्छ, अर्को स्वतः प्राप्त राजगद्दीलाई लत्याएर भिक्षु बन्छ । सुखको अनुभव मनले गर्छ कि तनले ? यसको उत्तर खोज्न भौंतारिइरहेछन् दार्शनिकहरु । मान्छेले कान छेंड्छ, नाक छेंड्छ, जिभ्रो छेंड्छ किन ? किन सगरमाथा चढ्छन् मान्छेहरु ? कुनै सुरा र सुन्दरीमा दिव्य आनन्द देख्छन् । कुनै त्याग आदर्श र बलिदानमा आनन्द देख्छन् । कसैले आस्था र निष्ठाको लागि ज्यान दिन्छन्, कसैले स्वार्थका लागि भ्रष्टाचार गरेर देश डुबाउँछन्; जनता रुवाउँछन् । देवकोटा भन्छन्– …खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ । के देवकोटा भ्रममा छन् ? के लिंदा मात्र सुख हुन्छ, दिंदा हुँदैन ?
कतै झुप्रामा प्रेम फुलिरहेछ, कतै महलमा घृणा डुलिरहेछ । एउटा माटाका थुप्रामाथि उभिएर हाँसिरहेछ, अर्को सुनका रासमाथि उभिएर रोइरहेछ । कसले बाँड्छ सुख–दुःखहरु कुनामा लुकेर ? के प्रकृतिले सुख बाँड्दैन ? के चन्द्रमाले आनन्द बाँड्दैन ? के जुरेली र कोइलीको कण्ठले आनन्द बर्साउँदैन ? के बैंस र वसन्तले आनन्द बाँड्दैन ? गर्मीमा उकालो चढ्दा नेटाको चौपारीमा शीतल वायुले के आनन्द प्रदान गर्दैन ? उकालो नै नचढ्नेले त्यस्तो आनन्द भोग्छ ? संसारमा सुख छरिएका छन्, जसले टिप्छ, त्यसैले भोग्छ । क्षण–क्षण भोग्नुपर्छ आनन्द ।
विचित्र छ संसार । कोही धनी छन् तिनका सन्तान छैनन् । कोही गरीब छन्, तिनका धेरै सन्तान छन् । कसैसँग ढुंगा पचाउने पाचनशक्ति छ तर तिनीसँग प्रशस्त भोजन छैन । एउटा भोकले तड्पिरहेछ, अर्को भोजन निल्न नसकेर छट्पटाइरहेछ । एउटा निद्रा नलागेर अस्पटाइरहेछ आरामदायी बिछौनामा, अर्को भुईंमै मस्त निदाइरहेछ । भोक नलागेर सन्ताप छ कसैलाई भोजन नमिलेर सन्ताप छ कसैलाई । एउटासँग भोक छ अर्कोसँग भोजन छ । एउटासँग प्यास छ, अर्कोसँग पेय छ । एउटासँग बिछौना छ, अर्कोसँग निद्रा छ । रछ्यानमा मिल्किएका छन् मणिहरु । शिरमा चढेका छन् काँचहरु । कस्तो नमिलेको संसार हो यो ! ढंगमरु कालिगढले गढेजस्तो । जीवनको उकालीमा चढ्दै गर्दा बैंस भेटिए, वासना भेटिए सुख भेटिए । जीवनको ओरालीमा झर्दै गर्दा ती सबै पोखिए खल्तीबाट । त्यहाँ वैराग्य भेटिए’, निराशा भेटिए, हताशा र मुमुर्षा भेटिए, मरुभूमिमा मरुद्यान झैं त्यहाँ पनि भेटिने छन् केही आशाहरु सुखका झिल्काहरु तडित् झैं । आँसुमा पनि चम्किन्छन् हर्ष हर्षाश्रु बनेर । झरीमा चम्किन्छन् बिजुली । हाँस्दाहाँस्दै पनि झर्छन् आँसु। जीवन क्षणक्षण चल्छ । क्षणक्षण हुन्छन् अनुभूति हर्षका, शोकका, सुखका, दुःखका ।
सुख त अनुभूति हो मनबाट उठेको । धनले किन्न पाइने बजारिया वस्तु होइन यो । दुःखमा रुँदा पनि मन हलुंगो हुन्छ । वेदनाहरु बग्छन् आँसुमा । सुखमा हाँस्दा मन प्रसन्न हुन्छ । तर जीवन विचित्र छ । हाँस्दा–हाँस्दै रुनुपर्छ । रुँदारुँदै हाँस्नुपर्छ । जीवनका प्रत्येक क्षणहरु अमूल्य छन् । जीवन रहेसम्म रहन्छन् सुख–दुःखहरु । जीवनान्तपछि न सुख छन् न दुःख छन् । यही शरीर यिनै इन्द्रिय र यही मन हुन् भोक्ता सुख दुःखका । देहान्तपछि आत्मालाई नित्य सुख छ, चिदानन्द छ । कमाएका वैभव यहीं रहलान्, छोरानातिले भोग्लान् । हाम्रा सन्ताप र मृगतृष्णाहरु हामीसितै मर्लान् । सुख र हर्षका उन्मादहरु पानीका फोका झैं बिलाउलान् । हामीले भोगेका दुःखहरुका बन्लान् मर्मस्पर्शी र चिरस्थायी कथाहरु । (पन्थीकृत हुटिट्याउँको मनबाट)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




लामो समयपछि ‘अनुभूति र ज्ञानका महासार’ मेरा अादरणीय गुरु दीन पन्थी दर्शनलाई नाम्चामार्फत रसस्वादन गर्न पाएँ । कति अचम्मको हुन्छ यो दर्शन भन्ने कुरा पनि ! जहाँ दुःखहरू पढ्न पाउँदा पनि सुखानुभूति भएको छ !