
डर लाग्छ
सुषमा आचार्य (अंशु)
ललितपुर, हाल भक्तपुर ।
निस्तब्ध रातको अँध्यारोमा होइन
दिनको उज्यालोदेखि
डर लाग्न थालेको छ
आगोको झिल्कोले पोल्छ भनेर होइन
शीतको थोपाले डडेलो लगाउँछ कि
भन्ने डरले सताउन थालेको छ ।
ग्रहणले जुनलाई छेक्छ भनेर होइन
हराउने समय चलेको छ घडीमा
अनगिन्ती ताराका हुलमा
तिमी लुप्त भयौं भने
मैले खोज्न नजानेर भेट्न नसहुँला
भनेर डर लाग्छ ।
मनको आवेगको आँधीबेहेरीले
सिमलको भुवा जसरी
सम्बन्धलाई उडाउँछ भनेर होइन
विश्वासको लिलामी होला
भनेर डर लाग्छ ।
बर्खाको बाढीले बगाउँला
भनेर होइन
धोकाको पहिरोले थिच्छ
भनेर डर लाग्छ ।
सिन्दुर पुछिएर सिउदो खाली
हुन्छ भनेर होइन
सन्तान अनाथ होलान्
भन्ने डर लाग्छ
रित्तो जिन्दगीको कल्पनाले होइन
सुक्ष्म अणुजीवले निम्त्याउने
विशाल क्षति सम्झेर डर लाग्छ ।
खालीपनदेखि हैन
बिना अर्थको पुर्णतासँग
डर लाग्न थालेको छ ।
न्यायोचित तिता शब्दले
चोट पुर्याउदैन
कुदृष्टिको भावका साथ
मिठासका फुल बाटोभरी
बिछयाउनेदेखि डर लाग्छ ।
कपट र जालसाझीको
छायाँ पर्न दिन्न
शत्रु टाढैबाट चिन्न थालेको छु
डर त लाग्छ आजकल
आफ्नोपनको मुखुण्डो लगाएर
आत्मियता देखाउनेदेखि
डर त लाग्छ आजकल
हार्दिकताको पाउडर लगाएर
स्वार्थलाई छोपी
स्नेहीभाव देखाउनेदेखि ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



