
बाँकी थिए अझै सिक्न कुरा धेरै यसै रह्यो
आज मेरा प्रात:स्मरणीय कीर्तिशेष पिताजी प्रा.डा.विष्णुराज आत्रेय 'लाटोसाथी'को प्रथम वार्षिक पुण्यतिथिको अवसरमा उहाँलाई शब्दरूपी माला अर्पण गर्दै कविताको माध्यमबाट काव्यात्मक शब्दांजली अर्पण गर्न चाहन्छु ।
कुरा धेरै यसै रह्यो (अनुष्टुप छन्द)
प्रीति आत्रेय ज्ञवाली
फलितज्योतिषाचार्य, राशि स्तम्भकार
जुनैबेला कहाँ भाव फुरी राख्छ र हर्दम ।
जुनैबेला कुरा हाम्रा सोचेझैँ हुन्न हर्दम ॥१॥
कविता कविले लेख्छ कविताले नलेखिने ।
लेख्दैमा कविता भए जो पनि कवि नै हुने ॥२॥
बुझेको कविले मात्र के पो हो कविता भनी ।
बुझकी हुन्न आफैँ यो बुझाए बल्ल बुझ्छ नि ॥३॥
सन्तान कतिको बाठो छ लाटो कतिको भनी ।
बुझ्ने मातापिता हुन्छन् बुझाउँछन् उसैगरी ॥४॥
लेखाइ कतिको राम्रो लेखले प्रष्ट पो हुने ।
सोचाइ कतिको राम्रो भावले प्रष्ट खोल्दिने ॥५॥
जस्तै सन्तान आफ्नोले आफू खुशी गराउने ।
त्यस्तै कलमले आफ्नो आफूलाई चिनाउने ॥६॥
खुशी हुने भए चाह सन्ततिबाट उत्तम ।
बाटो राम्रो चिनाउनू पर्ने है बुझ सज्जन ॥७॥
खुशी हुने भए चाह लेखनीबाट हर्दम ।
साधना गर्नु नै पर्छ काव्यादिको पढीकन ॥८॥
यी र यस्तै कुरा गर्दै बाबुछोरी सधैँभरी ।
पाठका काव्यका बारे बोलीराख्थ्यौँ यसैगरी ॥९॥
कहिले टिप्पणी गर्दै लेखेका कविताभरी ।
कहिले टिप्पणी त्यस्तै सन्तान सुखका भनी ॥१०॥
कहिले लेखका बारे कहिले घरबार ती ।
कहिले देशका बारे कहिले त परिस्थिति ॥११॥
यस्तै गरी कुरा गर्दै बोल्थ्यौँ हामी खुशी भई ।
यो खुशी टिक्न पाएन दैव लाग्यो कठैबरी ॥१२॥
कर्मयोगी बुवा हाम्रा हितैषी सब खातिर ।
फूर्तिलो ज्यान थ्यो साह्रै हिँडी पुग्ने सबैतिर ॥१३॥
श्रुति-स्मृति सबै टाठा रोगदेखि परै रही ।
डटेरै कर्म नै गर्ने हर काल परिस्थिति ॥१४॥
सबै जना चिरायु हुन् भनी आसिक् दिने सधैँ ।
कर्तव्यपथमा लाग्ने प्रेरणा नै दिने सधैँ ॥१५॥
स्वर्गमै चाहियो कि खै यस्ता ज्ञानी गुनी सुधी ।
अन्यथा किन नै लान्थे पूर्णायु नभई अनि ॥१६॥
छहारी ज्ञानको मेरो उडाएर लगी गयो
बाँकी थिए अझै सिक्न कुरा धेरै यसै रह्यो ॥१७॥
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



