राजनीतिकाे तूफानी आठ वर्षपछि दिल्ली लाहुरिँदै !

अरविन्द रिमाल

२०१५ सालकाे आमचुनावकाे परिणामी धक्का जबर्जस्त लाग्याे, उसलाई ! तर आशावादी चरित्र, संस्कार एवम् व्यवहारले उसलाई धरमराउन दिएन । अब राजाकाे मनमानी शासनकाे क्रमिक अन्त्य हुँदै कम्युनिष्ट सहभागितासहितकाे सम्वैधानिक, हाे सम्वैधानिक नै हाे, राजतन्त्रात्मक बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाले गति तथा स्थायित्व लिने कुरामा उ ढुक्क थियाे । सिँहावलाेकन त हुँदै गर्ला, आखिर जीवन यत्तिकाे हारमै र कसैकाे जीतमा नै टुङ्गिहाल्ने हाेइन, क्यारे ! उसले आफैले आफ्नाे चित्त यसरी, बुझायाे । तर, ऊ रनभुल्लमा चाहिँ परेकै थियाे, यद्यपि भावी जीवनले हठात जुन रूप लियाे, त्याे यसरी हाेला भन्ने कदापि भनकसम्म पनि थिएन, उसलाई । जे भयाे, त्याे अकस्मात नै भयाे, चिताउँदै नचिताएकाे भयाे ।

यी सबै कुरा सम्झेर, उसले पूरै ‘अवलाेकन’ वृतान्त लेख्ने, त्याे पनि बेलायत देशमा, अझ ४७ वर्ष आउन, बाँकी नै थियाे !

एकदिन साँझ ! सधैँकाे दाैडादाैडकाे दिनचर्यामा मनलाई शान्त गराउने शान्तता छाएकाे घर आएकाे दिन थियाे, त्याे ! अथक मधु, उसकी जीवनसँगिनी मधु, ऊ उहिल्यै कलकत्ता पढ्न जाँदा आफ्ना चिठीमा प्याराे सम्बाेधन गर्नेगरिने मधु क्लान्त अवस्थामा बिछ्याैनामा पल्टेकी थिइन् । ओहाे, पत्याउनै गाह्राे । ऊ पनि साथमा बस्याे । यसरी बसेर जीवनका कुराकानी गर्ने बानी उसले त बिर्सिकेकाे रहेछ ! उसले सम्झ्याे, आफ्ना बाबुआमा, पत्नी, सासुससुराआदिबाट राजनीतिक जीवनमा पाउनुसम्म माया एवम् समर्थन पाएकाे ! तर के आफू आफ्ना मायालुहरुप्रति आफ्नाे जिम्मेवारीबाट चुकिएकाे त छैन ? याे भावले उसलाई साह्रै गाह्राे पार्‍याे ! ऊ कतै स्वार्थजीवी त भएकाे छैन ? पत्नी र चारचारजना सन्तानसहित ऊ एक्लाे बाबुकाे आयस्तामा निष्फिक्री भइरहेकाे त छैन ? अनि ४ जना दाजुभाइका सन्तानकाे बाेझ एक्लाे बाबुमाथि थपिँदा गतिलै मध्यम वर्गीय परिवार भए पनि, कसरी थेगिरहिएकाे हाेला भन्ने साेचसम्म उठ्दैन ?

यसरी घाेरिइरहेकाे देख्दा, सधैँ उसकाे मनकाे व्यथा बुझ्ने मधुले, एक्कासी, केही दिन विश्राम लिन सुझाइन् । सुझाउन त सुझाइन्, तर कहाँ ? अनि उनैले विराटनगर उनकाे बैनीज्वाइँकाे घर गए कसाे हाेला भनिन् । सुन्दा पनि अनाैठाेलाग्दाे सुझाव- त्यतिबेलाकाे भूगाेल सम्झेर उसलाई उदेक लाग्यो । तर उसकाे लागि भावी नाैलाे जीवनकाे बाटाे त विराटनगरबाट नै तय भएकाे रहेछ ! विधिकाे लीलाकाे जानाेस् !

विराटनगर ! याे शहरले उसलाई सम्झना गरायाे, २०१० सालकाे जेठ महीनाकाे समय । मातृकाप्रसाद काेइरालाकाे पार्टीका एकलाैटी सरकार चलेकाे बेला ! गाेरखापत्र तथा रेडियाे नेपालमा प्रधानमन्त्रीकाे नाम आउँदा जर्नेलकाे फाैजी मानसहितकाे सम्बाेधन अनिवार्य भएकाे बेला !

त्यहीताका, विराटनगरमा विद्यार्थी संघर्षसित ऐक्यबद्धता जनाउन र दमनविरुद्ध आवाज उठाउन काठमाडाैँमा अखिल- नेपाल विद्यार्थी फेडरेशन, नेपाल छात्र संघ, सँस्कृत छात्र संघ तथा नेपाल स्टुडेन्ट यूनियनकाे सम्युक्त संघर्ष समिति बनेकाे थियाे । त्यस समितिकाे प्रतिनिधित्व गर्दै वासु रिसाल र ऊ विराटनगर जाने निर्णय भयाे । तर जाने कसरी ? खर्चवर्च कसरी व्यवस्था हुने ? कहीँ कुनै उपाय नभएपछि वासुलाई लिएर ऊ, छक्कलाग्दाेसँग, विश्वेश्वरप्रसाद काेइरालाकहाँ पुग्याे । अनि उनीलाई आफ्नाे समस्या बताँउदा उनकाे सदाशयताबाट हामी दुईजनाकाे हवाइजहाजकाे टिकट किन्न ९० रुपियाँ , हाे, नब्बे नै हाे, चन्दा पाएकाे पनि सम्झ्याे । हवाईजहाजद्वारा उडेकाे तर माैसम बिग्रेकाेले ओर्लिनसकी खिन्न हुँदै फर्केकाे । अनि सम्झ्याे, रकम फिर्ता गर्न वासुसँगै जाँदा, विप्रकाे छक्कपरेकाे हँसिलाे अनुहार । याे विप्रसँगउसकाे दाेस्राे र आखिरी भेटघाट थियाे । पहिलाे,अलि विकट एवम् वियाेगान्त कालखण्डमा २००८ सालमा उनी शक्तिशाली गृहमन्त्री हुँदा, सिँह दरबारभित्रकाे चाैरमा फुटबल काण्डपछि भएकाे थियाे ।

न्यू राेड टीम तथा डिल्लीबजारकाे नेपाल कल्चरल एशाेसिएशन टीमबीच राेमाञ्चक खेलमा अम्पाएरकाे झेली फैसलामा सरकारकाे समर्थनले गर्दा विराेध उठ्याे । त्यसबाट संघर्ष बढेर विप्र काेइरालाकाे एक समयका सम्मानक अध्यक्ष, टङ्कप्रसाद आचार्य सुरक्षा कानूनअन्तर्गत समातिए । विद्यार्थी आन्दाेलन चर्कियाे।सरकारी दमनका कारण चिनियाँ काजी शहीद भए । अनाैठाे कुरा, भारतीय सत्ताका लागि अप्रियभएका विप्रलाई सत्ताच्यूत गरी राजा त्रिभुवन- राणा- कांग्रेसकाे त्रिपक्षीय सरकार विघटन गर्ने परिस्थिति ल्याइयाे।यसप्रकार भारत सरकारकाे लागि बढी सहज ढङ्गले आफ्नाे चाैतर्फी हस्तक्षेपकारी नीति व्यवहारमा लागू गर्न बढी सहज हुने सरकार बन्न पुग्याे। फलत: विप्र काेइराला आठ वर्ष सरकारबाट बाहिरिन पुगे ।

यी कुरा सम्झेर ऊ आफै ङिच्च हाँस्याे । जेहाेस्, विराटनगरले उसकाे भित्री कुनै सुषुप्त तारलाई अचम्मसित झँकृत गरिदिएकाे थियाे ।

यत्तिकैका तरङ्गमा बेचैनीका केही दिन बिते । ऊ घरमा यसरी शान्त भई बसेकाेमा परिवारका जेठाबाठा- सानाहरु सबै बडाे अचम्म परे । मधुले उसकाे व्यथा बुझेर, त्यसमा पनि ऊ फेरि कतै राजनीतिक भूमरीमा पर्ला भन्ने आशङ्का लागेर उसलाई विराटनगर गई हाल्न जाेड गरिन् ।

जानेदिनकाे अघिल्लाे बिहान। सधैँझैँ उ बुबाआमाका पाउमा दर्शन गर्न जाँदा उसले आफू केही दिन बिराटनगर जाने कुरा बुबालाई सुनायाे। आफ्नाे व्यस्त राजनीतिक दिनमा पनि आमाकाे प्रमुख निजी सचिवकाे जिम्मेदारीमा अचूक रहेकाे छाेराेकाे यस हठात निर्णयबाट ममतामयी आमा त झसङ्गै भइन् । आफ्नाे राजनीतिक धारणाबाट तीनतीन पटक चाेट पार्ने छाेराप्रति सदैव करुणाशील पितालाई याे बाहिरी शान्त देखिएकाे छाेराकाे भित्री आँधीबेहरी बुझ्न गाह्राे नपरेकाे उसले बुझ्याे। तर उसले सबभन्दा बढी बुझेकाे कुराचाँहि मधुकाे मनमा छाएकाे नयाँ परिवर्तनप्रति विश्वास ।

अनि त ऊ लाग्याे, बाईराेडकाे बाटाे, ‘सवारी मेराे रेलैमा’ गर्न ।

आमाका आशुबीच,बुबाका आशीर्वादसहित सगुनरूपी बाटाे खर्च, केटाकेटीकाे टाेलाएकाे अनुहार, ससुरालीकाे अचम्मित प्रतिक्रियालाई तर सासुमालाई याे ज्वाइँले परिवारकाे लागि क्यै गर्न आटेकाे भावलाई बुझेर र मधुकाे असीम प्रेमभावलाई सङ्गालेर ऊ हिँड्याे ।

बीरगञ्जसम्म त ट्रकमै बसेर जानुपरेकाेले उसका आफ्ना विचार पनि जाेल्टिङ्गमै परेका थिए । रेलकाे लामाे यात्राकाे आफ्नै एकान्तमा उसले सिँहावलाेकन गर्‍याे ।

पार्टीको केन्द्रीय अफिस प्याफलमा ‘नवयुग’ माे काेठामा उसले राजीनामापत्र लेख्याे, खाममा बन्द गरी महासचिव डा. केशरजंग रायमाझीकाे सामाखुसिघरमा गई पत्र बुझायाे । साथै पार्टीको केन्द्रीय समिति तथा ‘नवयुग’ काे सह-सम्पादककाे ‘राजपाट’ बुझायाे । पत्र पढेपछिकाे उनकाे स्तब्ध एवम् स्तम्भित चेहरा ! त्यसलाई हुबहु आफूसामु रेलगाडीमा देखेकाे जस्ताे भयाे ।

जेहाेस्, पार्टीका सहयाेगी- दाैँतरीहरुकाे अनुमानित चेहरा तथा टीकाटिप्पणी साेच्दै, रेलयात्राकाे आफ्नै रमाइलाे अनुभव गर्दै अनि रातकाे पूरै विश्रामपछि ऊ त जाेगबनी पुगिसकेछ ।

बयान सुनेकाे राणशासनविराेधी संघर्षशील मिलएरिया, क्रान्ति प्रचारक प्रजातन्त्र रेडियाे, रानाेदेवीका क्रान्तिकारी गीत सम्झिँदै ऊ आफ्नाे गन्तव्यस्थल, प्रख्यात रङ्गेली राेडस्थित कवि माधवप्रसाद खनालकाे घर खाेज्दै पुग्याे । हठात्काे भेटमा सबै अचम्म मान्दै, सुखद आश्चर्यमा परे !

भाेलिपल्ट, झन प्रख्यात काेइराला निवासकाे स्वाभाविक खुशीयालीमा डुबेकाे थियाे । यस दृश्यमा बिहारका समाजवादी भाइहरुकाे रमझम, जलजला सिनेमाघरबाहिर कुनामा र सडक वरिपरि तिनका पानका रङ्गीन थुकहरुले बनेका कलाकृतिहरुकाे नजारा पनि विशेष उल्लेखनीय थियाे ।

विराटनगरमा पार्टीका अग्रज मित्र केदारप्रसाद उपाध्याय तथा सहकर्मी, कलेजका सहपाठी राधाप्रसाद घिमिरे, राजकुमार पाेखरेल, शिवप्रसाद रिजाल आदिसगँकाे रमाइलाे भेटघाटपछि ऊ राधाप्रसादसँग‌ दिल्ली लाग्याे, बाैद्धिक लाहुरे जागिरकाे बीउ छर्न — साेभियत दूतावासकाे सूचना विभागले ‘साेभियतभूमि’ नेपाली पत्रिका छाप्ने भन्ने सुनेकाे ठाउँ, २५ बारखम्बा राेडमा।

झण्डै १० वर्ष उसकाे प्याराे कार्यथलाेमा जागिरकाे बीउ टुसाउन भने झण्डै चार महीना लाग्याे, जसकाे सूचना, अचम्ममा पनि अचम्म पनि पार्नेगरी उसकाे सासुमाकाे स्वप्नद्वारा प्राप्त भएकाे !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button