
मनकुमार भोकले मरेको रे
लघुकथा: धर्म
सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
धनमती साउने गहना र चुरापोतेले झपक्कै सिँगारिएकी छिन् र पूजासामग्रीले भरिएको थाली बोकेकी छन् । उनकी सासुआमा मनमतीले झोलाभरी फलफूल बोकेर मन्दिर जाँदैछन् । बाटोको दायाँबायाँ तीनचारजना युवाहरु मलाई, मलाई भन्दै कराइरहेका छन् । तर ती दुबैलाई ती आवाजहरुप्रति कुनै चासो भएन मन्दिरभित्र पसेर पूजा गर्ने हतारमा छन् ।
घर पुगेपछि धनमतिले सासुलाई भनिन्, ‘मलाई त पल्लो घरकी मनमायाले लगाएको नौगेडी र चुरा त कस्तो मन परेको वाइ ।’ मनमतिले बुहारीका शीरदेखि पैतालासम्म हेर्दै भनिन्, ‘अब तेरा बुढाले रगत र पसिना साटेका पैसाले यतिका गरगहना किनेकी छस् कोनि त ।’
बुहारी भने तल्लो घरको कान्छासित खस्याक खुसुक गर्दैथिन् । मन परेको कुरा ल्याइहलिन् । अब फेरी साउने सोमबारको पर्खाइमा मख्ख छिन् धनमति ।
घरमा दुई जना प्रहरी आए र भने, ‘मनकुमारको घर यही हो ?’
‘हो, किन र बाबु ?’, मनमतिले अलि अत्तालिदै बोलिन् ।
भित्रबाट धनमति पैसा पठाउनु भएको होला नि त भन्दै कुदेर बाहिर आइन् । प्रहरीले एउटा पत्र र नागरिकताको प्रमाण पत्र दिए । धनमतिले पत्र खोलेर पढिन् । पत्रमा लेखिएको थियो, ‘आदरणीय बुबा, आमा र मेरी प्यारी हामी विदेशबाट आउँदा बाटोमा गाडी पल्टियो र धेरै साथीहरु घाइते भयौँ र खै कस्ले अस्पताल लगेर उपचार गरिदिएछ र बाँचेका छौँ । एउटा गाडीले मन्दिरमा ल्याएर छोडिदियो र यहीँ बसेका छौँ, कसैको हात छैन कसैको गोडा काटिएको छ, मेरो बोली पनि बन्द छ गोडा भाँचिएको छ । हामी धेरै दिनदेखि भोकै छौँ । मैैले हजुरहरुलाई देखेर पनि बोलाउन सकिन, अरु साथीहरुले हजुरहरुलाई चिनेका थिएनन् । मलाई लिन आउनु ल आमा ? ल प्यारी ?’
सासु बुहारी आात्तिँदै मन्दिरतिर गए । तर मनकुमार जिउँदो थिएन । ऊ भोकले मरेको रे भन्ने मनमतिले सुनिन् ।
‘म पापिनी आमा अब बाँच्नुको अर्थ छैन, धिक्कार छ मेरो धर्म’, मनमति भुईंमा लडिन् ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



