
अरे यार ! तिनले समय नै चिन्दैनन्
कविताः ती …
प्रतिमा पन्थी
ती, जो बोलेका छन्
बहेका छन् पिडा
रोएका छन्
तिनका आवाज शुन्य छन् !
ती, जो सुनिन सक्छन्
सहेका छन्
चाट्दैछन् पित्तृसत्ताको नुन
चर्किएका छन्
भित्रभित्रै ।
ती बुझेका छन्
तर दकसको बुजो ठेलेका छन्
ती नापी नापी बोल्छन्
सहन्छन् …
मौन रहन्छन्
बोक्रो आदर्शका मुखौटा प्रदर्शन गर्छन् !
ती जानिजानी
बुझी बुझी
रखवाली गर्छन्
पिता, पति, विरासतको …
ती अरुकसैको वेपर्वाह निहित स्वतन्त्रताको
खिसी गर्छन्
जमात खडा गर्छन्
बिल्ला गर्छन्
स्वतन्त्र हुनुका सिमा खिची खिची
सिद्धान्त बनाउँछन् …
जबकि तिनका पनि अन्तरमनले मानेको छ
नैतिक स्वतन्त्रताको सिमा हुँदैन
स्वतन्त्रता मनको चाह पुरा गर्नु हो
अरुलाई नमारी
आफु रम्नु, झुम्नु हो
जिउनु हो !
थाहा त छ नि हैन ?
ती जान्ने बुझ्ने मध्येका छन्
तिनको सुनुवाई पनि हुन्छ
तिनमा ज्ञान त छ
अभ्यास शुन्य प्रायः
ती त्यो पितृ विरासत भत्किँदा
आफै तितरवितर हुने भयले
सशंकित छन्
ती विभिन्न वाहानाले
पर्दा लाउँछन्
आफ्ना संकुचनहरुमा,
मनका ज्वारभाटा छेक्न
कुटिल मुस्कानको शृङ्गार भिर्छन् !
परिवर्तनको लागि समय लाग्छ !
सधै सुनिन्छ,
ती भन्छन्, परिवर्तनको लागि समय लाग्छ …
अरे यार ! तिनले समय नै चिन्दैनन्
विभेदका पत्र आजै नै चिर्दैनन्
ती भोलिलाई कुरिरन्छन्
ती समय पर्खिरहन्छन्
ती आफ्नै मनलाई
सान्त्वना दिँदैदिँदै भुलाई रहन्छन्
कुँडिन्छन् भित्रभित्रै !
ती ! मा पनि विचरा … वेदना त छ नि
विद्रोह छैन
ती जसमा ज्ञान छ
व्यवहार छैन
ती ! मा वाहाना धेरै छ
डर छ मनमा !
तिनलाई बेस्सरी हल्लाउन मन लाग्छ
तिनका तन्तु तन्तुलाई आफु दमित भएको स्विकार्ने गरी
झस्काउन मन लाग्छ
तिनको सहनशिलताको बाँध फुटोस्
साहसको बाढी आओस् जस्तो लाग्छ
तिनका मनको चाहत
अभ्यासले पनि चाल पाओस् जस्तो लाग्छ !
तिनका मन, वचन, व्यवहार
सबैले निख्खर स्वतन्त्रता चुमोस् जस्तो लाग्छ !!
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



