साइनोः नेपाली साहित्यमा नयाँ विधा

प्रीति आत्रेय ज्ञवाली
फलितज्योतिषाचार्य प्रीति राशिफल स्तम्भकार पनि हुन् ।

साइनो

साइनो शब्दै राम्रो
इ मिल्दा राम्रो सुनिने,
इ छुट्दा सानो पो भैदिने ।

साइनो शब्दसित त हामी सबै परिचित छौँ । नाता, सम्बन्ध बुझाउने यो शब्द हरेक व्यक्तिसँग जोडिएको छ । यो त भयो व्यावहारिक र सम्बन्धात्मक रूपले चिनिने साइनो । नेपाली साहित्यिक विधामा पनि नयाँ सूत्रात्मक विधिमा प्रयोग गरिँदै आएको कविताको लघु विधा ‘साइनो’ हो । अहिले यो विधाको प्रादुर्भाव भएको दुइ वर्ष भयो । हिजोआज धेरैजना व्यक्तित्वहरू साइनो विधामा कलम चलाउँदै हुनुहुन्छ ।

सबै व्यक्तिलाई यस विधाको बारे थाहा नहुनसक्छ । यो के हो र कसरी लेखिन्छ ? भत्रे मनमा जिज्ञासा जागृत हुनसक्छ तसर्थ साइनो लेखनसम्बन्धी यहाँ केही चर्चा परिचर्चा गरिएको छ ।

हाम्रै नेपाली माटोमा नेपाली मौलिक पहिचान झल्किने गरी तीन हरफमा क्रमशः ७/८/९ अक्षर हुने गरी समष्टिगत रूपमा २४ अक्षरमा स्वतन्त्र विचारको एकमुष्ट भाव प्रस्तुत गर्नसक्ने विशेषता भएको स्वतन्त्रतया लेखिने कविताको गद्यात्मक विधा हो । साइनोमा विशेषतया विभित्र बिम्ब, अलंकार प्रयोग गर्दै प्रायः अन्त्यानुप्रास रहने गरी पनि लेखिनेभएको हुँदा साइनोलाई पद्य कविताको गद्यात्मक विधा पनि भनेर चिनिन्छ । साइनोलाई मौलिक लयमा गेयात्मक रूपले गाउने प्रयास गरिएको छ । कवितात्मक रूपमा वाचन गरिँदै आएको साइनोलाई गेयात्मक रूपमा गाउँदा नेपाली मौलिकपना अझ विशेषरूपले झल्किने ठहर गरिएको छ ।

साइनोले थोरै शब्दमा अर्थात २४ अक्षरमा धेरै कुरा बोल्ने हिम्मत राख्छ । प्रेम, व्यंग्य, प्रकृति, शिक्षा, नैतिकता, राजनीति, पीडा, समस्या आदि विभित्र खालका समसामयिक सामाजिक कुराहरूलाई ओजिलो तवरले भनेर मुटु नै छुनेगरी छाप छोड्नसक्ने ल्याकत रहेको छ साइनोसँग । यसरी लेखनको विधाबाट सबैसित जोडिनसक्ने भएको हुँदा नै यो विधाको नाम साइनो राखिन गएको हो ।

नेपाली साहित्यिक संसारमा मौलाउँदै गरेको यस नवीन कवितात्मक विधा साइनोका प्रत्येक हरफका सात÷आठ÷नौ अक्षरहरूमा सात अक्षरले सात बार, आठ अक्षरले आठ दिशा एवं नौ अक्षरले साहित्यलाई रङ्गीन बनाउने नव रङ्ग अर्थात् नव रसको रूपमा सोच्दै यसको ७, ८, ९ शब्दगुच्छाको एकत्रित २४ अक्षरले गायत्री छन्दको शाब्दिक रूप एवं प्रकृतिमा चलायमान समय २४ घण्टाको पनि संकेत गर्दछ । यसै अवधारणालाई आधार मानेर हाम्रो दैनन्दिन जीवनमा सातै वार, आठै दिशामा साहित्यिक रसरङ्गले भरिपूर्ण चौबिसै घण्टा, गायत्री छन्द सरी पवित्र सूत्रका रूपमा समस्त देश एवं विदेशमा छरिएर रहनुभएका नेपाली मनहरूमा साहित्यिक रूपले सम्बन्ध गाँसियोस् भत्रे उद्देश्यले नै साहित्यको नयाँ विधा साइनोको प्रादुर्भाव भएको हो जसमा सग्ला÷पूर्ण अक्षरको गणना गरिन्छ भने हलन्त÷खुट्ट काटेको अक्षरको भने गणना गरिँदैन ।

विविध साइनोकारहरूको सत्प्रयासले साइनोको अक्षरसम्बन्धी परिचय र साइनोको नारा साइनोबाटै दिने प्रयास गरिएको छ । जस्तै-

साइनो परिचय

सातै बार झुल्कन्छ
आठै दिशा झलमल्ल,
नौ रङ्गझैँ प्रिय साइनो ।

उपर्युक्त साइनोले मााथि प्रस्तुत गरेका साइनोका विविध तीन लहरका शब्दगुच्छाको वर्णन गरेको छ । त्यसैगरी साइनोको साइनो चिनाउने आफ्नै साइनो विधाकै नारा पनि रहेको छ । जसले साइनोको मौलिकता झल्काउने प्रयास गरेको छ ।

साइनो नारा

मौलिक पहिचान
साहित्यिक अभियान,
नेपाली सुगन्ध साइनो ।

यही नारा पनि काफी छ, साइनो चित्रको लागि । साइनो नेपालीको मौलिक पहिचान भएको, नेपालमै जन्मेको, नेपाली प्रकृतिको सुवास पैmलाउने साहित्यिक विधा हो । जसले पूर्ण र शुद्ध रूपले नेपालीपन बोकेको छ र साहित्यमा साइनो जोड्ने अभियानको रूपमा लागिपरेको छ भत्रे बुझाउँछ ।

साइनो विधालाई नेपाली साहित्यिक क्षेत्रमा जन्माउने काम छायादत्त न्यौपाने ‘बगर’ ले गर्नुभएको हो । प्रणेता न्यौपानेले सर्वप्रथम २०७६।४।१६ मा प्रथम साइनो —

मान्छे छैन इमानी
न सहरमा छ धन,
न त झोपडीमा पिसानी ।

भनेर मुखपुस्तिका (फेसबुक)मा सम्प्रेषण गरी पहिलोपल्ट नेपाली साहित्यमा पदार्पण गरेकोले साउन सोह्र गतेलाई साइनोको जन्मोत्सवको रूपमा लिने गरेका छौँ । आफ्नो उपनाम बगर राख्नुभएका न्यौपाने आफै पनि विशेषतया बाल साहित्य एवं अरू विधाहरूमा पनि कलम चलाउँदै आइरहनुभएको छ । उहाँले यस साइनो विधाको प्रादुर्भाव गरे लगत्तै केशव ज्ञवाली ‘आगत’, खेमलाल पोखरेल, कृष्ण पौडेल एवं बालकुमार क्षेत्री ‘साइनो’ पनि मिली साइनोलाई अगाडि बढाउन अग्रसर हुनुभयो । साइनोसित मोहित भएर बालकुमार क्षेत्रीज्यूले आफ्नो नामको पछाडि साइनो उपनाम पनि जोडी बालकुमार क्षेत्री ‘साइनो’ भनी लेख्न थाल्नुभयो । यसैगरी क्रमशः महानन्द ढकाल, सीता सुवेदी पन्थी, विष्णुपादुका, कमला भण्डारी ढकाल, सीता शर्मा, आर्त अकुलीन, छविलाल खड्का, सन्तोष खत्री, निरञ्जना चन्द, सुरेन्द्र शाही ‘गुलाब कान्छो’, टंकप्रसाद पन्थ, हरिप्रसाद चौलागाइँ, चक्रपाणि गौतम शान्तिदीप, प्रमोद भट्टराई ‘प्रतीक’, धातानन्द शर्मा ‘गैरे’ आदि थुप्रै जना साइनोमा जोडिनुभयो र साइनोको श्रीवृद्धिमा लाग्नुभयो । फेरि केही समयमै मलाई पनि साइनोको साइनोले तान्यो र म पनि साइनोसित जोडिन पुगेँ । २०७६ चैत्र ८ देखि मैले पनि साइनो लेख्न शुरू गरेँ । भोलिपल्ट पनि फेरि अर्को साइनो लेखेँ । यसैगरी म पनि साइनोसित जोडिँदै गएँ र जोडिएकी नै छु ।

साइनो गाँसिँदैछ
सम्बन्ध गाढा हुँदैछ,
सुगन्ध झन् मौलाउँदै छ ।

साउन १६ गते हामीले साइनो दोश्रो वर्ष पुगी तेश्रो वर्षमा प्रवेश गर्न लागेको अवसरमा साइनोको वार्षिकोत्सव मनाउने तयारी गरिरेका छौँ । यस २ वर्षको अवधिमा एकल र संयुक्त गरी विविध साइनो संग्रह पनि प्रकाशित भएका छन् । जसमा साइनो जन्मेको पाँच महिनामै विष्णु पादुकाज्यूले ‘विष्णु पादुका साइनो संग्रह’ निकाल्नुभयो । त्यस्तै साइनोको पहिलो वार्षिकोत्सवमा ’साइनो सारथि‘ नामक ६६ साइनोकारहरूको साइनो समावेश गरिएको संयुक्त साइनो संग्रह एवं हरि चौलागाईँज्यूको ‘ब्रह्माण्ड साइनो’ नामक साइनो सङ्ग्रह सार्वजनिक गरियो । त्यस्तै निरञ्जना चन्दको ‘निरुको साइनो’ एवं छविलाल खड्काको ‘बिरौटो’ नामक एकल साइनो सङ्ग्रह प्रकाशित भैसकेका छन् । त्यसैगरी पाल्पा निवासी २० साइनोकारहरूको संयुक्त साइनो सङ्ग्रह ‘पाल्पाली साइनो’ पनि प्रकाशित भएको छ । साथै विविध खालका पत्रपत्रिकाहरूमा बेलाबेलामा साइनो सम्बन्धी लेख, अन्तर्वार्ता र साइनोहरू प्रकाशित हुँदै आइरहेका छन् । अझ पनि केही प्रकाशनोन्मुख कृतिहरू छन् जो कोरोनाको प्रभावको कारण प्रकाशित हुनसकेका छैनन् ।

नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, थारू, अछामी, सल्यानी र मलेसियन गरी आठ भाषामा साइनोहरू लेखिएका छन् । जसमा यस पंक्तिकारले पनि नेपालीका साथै संस्कतमा पनि साइनो लेख्ने गरेकी छु । २०७७ फागुन २९ गते संसारन्युजमा प्रकाशित मेरो ५ संस्कृत साइनो नेपाली साहित्यको पहिलो प्रकाशित संस्कृत साइनो बत्र पुगेको थियो ।

अहिले यो कविताको उपविधा साइनोले देश एवं विदेशमा व्यापक चर्चा पाएको छ । साइनोले आफ्नो छुट्टै साइनो वाङ्मय प्रतिष्ठान भत्रे संस्थाको गठन गरेको छ । फेसबुकमा साइनो संसार भत्रे पेज छ, जसमा स्वदेश एवं विदेशमा रहनुभएका साहित्य एवं साइनोप्रेमी थुप्रै साइनोकारहरू जोडिनुभएको छ । साइनो, नेपाली साहित्यिक मनप्रति आकर्षित हुँदै साइनो गाँसिँदै अगाडि बढ्दै २ वर्ष पूरा गर्ने तरखरमा छ । साइनोको श्रीवृद्धि यसैगरी बढ्दै जाओस् । शिशु अवस्थाको साइनोले राम्ररी पोषित हुँदै अभैm व्यापक बन्दै यत्र तत्र सर्वत्र आफ्नो वर्चस्व राख्न सफल बनोस् भन्दै आइरहेको वार्षिकोत्सव सफल र सुखद् बनोस् भन्दै यहाँ केही विविध साइनोकारहरूका साइनो प्रस्तुत गर्दछु ।

विवेकशून्य मान्छे
बाहिर सुकिलो कोट,
चेतनामै रहेछ खोट ।

केशव ज्ञवाली ‘आगत’

किस्ता किस्तामा खाऊ,
किस्तामा मन समाऊ,
यसैमा जीवन रमाऊ ।

खेमलाल पोख्रेल

झारा टार्ने नठानौँ
अभिभारा हो जिन्दगी,
कर्तव्यमा चलौँ राम्ररी ।
टङ्कप्रसाद पन्थ

नकल्पिएको यात्रा !
दैव कृपा रहिरहोस् !!
स्मृतिमाला गुँथ्नै छ झै !!!

सन्तोष खत्री

रूझेछन् ती परेली
भत्किएको त्यो साइनो,
सिउँदोमा पीडाको धर्को ।

बालकुमार क्षेत्री ‘साइनो’

सत्ता परिवर्तन
हुँदैन किन उज्यालो
कुर्सी साटिन्छ पालैपालो ।

बाबुराम न्यौपाने ‘उत्स’

बुझिएन त्यो रीति
भाडँभैलो भयो स्थिति
कसलाई सम्झाऊँ नीति ।

सीता सुवेदी पन्थी

जीवन फूल ​थुङ्गा
बनी माझी तार्ने डुङ्गा
छ पवित्र गुरुको गाथा

शान्तिदीप

अन्त्यमा यस पंक्तिकार (प्रीति आत्रेय ज्ञवाली) को आफ्नैे एउटा संस्कृत साइनो:

प्रविधिवशे शिक्षा
संजाले भवति वार्ता,
समसामयिकी अवस्था ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button