
बुझ्दै नबुझी गयौ, सोच्दै नसोची गयौ
कविता
लीना बानिया
माया लिनुको साटो दया लिएर गयौ
मनमा बस्नुको साटो आखाँ बाटै झरेर गयौ
अहंकारकै पोखरीमा पौडने रहर भएर होला
शान्त सागर छोडेर भेलमा बगेर गयौ ।
कालो बाक्लो पर्दामा रमाउने रहर तिम्रो
सुर्यको प्रकाश कस्तो देख्दै नदेखी गयौ
पुग्नै नसक्ने कतै भएरै होला त सायद
गन्तब्यको अर्थ के हो थाहै नपाई गयौ ।
अन्यौललाई अंगाल्दाअंगाल्दै लथालिङ्ग भएर गयौ
अरुलाई तोड्छु भन्दा भताभुङ्ग आफै भएर गयौ
सम्हाल्नै नसकी आफुलाई अरुमै पोखिन जाँदा
लाचार र विवश अनि छताछुल्ल आफै भएर गयौ ।
चिनारी अरुमा खोज्दै आफैलाई नचिनी गयौ
रंगमा खेल्ने रहरमा रंग नै नचिनी गयौ
बुझ्दै नबुझी गयौ, सोच्दै नसोची गयौ
अरुलाई भेट्दाभेट्दै आफैलाई नखोजी गयौ ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



