श्रीमतीलाई ज्वरो आए गहना पसल लैजाऊ !

लघुकथाः ज्वरोको औषधी

बैकुण्ठ पोखरेल
गोदावरी ।

‘अस्तिको हप्ता महिला भेलामा रमिलाले सुनको जन्तर ढल्काएर आई । आजको मिटिंगमा तबिता पनि नौगेड़ीमा ठाँट्टिएर आई । मेरो चाँहि अरुको सामु तिलहरी ढल्काएर रवाफले हिँड्ने दिन कहिल्यै न आउने भो । ए हजूर, तिनीहरुको बुढाको भन्दा त हजुरकै कमाई राम्रो छ नि । मलाई नि यसो आधी तोलाकै भए नि एउटा तिलहरी बनाइदिस्यो न । साथीसंगी फेरि फेरि नयाँ नयाँ डिजाइनका गहना लाएर आउँछन् भेला, अनि जमघटमा’, भर्खरै थकाई मार्न भनी सोफामा बसेका पतिदेवलाई चिया दिँदै आफ्नो नियती अवगत गराइन वविताले ।

‘अँ, अब त्यही बाँकी छ गर्न, वहाँ छोराको कलेजको फी कति आ को छ, थाह छ ? त्यो गहनासहना भनेको त जोर्दै गरुँला नि, आधारभूत आवश्यकताहरु पूरा भएपछि’, बुढाको जवाफ आयो ।

‘हजूरलाई त के भन्नु, मैले गहनाको कुरा गर्यो कि हजुरसामु आधारभूत आवश्यकताहरुको पहाड मडारिन्छ । हे भगवान ! गहना नै नलाई मर्छु कि क्या हो म त’, च्याट्ठिदै भान्सातिर लागिन् वविता ।

‘वविता, ल यो एक कचौरा दाल पिऊ त । अनि अलि तागत आउँछ ज्यानमा’, विवश ब्यस्त थियो सात दिनदेखि ज्वरोले थलिएकी धर्मपत्नीको स्याहारसुसारमा । उसलाई अचम्म लागेको कुरा, ज्वरो सामान्य थियो र पनि औषधी चलाको सात दिन बितिसक्दा पनि निको भइरहेको थिएन ।

आज शनिबार । बिरामी ववितालाई भेट्न भनि आईपुगे रमिला र तविता ।

‘दिदी, थलै पो पर्नु भयो त तपाई । यसो राम्रो हस्पिटलमा जचाउन जानु पर्यो नि अब त’, तविताले सुध्याई ।

‘हो नि दिदी । पैसाको मुख हेरेर हुन्न है । उपचार त राम्रै ठाउँमा गर्नु पर्छ’, रमिलाले पनि थपी ।

ओछ्यानमा ढल्किएकी वविता केहि नबोली एकटकले उनीहरुको घाँटीमा हेरिरही ।

केहिबेर ववितालाई सम्झाएर आ-आफ्नो बाटो लागे रमिला र तविता पनि । यता मौन बसेर उनीहरुको गतिविधि नियालिरहेको विवश भने रमिला र तविता गएपछि घोरियो एक छिन । तत्पश्चात उसलाई के भयो कुन्नी, खल्तीबाट मोबाइल निकालेर फोन लगायो ट्याक्सी ड्राइभरलाई । केहि छिनमै घरअगाडि ट्याक्सी आइपुग्यो । बिरामी बूढीलाई ट्याक्सीमा राखेर विवशले ड्राइभरलाई गन्तव्यतिर लैजान भन्यो । ट्याक्सी हस्पिटल वा मेडिकलमा नरोकिई सिधै गहना पसल अगाडि गएर रोकियो । ट्याक्सीबाट उतारेर विवशले ववितालाई गहना पसलमा लगेर एकतोला सुनको तिलहरी किनिदियो ।

सुनको चमत्कार ! तिलहरी पाउने बित्तिकै वविताको मुहारको चमक फर्कियो । घर पुगेर वविताको मुखमा थर्मोमिटर लगाएर ज्वरो नाप्दाको परिणामले विवश अझै आश्चर्यचकित भयो । कारण, थर्मोमिटरको पारोले देखाइरहेको थियो ९८ फारेनहाइट ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button