त्यो उसको मुस्कान, त्यो उसको जादु

कविता

अभिषेक रिसाल

मेरो जीवनको खास मान्छे
आज मैसँग टाढा हुँदै छ
ती हामीले साँचेका सपनाका पोकाहरु बोकेर
क्षितिज पारी उकालो लाग्दै छ
मदेखि टाढा हुँदै छ
धेरै टाढा
निक्कै टाढा
अब कहिले नआउने गरेर
रंगीन यादहरुसँगै समेटेर
कोरेका यादहरु च्यातेर
मदेखि टाढा जाँदै छ ।

त्यो उसको मुस्कान
त्यो उसको जादु
उसको त्यो आवाज, त्यसमा म बेकाबु
भुलेर आफैलाई
हराएर आफैसँग
म उसको यादमा हरपल हरक्षण
जल बिनाको माछा झैं
छटपट छटपट
अर्ध चेत पागल झै
कहिले हाँस्दै
कहिले रुँदै
ती आँखादेखि झरेका बलिन्द्र धारा आँसु
उसकै यादसँग समेटेर
संगालेर राख्दै छु
किनकि
मेरो जीवनको खास मान्छे
मदेखि टाढा जाँदै छ ।

थामेर ती हातहरू
मिठा उसका बातसँगै
रहि उसको अँगालोमा
उसकै नजिक उसकै समीप
मेरा सारा मनका भावनाहरू
उसको सामु पोख्ने रहर
सम्हालेर आफैलाई साथ तिम्रो खुशीको
रंगाउँदै मेरो सिउँदो रातै गाढा सिन्दुरको
फगत मेरा रहरहरु
आज सबै भुल्दै छु
मुहारमा हाँसो राखेर
आँसुभित्र डुब्दै छु
किनकि
मेरो जीवनको खास मान्छे
आज मैसँग टाढा हुँदै छ
अब कहिले नआउने गरेर
रंगीन यादहरुसँगै समेटेर
कोरेका यादहरु च्यातेर
मदेखि टाढा जाँदै छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button