लकडाउन वार्ताः मेरो कन्फिडेन्स पटक्कै डाउन भा’छैन

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा नेपाल पत्रकार महासंघका पुर्व सचिव ध्रुव लम्साल

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स् त डाउन भएको छैन नि ?
मेरो कन्फिडेन्स पटक्कै डाउन भा’छैन । हामी अहिलेसम्म नमरेकाले बाँचेका हौं भन्नेमा म सचेत छु । म मर्ने बेलामा पनि बोलिरहुञ्जेल हाँसिरहने मान्छे हो । जुन देशमा सरकारले अस्पतालका लागि अक्सिजनको कोटा तोक्छ, त्यस्ता देशका नागरिकले सकेसम्म एक्लै हाँस्न सिक्नु पर्छ, राम्रा रमाइला कुरा सम्झेर । रमाइला कुरा केही भेटिएन भने युट्युब सर्च गर्दा पनि हुन्छ । आफुलाई जे गर्दा रमाइलो हुन्छ, त्यहि गर्नुपर्छ । कसैलाई किताब पढ्दा रमाइलो लाग्ला त, कसैलाई फिल्म हेरेर । यो समयमा भरपुर मनोरञ्जन लिनु पर्छ ।
अर्को कुरा, प्रविधीले एक्लै बस्ने मान्छेलाई पनि खुसी हुने अवसर दिएको छ । त्यसको सदुपयोग गर्नु पर्छ । मैले भरपुर उपयोग गरेको छु ।

दिनहरु कसरी बित्दै छन् ?
मुख्य त घरमै बसेर पनि जागिर खानै पर्छ । त्योबाहेक बिहान एकछिन छोरीसँग व्याटमिन्टन खेल्छु । छोरीहरु लास्टै झेली छन् । मलाई आउट गराइहाल्छन् । बिहान १ घन्टा जति आधा लेखेर छाडेको उपन्यास पुरा गर्ने प्रयास गर्दैछु । ११ बजेपछि जागिर सुरु हुन्छ ।
विषेश घटना नहुँदा बेलुका नौ बजेपछि फिल्म हेर्ने चलन छ । मेरा छोरीहरुले युट्युबमा भेटिए जति नेपाली फिल्म हेरिभ्याएछन् । अहिलेचाँहि हिन्दी फिल्म हेर्ने गरेका छौं । तर, अचेल राम्रा फिल्महरु युट्युबमा सित्तैमा हेर्न पाइँदोरहेनछ । कतिपय राम्रा फिल्महरु भेटिएन । छोरीहरु पाएसम्म अंग्रेजी सबटाइटल भएको फिल्म खोज्छन् । फिल्म हेर्नुअघि त्यो फिल्मको रेटिङ कस्तो छ, रिभ्यु हेरेर मात्रै हेर्ने चलन छ । रेटिङ हेर्ने र फिल्म खोज्ने काम छोरीहरुकै हो ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
हाम्रो घरमा तनाव भन्ने जिनिस गेटबाटै छिर्दैन । बेला बेलामा छोरीहरुसँग झगडा पनि पर्छ । झगडामा म हार्दिन्छु, उनीहरु त्यसै मख्ख पर्छन् । भान्सामा बेला बेलामा सघाइदिएपछि बुढी त्यसै मख्ख परिहाल्छे ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
अघिल्लो वर्ष लकडाउन भएकै राती म गाउँ गएको थिए । १ महिना गाउँ बस्दा असाध्यै मस्ती भयो । म गाउँ पुगेको भोलिपल्टदेखि मल बोक्न सुरु भयो । मल बोक्ने, बारी जोत्ने, मकै छर्ने काम गरेँ । केही गराको एकोहोरो मकै गोडेर काठमाडौ फर्केको थिएँ ।
पोहोर साल गाउँमा ऐंसेलु, काफल र तिँदु व्यापक फलेको थियो । खुब खाइयो । यसपाली भने ऐंसेलु र काफल फेसबुकमा हेरेरै चित्त बुझाउन परेको छ ।
यसपाली छोरीहरुको अनलाइन क्लास भएकाले गाउँ गइएन । गाउँमा अहिले पनि इन्टरनेटको समस्या छ । एनटिसीको टावर आँगनबाट नजिकै देखिन्छ तर फोन नै राम्रो सुनिन्न, नेट त टाढाको कुरा । नेट चलाउन एनसेलको सिम चलाउनु पर्छ । त्यो पनि गतिलोसँग चल्दैन ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
पुरै सुनसान छ । कोही कसैसँग भेट हुँदैन । बिहान तरकारी र फलफूल पसलमा भेट हुन्छ, सबैले मुखमा मास्क लगाएकाले राम्ररी चिनिन्न । चिने पनि बोलिन्न । बोल्दा पनि संक्रमण हुने पो हो कि भन्ने त्रास छ सबैमा ।

यदि लकडाउन नभएको भए, आज तपाईं कहाँ र के गर्दै हुनुहुनथ्यो ?
लकडाउन नभएको भए पनि म काठमाडौंमै हुन्थेँ । अफिसमा काम गर्दै साथीहरुसँग गफ गर्दै क्यान्टिनमा दुध हालेको चिया खान्थेँ । घरमा बस्दा चाँहि दुध हालेको चिया कम खाइएको छ । कालो चियावालाको बहुमत भएकाले म पनि त्यतै घिस्रिएको छु ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
यसलाई कसरी सम्झिने भन्ने चाँही यसले कति भयावह रुप लिन्छ, त्यसमा भर पर्छ । अब यत्तिकै टरेर गयो भने सामान्य महामारीका रुपमा बुझ्दा हुन्छ । भोलि दिनमै हजारौं मान्छेको मृत्यु हुन थाल्यो भने वास्वतमै भयावह थियो भन्ने हुन्छ । लकडाउनचाँहि हाम्रो समाजका लागि नयाँ अनुभव भयो । लकडाउनमा गरिएका काम र खिचिएका फोटाले पक्कै केही अनुभुति गराउला ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउन मात्रै चाँहि समस्याको समाधान होइन । हामी आफै पनि सचेत हुनुपर्छ । कतिपय मान्छे अहिले पनि देखिरा’छु, मास्क समेत नलगाई हिँडिरहेछन् । यस्ता महामारी नियन्त्रणमा जनता आफै पनि सचेत हुन जरुरी छ ।
सरकारले के गर्नु पथ्र्यो भन्न खोज्नु भएको हो भने अहिले वास्तवमै यो मुलुकमा सरकार भएको अनुभुति नै भएको छैन । जुन मुलुकमा सरकारले अस्पतालका लागि अक्सिजनको कोटा तोक्छ र अस्पताललाई चाहिने जति अक्सिजन दिँदैन भने यो सरकारबाट के अपेक्षा गर्ने ? अदुरदर्शी नेतृत्वले कमिसनका लागि शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई जिम्मा लगाउँदाको परिणाम हामी भोग्दै छौं । यो महामारीमा मन्त्री–प्रधानमन्त्री र अन्य विभिन्न दलका शीर्ष नेताको भुमिका सरकारी अड्डाका सुब्बाको जति पनि देखिएन ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
खासै आएको छैन । सायद अहिलेसम्म स्वास्थ्यमा गम्भिर समस्या नआएकाले पनि होला । यति हो कि इम्युनिटी पावर बढाउनु पर्छ भन्दै अहिले फलफुल, माछा, मासु र दुध धेरै खान थालिएको छ । यहि बानी लाग्यो भने पछि महंगो पर्छ ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
मैले पहिल्यै भनिसकेँ, हामी केवल नमरेर बाँचेका हौं । जे जे आइपर्छ भोग्दै जाने हो । मसँग कुनै पनि योजना छैन । धारणा वा योजना बनाएर पनि काम लाग्दो रै’नछ भन्ने त यहि कोरोनामा देखिइहाल्यो । जाबो अक्सिजन नपाएर पुक्लुक पुक्लुक मान्छे ढलेको देखिएकै छ । जति नै सम्पत्ति भएर पनि केही हुँदो रहेनछ भन्ने त देखिइहाल्यो । बरु हाम्रै ठिक छ । जे पर्छ, टर्दै जान्छ ।

One Comment

  1. सादा जीवन उच्च विचार !!! अत्यन्तै रमाइलो मान्छे । तर यसपालि महासंघकाे चुनावमा बिचमै ब्याक हटिदिएकाेमा गुनासाे छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button