खै के लेख्नु र ! लकडाउन डायरी
सुशीला शर्मा
रेडियो टेलिभिजन, पत्रपत्रिकाहरुले भन्दा पनि फेसबुककै समाचारले आजकल मानिसहरुको दिन शुरु हुन्छ । न समय हेर्नलाई छुट्टै घडी नै चाहिन्छ । न मनका बह फुकाउन नजिकै साथी नै चाहिन्छ । चिनजानका प्रियजन, आफन्त, मान्यजन, साथीसंगातीसंग उही भर्चुअल गफगाफ गर्यो, दिन कटायो । त्यस्तै परे, यो देशकै चिन्ताले ग्रस्त, भयभित, गर्नुपर्नेलाई आलोचना गाली सबथोक मनमनै गर्न पाईन्छ आजकल एकै ठाउँमा बसी बसी । गाउँघर दूर दराज, गरिबी, दैनिक ज्यालादारी मजदूरहरुको जीवनमा भने लकडाउन या निषेधाज्ञाको असर जीवन संघर्षभन्दा ठूलो चाँहि देखिएका छैनन् । तर, धेरैले फेसबुक या सञ्चारलाई भने पछ्याएको पनि पाईन्छ ।
लकडाउन फेरि शुरु भएको छ । बाहिरफेर सडकमा गाडी चलेका छैनन् । हिजोसम्म त ट्राफिक जाम ओहो ! हेरिनसक्नु थियो । फेरि आजदेखि एक्कासीको जामले घरमै बस्नेलाई कोरोना नसर्ला र ? प्रश्न उठ्छन् ।
पोहोर साल त लकडाउन शुरु भएदेखि नै गाउँघरमै रमाइयो । तर, कतिन्जेल रमाउने र ? कर्मलाई शहरमा आजमाउन संघर्षरत हामी जस्ताले । आफ्ना गुमेका भूमिकाहरुलाई सुचारु गराउनै लाग्दा फेरि पनि यो नयाँ उपज भाईरसले लखेट्न छाडेको छैन् । धन्न ! आजको मितिसम्म कोरोनाकै लक्षणचाँहि देखिएको छैन, हुन त जाँच गराउन पनि गएको छैन । लक्षण नदेखिई के जाँच गराउनु फेरि ।
महिला र पुरुषको लकडाउनमा पनि उही संरचनागत लैङ्गिकता अनुसारको भूमिका त भई नै हालेको छ प्रत्येक घरहरुमा । तर हामी मिलेरै काम गछौं परिवारमा । देशको राजनीतिको बारेमा पनि टुटेफुटेका बहस पनि गर्छौ । हिजो राती सांसद अपहरण ? या कोरोना संक्रमण ? या किनबेच ? यस्तै गफबाट हाम्रो पनि बिहान शुरु भयो । रवि मिश्रको कार्टुन ‘मुख्यमन्त्री उपचार तथा बिरोधी मर्मत अस्पताल’ वाला कार्टुनले हास्दै दिनको शुरु गरियो । खाना खाने बेलामा हाम्रो एघार कक्षामा अध्ययनरत छोरोले ‘सर्वहारा’ भनेको उसलाई अरुको सबथोक खाईदिने लाग्थ्यो रे, तर अहिले बुझ्दा उल्टो पो रहेछ भनेर रमाईलो वातावरण बनायो । उसले प्रष्ट बुझेको सर्वहारा चाँहि जसको आफ्नो भन्ने धनसम्पति नभएको, दैनिक ज्याला मजदूरी गरेर बाँचिरहेका गरीब मानिसहरु रे । निम्न आर्थिक अवस्था अनि निम्न सामाजिक वर्गका मानिस । कुरो चाँहि लकडाउनमा सर्वहारा लगायत, निम्न मध्यम र मध्यम वर्गलाई के के प्रभाव पार्छ त अब फेरि यो लकडाउनले भन्ने नै थियो ।
दैनिक घरमा गर्नुपर्ने कामधन्दा र खाना पकाउने खाने काम नै हो । खासै अरु काम पनि त छैन । लकडाउनले मनस्थिति पनि लक गरिदिएको जस्तो लाग्छ । केही पढौं भन्न लाग्छ, तर फेरि नपढौं लाग्छ । लेख्न पनि खासै जाँगर छैन । यसो साथीहरुलाई फोन गर्यो, उनीहरुको पनि त्यस्तै जवाफ पाउँछु । सायद एकप्रकारको उदासिनता छाएको छ । अन्यौल पनि त छ नि । गरिखानेहरुलाई न काम न केही । रोगव्याधीले छोयो भने उपचार पो कतिको सहज होला नहोला, खर्च बर्च कसरी जोहो गर्ने होला । अनेक छन तर्कनाहरु पनि । आजैचाँहि खासै केही गरिएन् । दुईवटा पुस्तक अलिअलि पढ्ने भनेर ठीक पारिएको छ । प्रभा बरालको ‘फिलिङ्गो’ पढेर सकिन आँटेको छ भने अर्को प्रा.डा. मुकेश चालिसेको ‘मैले छिचोलेका कुईनेटा’ भन्ने किताब छ । झण्डै एक घण्टासंगै एउटै घरमा बस्ने तथा राजनीतिक सम्बद्धता, अध्ययन र विद्धताले खारिएकी आदरणीय दिदीसंग पनि समसामयिक गफसफ पनि आजको दिनको सकारात्मक पक्ष रह्यो । सायद हाम्रा लकडाउनका दिनहरु विचार आदानप्रदान र छफलफलमै वित्छ होला । दिनको समयमा पुराना अफिसका साथीसँग हाँसीमजाक भयो । अब तरकारी पसलेहरु कोरोनापछि कहाँ कहाँ जान्छन्, कापी किताबवाला हरिद्धार जान्छन् भन्ने फेसबुक पोस्टलाई लिएर । हामी पनि कापी किताब पढ्ने पढाउनेवाला पर्यौ र परिस्थिति प्रतिकूल पनि हुँदैछ । आफैंलाई व्यंग गर्दै हासियो । मेसेन्जरमा एकजना भारतीय मित्रसंग पनि कोरोनाको भयावहताबारे कुराकानी भयो । उनी भन्दैथे, सतर्क रहेर र नआत्तिईकन नै कोरोनासंग लढ्न सकिन्छ । उनी मलाई सुझाउँदैथे कि केही समय भयावह देखाउने समाचार हेर्न छोडिदिनु ।
छतमा जाने, टहल्ने, भित्रभित्रको गल्लीमा केहीबेर हिड्ने योजना बनाएका छौं । आज पनि हिडियो अलिकति । के गर्नु स्वास्थ्य समस्या कोरोना मात्र होइन, कयौं छन् । बढ्दो उमेरसंगै व्यक्तिगत स्वास्थ्य र स्वः हेरचाह अति आवश्यक पनि छ ।
आज बेलैदेखि पानी पर्यो एकदम चट्टयाङ्गसहित दर्केर । थुप्रै धुलो पखाल्यो होला काठमाडौंको सडकको । अहिले पनि हामी समाचारबाट सुचित भयौं । दिपक मनांगे गण्डकी प्रदेशका युवा मन्त्री भए रे भनेर । देश त चलि नै रहेको छ ।
धेरै पढिरहने जाँगर र बानी पनि छैन । तर पनि समाज, विश्व परिवेश आँखा अगाडि आइरहँदा साक्षर मान्छे भएकोले केही त जानकार हुनै पर्यो भन्ने लाग्छ । सायद केही पढिन्छ पनि होला ।
अरु त के लेखौं लकडाउन डायरी । मजस्तै धेरैको मनमा एक तमासको चिन्ता, हुटहुटी त छँदै नै होला । मेरो लगायत सबैको केही न केही सकारात्मक, जाँगरिलो र सक्रिय भएर नै बितोस् र लेखियोस् उर्जावान डायरी । अब दिन काट्नलाई उध्रिएका सिलाउने, नमिलेका मिलाउने, बढार्ने, सिनित्त पार्ने, टक्टक्याउने यस्तै नै हुनेछन् दिनचर्या । आफन्तजन र साथीभाईसंग सम्पर्कमा रहिरहने पनि दैनिकी नै हुनेछ ।