लकडाउन डायरी: ‘बाहर मत जाना, घर पें रहना ठीक हैं’, उड्पाले भने, ‘आप बचके रहना’
ब्राम्हणपुत्रको लकडाउन डायरी-१
भरत शर्मा
‘होइन, भोलिदेखि लकडाउन हुन लागेको हो कि निषेधाज्ञा ? मैले कुरो बुझिनँ’, कार्यालय नजिकै रहेका मेरो झोला व्यापारी उमेश श्रेष्ठले मलाई यसबारे प्रष्ट पार्नुस् त भने ।
‘लकडाउन भने पनि निषेधाज्ञा भने पनि अब भोलिदेखि १५ दिन घरमा बसेर कोरोना महामारी भाग–२ सँग आफू, आफ्नो परिवार इष्टमित्र बचाउनु पर्छ । यो बर्ष कोरोना पनि अलि कडै भएर फैलिएको हुनाले सरकारले लकडाउन भन्दा पनि निषेधाज्ञा नै घोषणा गरेको हो । सरकारले गरेको निर्णय मानेर अब १५ दिन घर बस्नुस्’, मैले भनेँ ।
उमेशलाई मेरो कुराले चित्त बुझेछ । ‘भोलिदेखि १५ दिन घरमा कसरी बिताउने होला ?’, उनले सोधे ।
‘लेखपढ गर्नु नि’, मैले भने ।
‘व्यापारी भएपछि लेखपढ कम भयो । विद्यार्थी छँदा र पछिसम्म पनि मैले डायरी लेख्ने गरको हो । म त भीएस निकेतनमा पढेको पढन्ते विद्यार्थी हुँ । अहिले व्यापारी भएपछि सबैकुरा पैसा हो जस्तो लाग्छ । लेख्न त खोज्छु तर भाषा मिलाउन जाँन्दिन भन्या, नेवारको छोरा भएर होला । तर, म लेख रचना पढ्छु, । तपाईंको संगत भएपछि पढौं पढौं, लेखौं लेखौं लाग्छ । अब म १५ दिन लकडाउनमा लेख्छुपढ्छु । र, सरकारको घोषणा अनुसार घरमा बसेर कोरोना महामारीविरुद्वको अभियानमा साथ दिन्छु’, उनले भने ।
व्यापारी मित्र उमेशसँग बुधबार साँझ भएको कुराकानीले म पनि १५ दिनको समयमा सरकारको घोषणा अनुसार महामारीबाट बच्नका लागि घरमा (घैदी) जीवन विताउने र साथी भनेको पुस्तक र लेखन बनाउने निधो गरेँ ।
बुधबार साँझदेखि कार्यातालिका परिवर्तन गर्ने भएँ ।
-रात्री नौं बजेपछि मोवाइल नचलाउने ।
-फेसबुक, विच्याट आदि सबै सामाजिक सञ्जाल बन्द गर्ने ।
-नौं बजेदेखि १० बजेसम्म भजन, रामायण, महाभारत र अध्यात्म साहित्य अध्ययन गरेर रात्री विश्राम गर्ने ।
-पुराण र वेदका ऋचाहरु समेत संकलन गरेको मेरो डिजिटल कलेक्सन सुन्ने र हेर्ने ।
विहीबार १६ गते बिहान नित्य पूजापाठ र अध्ययन पुरा गरेर नौ बजे श्रीमतीजीलाई उनको कार्यालय तारकेश्वर नगरपालिका वडा नं. ४ पु-याउनु पर्ने चालकको जिम्मेवारी पुृरा गरेर सिर्धै कार्यालयतर्फ हिडेँ ।
सडक खाली–खाली थिए । बालाजु चोकमा अनावश्यक काममा घर बाहिर निस्केकाहरुको लागि चेकजाँच थियो । म आफ्नो गन्तव्यमा दौडदै थिएँ । म स्वयम्भुको फेदी हुँदै सुन्धारास्थित चाइना टाउन पुगेँ । चारैतिर बन्द रहेको महलभित्रको पसल नं ९ मा रहेको कार्यालयभित्र पसी सटर बन्द गरेर आफ्नो कामतिर लागे ।
नेपाल पर्यटन बोडको सहकार्यमा पुम, नेदरल्याण्डस्का प्राध्यापक जेरोनले गतहप्तादेखि शुरु गरेको चारहप्ते (हप्तामा दुईदिने) ‘पर्यटनमा डिजिटल मार्केटिङ’सम्बन्धी दुई घण्टे अनलाइन अध्ययन तालिममा सहभागी हुनु थियो । विश्वमा कोरोना महामारीपछि डिजिटल मार्केटिक र गुगल गुरुले संसारलाई सानो बनाइदिएको कथा निकै रोचक ढंगले पढाउने प्राध्यापक जेरोनोको आज दोस्रो कक्षा थियो ।
कक्षाको शुरुमा उनले ‘नेपालमा आजबाट लकडाउन भएको छ तर तपाईंहरु चिन्ता नगर्नुस्, संसार कोरोना महामारीसँग जुधिरहेको छ । एकदिन यसलाई जितेर हामी पर्यटन क्षेत्रलाई चलायमान बनाउने अभियानमा लागिरहनु पर्छ’ भनेर उत्साह भरेर पढाई शुरु गरे ।
दुईघण्टे कक्षा सकियो, १२ बजेर ४५ मिनेटमा । त्यसपछि नेपाल र भारतका अनलाइन समाचारहरुतिर नजर राख्दै थिएँ । भारतका केही अनलाइन मिडिया खोलेर हेरेको त, त्यहाँको हालचाल देखेर फेरि तर्सिए । कोरोना विरामी र मृत्युको संख्या बढ्दो छ । नेपालमा पनि काठमाडौंमा कोरोना लागेका विरामीलाई हेलिकप्टरबाट झापा लगेको खबर र खाडीको दमादबाट हिमालयन एअरलाइन्सबाट आएका व्यक्तिमा विमानस्थलमा कोरोना देखिएपछि उनको नजिक रहेका सबैलाई क्वारोन्टिनमा राखेको खबर पढ्दै थिएँ । एक्कासी आकाश मडाएिरको आवाज आयो । पानी परेको आवाजपछि कम्प्लेक्सभित्र बस्न डर लागेजस्तो भयो ।
त्यसपछि भारतका मित्र उड्पासँग कुरा गरेर हालचाल बुझे ।
उनले भने, ‘हमारी हालचाल बेहाल हैं । आपका उधर क्या हैं ?
इधर भी हालचाल उधर कै जैसा हो रहा हैं । आज सें लकडाउन हैं । मैले भनेँ ।
उड्पाले भने, ‘दो गजकी दुरी, मुख मे मास्क जरुरी । बाहर मत जाना घर पें रहना ठीक हैं । आप बचके रहना ।’
मित्र उड्पासँग मनको लामो कुरा भयो । बेंग्लोरको अवस्था पनि विग्रदै गएको कथा सुनेँ । त्यसबीचमा चिनियाँ मित्र ह्वांगको फोन आयो विच्याटमा । उनी चिनियाँ हुन् तर नेपाली भाषामा बोल्न र लेख्न सक्छन् ।
उनले पहिलो प्रश्न गरे, ‘के छ नेपालमा हालखबर ? आजदेखि लकडाउन हो कि निषेधाज्ञा ? यो शब्दमा के फरक छ भनेर मैले त बुझिन । दुवै शब्दको अर्थ एउटै होला ।’
उनलाई पनि उमेश श्रेष्ठलाई जस्तै गरी अर्थ बुझाइदिएँ । उनी खुसी भए ।
मैले पनि उनलाई एउटा प्रश्न सोधेँ, ‘कोरोना महामारी अभियानमा चीनले प्राप्त गरेको सफलताबारे एउटा लेख लेख्नु छ । आज साँझसम्म मलाई सफलताका बारेमा केही जानकारी दिनसक्नु हुन्छ ?’
उनले भने, ‘मलाई केही समय चाहिन्छ । मैले पनि पढ्नु पर्छ । केही नयाँ कुरा खोज्नु पर्छ । तर, म सकेसम्म आज । नसके पनि भोलिसम्म तपाईलाई जानकारी दिनसक्छु ।’
मैले भने, ‘चीन सरकारले गत बर्षको जनवरीदेखि अहिलेसम्म कोरोना महामारी अभियानका सफलताको कथा चिनियाँ भाषामा प्रकाशित गरेको छ । त्यो पढेर मुख्य मुख्य कुरा मलाई नेपाली भाषामा बताइदिनु होला ।’
‘हुन्छ’, उनले भने ।
त्यसपछि मैले चिनियाँ भाषामा धन्यवाद भनेर कुरा सकेँ ।
लकडाउन–निषेधाज्ञाको अवधिमा कसरी सिर्जनशील यात्रामा हिँड्ने होला भनेर यसो सोच्दै थिएँ । नेपालनाम्चाका सम्पादक अशोक सिलवालको फोनको घण्टी बज्यो । लेखक-सम्पादकको फोन आएपछि के नयाँ विषयमा कलम चलाउनु पर्ने भयो भन्ने ठान्दै फोन उठाएँ । ‘लकडाउन डायरी लेख्नुप-यो, हरेक दिन साँझ ६ बजे प्रकाशित हुने गरी’, उनले आदेश दिए ।
सम्पादकको वचन काट्न नसक्ने भएकाले आजदेखि लकडाउन डायरी शुरु भयो ।