भूकम्पलगत्तै गोरखा ‘मिसकल’
शकुन्तला देवकोटा
भोलिपल्ट के हुँदै थियो, कसलाई के थाहा ?
बैशाख ११, २०७२ सम्म हामी सपरिवार गोर्खा घरमा थियौं । घरमा पूराण, लाख बत्ती, भान्जाको ब्रतबध सबै काम सकेर ११ गते बैशाख हामी आफन्त र परिवारसहित १७ जना घरबाट काठमाडौको लागि हिड्यौं । बाटोमा खुबै रमाइलो गर्दै फर्कियौ।
बैशाख १२ शनिवार थियो घरबाट आएको थकाइ थियो । ढिलो उठियो । खाना बनाएर बच्चालाई खुवाएर हामी बुढाबुढी बनस्थलीमा रहेको सामुदायिक हस्पिटलमा मुटुको राम्रो डक्टर आउने थाहा पाएर जचाउनको लागि ११ बजेतिर घरबाट हिँड्यौं ।
लाईन बाक्लो थियो । हामी पनि लाइन बस्यौं ।
लाईन अगाडि सर्दै थियो १२ बज्नै लागेको थियो । ठ्याक्कै हामी भित्र पस्ने बेला भएको थियो । यस्तोसँग हल्लियो, सबै भागाभाग । त्यो भवन फलामबाट बनेको रहेछ । साँघुरो भर्यांङ् । एक तलामाथिबाट एकै चोटि सबै जना तल झर्दा कति आतियौ भनेर सम्झिसाध्य छैन । सुरुमा त के भएको भन्ने बुझिएन । तल आएपछि मात्र थाहा भयो, भुकम्प गएको रहेछ । वरपरका घर सबै हल्लिएको देखियो ।
एक छिनपछि केही साम्य भयो अनि घर फर्कियौं । बाटोमा आउदा कतै घर भत्किएको त कतै पर्खाल भत्किएको देख्दा आफ्नो बच्चा कता थिए के भयो भन्ने छट्पटी थपियो ।
घरनजिक पुग्दा गोरखाबाट बुवाको कल आयो । तर उठाउन नपाउँदै काटियो ।
एकछिन पछि थाहा भयो, भुकम्पको मुख्य केन्द्रबिन्दु नै गोर्खा भन्ने । फेरि चिन्ता बुवाको । फोन लाग्दैन । एउटा अनुमान लगाइयो, बुवाहरुलाई केही भएको छैन किनभने बुवाको मिसकल भूकम्प जानेबित्तिकै आएको थियो ।
दिनैभर घरमा कल गरियो । सम्पर्क हुन सकेन । त्यो कालो दिन घरभित्र पस्न सकिएन । बाहिर बसियो दिनभरी । रात परेपछि छिमेकी सबै जम्मा भएर चौरमै खाना बनायौं । एकै ठाउँमा खायौ । हामीसँग ठुलो टेन्ट थियो । त्यसै टेण्टमा मिलेर सुतियो ।
पानी पर्ने, चिसो हावा चल्ने बेलाबेला र सानोसानो तरङ्ग जाने कस्तो त्रासमय समय । निन्द्रा कता लाग्ने ? सात दिन त्यो क्रम जारी रह्यो । चौरको सुताई । मलाई त चिसो लागेछ । कम्मर नराम्रोसँग दुख्न थाल्यो । त्यसपछि घरमै सुत्न थाल्यौं ।
दुई तीन महिनासम्म लगातार सानोतिनो कम्पन गइ नै रह्यो । आजसम्म पनि त्यो दिन सम्झदा झसङ्ग हुन्छ मन ।
त्यो कालो दिन । कतिले बालबच्चा गुमाए । कतिले बुवाआमा गुमाए । कतिले आफन्त गुमाए । कतिले आफ्नो बाँस नै गुमाउनु पर्यो । धरहरा ढल्यो । पुरानो थुप्रै देवदेवताका सत्तल ढले । दुखद घट्ना देख्नु पर्यो ।
भगवानको कृपाले हाम्रो आफन्त, छरछिमेक, परिवार सकुशल नै रहेको खबर पायौं ।
बच्चादेखि बुढाबुढिको मानसपटलमा कहिले बिर्सन नसक्ने गहिरो छाप छोडेर गाएको त्यो बैशाख १२ ।