डेरा आउँदा टेलिभिजनमा राजाको घोषणा आइरहेको थियो
लोकतन्त्र दिवस विशेष
भरतमोहन अधिकारी
हाम्रो असहमतिको जानकारी हुँदाहुँदै पनि राजाले २०६३ साल वैशाख ८ गते वक्तव्य निकाले । वक्तव्यमा ‘आन्दोलनकारी पार्टीहरूले प्रधानमन्त्रीको नाम दिएमा उसैलाई प्रधानमन्त्री बनाएर जनताको नासो जनतालाई नै सुम्पने’ भन्ने आशय थियो । हामीले राजाको वक्तव्यलाई मान्यता दिएनौं । त्यो त्यसै फिस्स हरायो । ९ गते आन्दोलनले झन् चर्को रूप लियो । राजधानीको चक्रपथमा मात्र लाखौंलाख जनता भरिए । राजा वार्ताको लागि अरू उपाय खोजिरहेका थिए । उनमा छटपटी बढिरहेको थियो । आन्दोलनको ज्वाला झनै दन्किरहेको थियो । गिरिजाबाबु र माधव नेपाल वार्तामा संलग्न हुनुहन्थ्यो जस्तो लाग्छ । म संलग्न नभएकाले यस विषयमा मलाई केही जानकारी भएन । म त पार्टीको जिम्मेवारीअनुसार आन्दोलनमा लागिरहेको थिएँ ।
वैशाख ११ गते साँझ म कलंकीस्थित आफ्नै डेरामा बसिरहेको थिएँ । महासचिव माधव नेपालको फोन आयो ।
‘तपाईं आज कतै नजानुस् है, म राति तपाईंकहाँ बस्ने गरी आउँछु’, उहाँले भन्नुभयो ।
महासचिव नेपाल साँझ साढे सात बजेतिर मेरो डेरामा आइपुग्नुभयो । हामी दुईजना खाना खाएर कुरा गरिरहेका थियौं । साढे आठ बजेतिर फोनको घन्टी बज्यो । मैले फोन उठाएँ । उताबाट ‘महासचिव माधव नेपाललाई खोजेको’ भन्ने आवाज आयो । दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनले फोन गर्नुभएको रहेछ । मैले माधव कमरेडलाई फोन दिएँ ।
फोनमा महर्जनले ‘अहिल्यै भेटेर कुरा गर्नुप-यो’ भन्नुभएछ । माधव कमरेड मानिरहनुभएको थिएन ।
‘यहाँ गाडी पनि छैन । रातको नौ पनि बजिसक्यो । भोलि बिहान बसेर कुरा गरौंला’, माधव कमरेड भनिरहनुभएको थियो ।
‘होइन, होइन आजै राति बसेर सल्लाह गरौं’, महर्जन आग्रह गरिरहनुभएको थियो ।
‘कहाँ बस्ने त ?’, निकै आग्रह गरेपछि माधव कमरेडले सोध्नुभयो ।
‘गिरिजाबाबुको घर महाराजगन्जमा बसौं’, पशुपतिजीले भन्नुभएछ ।
‘गिरिजाबाबुसँग कुरा भएको छ त ?’, माधव कमरेडले सोध्नुभयो ।
‘भइसक्यो, उहाँले हुन्छ, आउनुहोस् भन्नुभएकाले मैले तपाईंसँग कुरा गरेको हुँ’, पशुपतिजीले भन्नुभएछ ।
माधव कमरेडले फोन राख्नुभयो ।
‘तपाईं पनि हिँड्नुपर्छ, ल जाऔं’, उहाँले भन्नुभयो ।
साढे ९ बजे हामी दुईजना मेरो डेराबाट निस्कियौं । कोठाबाट बाहिरिँदै गर्दा अमृत बोहोरालाई पनि सँगै लिएर जाने सल्लाह भयो । अमृत कमरेडलाई लिएर महाराजगन्ज पुग्दा १० बजिसकेको थियो । गिरिजाबाबुकहाँ नोना कोइराला, दीलेन्द्र बडु, महेश आचार्यलगायतका कांगे्रसका नेताहरू हुनुहुन्थ्यो । हाम्रो पार्टीबाट हामी तीनजना थियौं । दरबारबाट मुख्यसचिव पशुपतिभक्तजी मात्र हुनुहुन्थ्यो । हामी सबैजना राउन्ड लगाएर बसेका थियौं ।
‘म एउटा ड्राफ्ट टक्र्याऊँ ?’, पशुपतिजीले गिरिजाबाबुसँग अनुमति माग्नुभयो ।
‘हुन्छ’, गिरिजाबाबुले भन्नुभयो ।
पशुपतीजीले एउटा ड्राफ्ट गिरिजाबाबुलाई दिनुभयो । ड्राफ्ट एक कपी मात्र रहेछ । गिरिजाबाबुले हेरेर हाम्रो महासचिवलाई पढ्न दिनुभयो । माधव कमरेडले पढेर मलाई दिनुभयो । मैले अमृत बोहोरालाई दिएँ । त्यसपछि महेश आचार्यले हेर्नुभयो । यसरी सबैले पालोपालो गरी त्यो ड्राफ्ट पढ्यौं ।
‘गिरिजा दाजु, म केही कुरा भनौं’, महेश आचार्यले भन्नुभयो ।
उहाँले ड्राफ्टमा भएका त्रुटिहरू सच्याउन औंल्याउनुभयो, जुन जायज थिए ।
‘काका, म पनि केही कुरा राखौं’, मैले भनें ।
म गिरिजावाबुलाई काका भन्थें ।
‘हुन्छ, भन’, गिरिजाबाबुले भन्नुभयो ।
‘यो ड्राफ्टमा प्रतिनिधिसभा पुनस्र्थापना गरिबक्सेका छौं भन्ने हरफसम्म ठीक छ । तर, त्यसभन्दा तलका कुरा मिलाउनुपर्छ’, मैले भनें ।
ड्राफ्टमा ‘प्रतिनिधिसभाको बैठक कहिले, कुन समयमा, कहाँ बस्ने भन्ने विषयमा सभामुखले राजनीतिक पार्टीका नेताहरूसँग परामर्श गरेर जाहेर गर्ने’ भन्ने उल्लेख थियो । मैले त्यही नमिलेको बताएँ । त्यसको साटो ‘प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते दिनको चार बजे सिहंदरबारको फलानो भवनमा आह्वान गरिबक्सेका छौं’ भनेर किटानी हुनुपर्छ भनेर सुझाव दिएँ । मेरो यो सुझाव सुनेपछि पशुपतिभक्त मसँग झोक्किनुभयो ।
‘मन्त्रीज्यू, तपाईं मन्त्री भइसकेको मान्छे । संसद् बैठक आह्वान गर्ने आफ्नै प्रक्रिया हुन्छ । त्यो प्रक्रिया पूरा गरी राजाकहाँ जाहेर गर्नुप-यो’, पशुपतिभक्तजीले भन्नुभयो ।
‘पशुपतिजी, यो अरू सामान्य बेलाको जस्तो होइन । अहिले मन्त्रिपरिषद् भनेको यही हो । गिरिजाबाबु र माधव नेपाल नै हो । आन्दोलनको सिफारिसमा प्रतिनिधिसभाको बैठक हुने हो । यसमा दुविधा हुनु हुँदैन । अरू बेलाको जस्तो अहिले सभामुखमार्फत जाहेर गर्नुपर्दैन । आन्दोलनको मागअनुसार प्रतिनिधिसभा बैठक बस्ने भएकाले यसलाई सोझै राजाले आह्वान गर्नुपर्छ । प्रतिनिधिसभाको बैठक बसिसकेपछि यसले आफ्ना प्रक्रियाबाट काम गर्न सुरु गर्छ’, मैले फेरि सम्झाउँदै भनें ।
मैले यो कुरा राख्नैपर्ने कारण के थियो भने पशुपतिजीले ल्याएको ड्राफ्टमा शंका गर्ने ठाउँ थियो । राजाले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिने । बैठक बोलाउनेसम्बन्धी परामर्श गर्न सभामुख तारानाथ रानाभाटलाई जिम्मा दिने । उनले दलहरूसँग परामर्श गरेर दिन बिताउँदै जाने । यता आन्दोलन रोकिने र फेरि नयाँ खेल सुरु हुने हो कि भन्ने मेरो आशंका थियो । यस्तो चलखेल नहोस् भनेर मैले त्यो प्रस्ताव राखेको थिएँ । मेरो प्रस्ताव तर्कसंगत पनि थियो । आन्दोलनको बलले प्रतिनिधिसभा पुनस्र्थापना हुने हुनाले बैठक सोझै हुनैपथ्र्यो । पशुपतिभक्त महर्जन अझै आनाकानी गर्दै हुनुहुन्थ्यो ।
‘भरतमोहनको कुरा ठीक लाग्यो’, मेरा कुरा सुनिरहनुभएका गिरिजाबाबुले भन्नुभयो ।
‘त्यही गरौं’, माधव कमरेडले पनि भन्नुभयो ।
‘हाम्रो यो कुरा गएर राजालाई जाहेर गरिदिनुहोस् । राजाको कुरा लिएर फेरि भोलि बसौंला’, गिरिजाबाबुले पशुपतिजीलाई भन्नुभयो ।
‘होइन गिरिजाबाबु, आजै सबै टुंगो लगाउनुपर्छ’, पशुपतिजीले भन्नुभयो ।
‘११ बज्न थालिसक्यो, सरकार सुकला भएको होला, सरकारलाई पनि यो कुरा जाहेर गर्नुप-यो । भोलि बसौं न, के बिग्रन्छ र ?’, गिरिजाबाबुले भन्नुभयो ।
पशुपतिजीले मान्नुभएन । ‘होइन, सरकार पर्खेर बसिबक्सेको छ । राजा त शाही घोषणा गर्न टेलिभिजनको टोलि राखी बसिबक्सेको छ’, पशुपतिजीले नयाँ कुरा सुनाउनुभयो ।
‘अनि, हामीले उठाएको सच्याउने कुरा राजालाई नसोधी कसरी टुंगो लगाउने त ? यसबारेमा सरकारलाई सोधिरहनु पर्दैन ?’, फेरि गिरिजाबाबुले भन्नुभयो ।
‘सबै अधिकार मलाई दिइबक्सेको छ । हजुरहरूले भनेकै मिति, समय र स्थानमा बैठक आह्वान गर्ने बोलीसमेत राखेर ड्राफ्ट तयार हुन्छ । हजुरहरूले आजै संघर्ष समितिको बैठक बोलाएर आन्दोलन स्थगित गरेको घोषणा गर्नुप¥यो’, पशुपतिजी त यस्ता कुरा पो गर्न थाल्नुभयो ।
‘लौ त गर्नुहोस्, त्यसपछि हामी गरौंला’, गिरिजाबाबुले भन्नुभयो ।
गिरिजाबाबुको निवासमा पशुपतिजीसँगको कुराकानी सकेपछि हामी आफ्नो डेरा फक्र्यौं । डेरा आउँदा टेलिभिजनमा राजाको घोषणा आइरहेको थियो । हामीले लेखेकै कुरा राजा बोलिरहेका थिए । राजाले हामीले भनेबमोजिम नै प्रतिनिधिसभा पुनस्र्थापना गरिदिए । जनताको विजय भयो । खासमा राजा ठूलो घबराहटमा रहेछन् । वैशाख १२ गते बीसौं हजार मानिस नारायणहिटी पस्छन् भन्ने राजालाई परेको रहेछ । लाखौं मान्छे सडकमा ओर्लिरहेका थिए । त्यसको एउटा भँगालो नारायणहिटी आयो भने ‘हामी गोली चलाउँदैनौं, हजारौं नेपाली दाजुभाइ–दिदीबहिनीको कत्लेआम गर्न सक्दैनौं’ भनेर सेनाले राजालाई जानकारी गराएको रहेछ । त्यसकारण राजा त्यतिविघ्न आत्तिएका रहेछन् ।
(स्व. अधिकारीको ‘मेरो जीवनयात्रा’ बाट)