स्काई साइक्लिङसँग जोडिन ‘नेपाल साइकल उत्सव’ आइपुग्यो साइकल सिटी नेपालगञ्ज
पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म यो साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
अशोक सिलवाल/नेपालगञ्ज ।
पश्चिम नेपालको दोधारा चाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली धनगढीबाट ठाकुरद्वार पुगी साइकल सिटी नेपालगञ्ज आइपुगेको छ । ठाकुरद्धारबाट गुलरिया हुँदै नेपालगञ्ज आइपुगेको टोलीले भर्खरै संचालनमा आएको मेरो प्लानेटमा रात बिताउनेछ । प्लानेटले केही समयदेखि स्काई साइक्लिङ संचालन सुरु गरेको छ ।
साइकलिङको पहिलो दिन कञ्चनपुरको दोधाराचाँदनीबाट धनगढीसम्म ८५ किलोमिटर पार गरेको टोलीले कैलालीको धनगढीबाट बर्दियाको ठाकुरद्वारसम्मको १ सय २५ किलोमिटर साइकलिङ गरेको थियो । टोली ठाकुरद्धारबाट ७० किलोमिटर साइक्लिङ गरेर नेपालगन्जसम्म आइपुगेको हो । पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म यो साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको साइकल यात्रापश्चात इलामको पशुपतिनगरबाट नेपाल साइकल उत्सव टोली काठमाडौं फर्किने यात्रा टोली सदस्य मुक्ति पान्डेले बताए ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, लक्ष्मी श्रेष्ठ, नीरा बराल, अशोक सिलवाललगायत रहेको टोली सदस्य एक्सपान्सन दाहालले बताए ।
कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको सन्देश प्रवाह गर्न यो सांकेतिक साइकल प्रयास गरिएको टोली सदस्य राजेन्द्र सापकोटाले बताए ।