एकादेशको कथाजस्तो बाल्यकालको तिज
दुर्गा कार्की
तीज मेरो लागि सबैभन्दा मन पर्ने चाड जस्तै थियो ।
४ दाजु, दुई बहिनी थियौँ अनि आमा । बुवा म ८ वर्ष नपुग्दै बित्नुभएको थियो ।
दरको अघिल्लो दिन दिदी र म वरिपरि रहनुभएका आफन्तका चेलीबेटी बोलाउन हिँड्थ्यौँ । दरको दिन बेलुका साँहिलो दाजुले आफैँ मीठा परिकार चाम्रे अचार तरकारी आदि पकाउनुहुन्थ्यो । हामीलाई त्यस दिन पकाउन दिनुहुन्नथ्यो । आमालाई हामी कसैले कहिल्यै पनि भान्सामा पस्न दिएनौँ । हाम्री आमालाई सकेसम्म एक्लै सन्तान हुर्काउनु भएकोले र दु:ख खेप्नु भएकोले होला जस्तो लाग्छ भान्साका काम कहिल्यै लगाएनौँ । खिर पाक्थ्यो । सानीमाको परिवार र अरु दिदी बहिनी आएर दर खाको देख्ता खुबै खुसी हुन्थेँ म । रातिको लागि जेठो दाजुले हलुवाको बर्फी बनाएर राख्नुहुन्थ्यो र उठाएर खुवाउनुहुन्थ्यो । त्यो सबैभन्दा मजा लग्थ्यो ।
भोलि पल्ट व्रत बस्थेँ म सानैदेखि ! त्यसैले भोकाउछे सानी छोरी भनेर उज्यालो हुने बेलामा उठाएर खुवाउनुहुदो रहेछ । म थाहा पाउदैनथेँ यो कुरा । भोलिको दिन अझ रमाइलो लाग्थ्यो । नुहाइधुवाइ गरेर दिनभरी भोकै पानीसमेत नखाई व्रत बस्थेँ । दिनभरी वरिपरिका दिदीबहिनी भेला पारेर बेलुकाको पुजाको लागि फूलप्रसाद बेली चमेली भेला पार्थ्यौँ । अत्ति खुसी लाग्थ्यो । राती हाम्रो घरम हरेक बर्ष तीज पूजा हुन्थ्यो । धेरै आमा दिदी बहिनी भेला हुन्थे । हाम्रो घर मूल घर थियो ।
मैले थाहा पाउँदा आमा गाउँकै जेष्ठ । पूजा सकिएपछी प्रसाद खान पाउँदा खुसी हुन्थेँ । दियो रुङ्नुपर्थ्यो । दियो रुङ्दा दियोको चामल र पैसा पाइने हुनाले रातभरि नसुती बस्थेँ ! भोलिपल्ट बिहान सबै फूलपाती नजिकैको खोलामा लगेर सेलाउथ्यौँ । लिएर जाँदा कम रमाइलो दुदैनथ्यो । यसरी तीज बिसर्जन हुन्थ्यो । आज सम्झदा एकादेशको कथा जस्तो लाग्छ । अहिले न आमा हुनुहुन्छ न बर्फी खुवाउने दाजु नै ! भएका माइती टाढा हुनुहुन्छ ! तीज पनि फरक भैसकेको छ । सायद समयको माग हो ।
सबैमा तीजको हार्दिक शुभकामना !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)