सुदूरपश्चिम होइन, सुन्दरपश्चिम भन्थे, हो लाग्यो

आउनुस्, फोटो खिच्नुस्

कमल बयेली

तानसेन पुग्दानपुग्दै थाकिसकेको थियो यो ज्यान । पोखरा–तानसेन सडकमार्ग छ नै थकाउने । चाउचाउजस्तो जिकज्याक सडकमा पिङ खेलेको जस्तो । पाल्पाको बर्तुङदेखि बटौलीतर्फ आरालिँदा देखिने तानसेन बजारको दृश्यले भने सम्पूर्ण थकान गायब भयो । पाउमा रामपुर फाँट लमतन्न सुतिरहेको, शीरमा श्रीनगर डाँडो अनि त्यसमा सल्लाघारीको झिल्के टोपी । आसपासका मनमोहक डाँडाकाँडा । नेपालको दार्जीलिङ भनेको सुनेको थिएँ, साँच्चै हो लाग्यो । अझ यसलाई त काठमाडौंको भाइ पनि भन्छन् क्यारे ।

पोखराबाट गएर लुम्बिनीमा बास पर्यो । खास त बटौलीमै बस्नुपर्ने हो तर बुद्धको जन्मस्थल हेर्ने रहरले डोर्याइछाड्यो । साँझ चार बजेतिर पुगेकाले करिब दुई घण्टाजति घुम्ने समय पाएँ । मायादेवी मन्दिर परिसर असाध्यै मनोहरी लाग्यो । हुलका हुल विदेशी भिक्षुहरू प्रार्थना गरिरहेका, ध्यान गरिरहेका । शान्तिका दूत गौतम बुद्ध भन्ने भनाइ सार्थक हुने शान्ति । राजा शुद्धोदनको दरबारका भग्नावशेषहरूले इतिहासका पाना पल्टाइरहेका झैं लाग्ने । लुम्बिनी क्षेत्रमा पूरातात्विक सामग्रीको खोजीमा उत्खनन् भइरहेको रहेछ । उत्खनन गर्नेहरू विदेशी नै देखिन्थे । बेलायती, जापानी पूरातत्वविद्हरू । जर्मन नागरिक फुहररले पत्ता लाइदिएको बुद्धको जन्मस्थलमा आजसम्म पनि विदेशीहरूले नै तनमनले खोज गरिरहेका छन् । यो स्वदेशी र त्यो विदेशी भनेर नथाक्नेहरूको यो देशमा आफ्नै देशका बुद्धको उचित वास्ता किन हुन नसकेको होला भन्ने सुइरोले घोचिरह्यो ।

लुम्बिनीलाई एक रात दिएर निस्कें वीरेन्द्रनगरतिर । बुलबुल ताल हेर्ने उत्सुकता टाँसिएको थियो । ‘सुर्खेत बुलबुल ताल … आजदेखि सुनेको हो र ?

सुर्खेतसम्मको यात्रा निकै डिस्ट्रब्ड् रह्यो । खूब पढौंला भनेर पुस्तक हेर्दै थिएँ एकाग्र हुनै सकिनँ । यसको कारण थिए अगाडि बस्ने युवा र बायाँतिर सिटमा बस्ने दुइटी युवती । म आमा उपन्यास पढ्न खोज्दै थिएँ, अगाडिको युवा तरुनी ताक्दै थियो । कुकुर भुक्नाले भन्दा मान्छे बोल्नाले बढी बाधा पुग्ने रहेछ । कारण मान्छेले बोलेको बुझिन्छ । बुझ्ने कुरा मात्र भए त केही थिएन, तातोतातो कुरा पर्यो र पो मार्यो त । यो बबुरोको ध्यान किन भंग हुँदैनथ्यो ।

“सल दिनू न बैनी । स्याँठले टाउको दुख्यो, बान्नुपर्यो ।”

“आफ्नै पाइन्ट खोलेर बान्नु नि ।”

ती युवायुवती चटारिन लागे । दुइअर्थी झटारो हानाहान । हनाइसँगै खितितिखितिति पनि । जुम्लातिरका एक जना बुढ्यौली लागिसकेका पुरुष भुइँमा पल्टाइएको बोरामा बसेका थिए । हामी बसेको र ती दुइटी बसेको सिटहरूको बीचमा । ती युवाले तिनै बूढोलाई उल्लीबिल्ली पार्न लागे, “यो बाजेलाई त केटीको बास खूब मन पर्छ कि क्या हो । केटीसँगै टाँस्सिएर बस्नुभाछ नि ।’

सुत्केरीको निहुँ पारी टाउको खाने चाल देखेर बाजे मुसुमुसु हाँसिरहे ।

कोहलपुरदेखि छिन्चुसम्मको यात्रा यस्तै रह्यो । छिन्चुमा ती युवा ओर्ले । छतमा सामान झार्ने क्रममा थाहा भयो ती त इन्डियन आर्मी रहेछन् छुट्टीमा घर आएका । पहिले नखरा पार्ने ती युवतीहरूले छुट्ने बेला भने खल्लो माने । लाहुरेले नम्बर दिए । टिप्नलाई कलम थिएन सायद, कण्ठाग्र होस् भनेर होला पटकपटक सोध्दै थिए । मलाई पनि मुखाग्रै भयो — ९८४८०….४२३ । गाडी सुर्खेततिर सोझियो । मैले उनीहरूलाई हेरें । गुलियो बाइबाइ साटासाट हुँदै थियो ।

वीरेन्द्रनगर पुग्दा साँझ खसिसकेको थियो । बसपार्कमा एक जनाले इतिहास सम्झाइदिए । उनी अमिताभ वच्चनजस्तै अग्ला कदका थिए । भन्दै थिए, “खाना खाएपछि सित्तैंमा बास पाइन्छ है हजुर !” म छक्क परें । उःबेला भीमफेदीदेखि काठमाडौं यात्रा गर्दा बुटवाहरूले ढिँडो खाइदिएपछि सुत्न पैसा तिर्नुपर्दैनथ्यो रे । राणाकालमै छु कि जस्तो लाग्यो ।

म उनकोमा गइनँ । सस्तो, राम्रो र भरपर्दो बास खोज्न केही बेर भौँतारिएँ । भेटियो । रातको दुई सय । भातको एक सय ।

“अरू जेसुकै भए नि कोठा त सफा चाहिन्छ नि ।”

“राम्रो छ । हिजो मत्तै सिरकको खोल धोको ।”

जेजे फोहोर भए पनि धोएपछि त गइहाल्यो होला । कोठा हेरें । चल्दो रहेछ ।

बाहिर बाँसका भाटाले बारिएको थियो होटलको डाइनिङ । दाउरा बालेर नै पकाइने रहेछ । भान्सा बाहिरै थियो । सफै थियो । तर रक्सीबाजहरूको अखडा जमेकोले मैले कोठामै खाने निधो गरें ।

खाना माथि नै लिएर गएँ । खाना खाँदै गर्दा मेरो साइत बिग्रियो । ढोकाको भित्री पाटोमा लेखिएको रहेछ— असिम प्लस देबिसरा । ठ्याक्कै यही हिज्जे थियो । केटा र केटीको नामले कसरी साइत बिग्रियो भन्नुहोला पाठकवृन्द ! खास कारण अर्कै छ । त्यसको मुन्तिर लेखिएको थियो— … खा प्लस … खा । यी खाली ठाउँमा भएका शब्द म यहाँ लेख्न सक्दिनँ । त्यसैले जुँगा मात्र चलाएको । मुख फोहर गर्नुभन्दा फलानो थोकहरू भनूूँ न ।

बुलबुल तालसँग बिदा मागी म अझ पश्चिमिएँ । धनगढीले स्वागत गर्यो । एक रात धनगढीलाई दिएँ । भोलिपल्ट बिहान फेरि साइतै बिग्रियो । बिरालोले बाटो काटेर होइन । सधैं बिरालो पाल्ने परिवारमा हुर्केको मान्छेले बिरालोमा कुसाइत देख्ने कुरै भएन । भयो के भने म धनगढी बसपार्क नजिकै बग्ने कैलाली खोलापारि तिरैतिर गोरेटो बाटोमा हिँड्दै थिएँ । गोरेटो बस्तीको आडैआड छ । घरहरू कुनै खबटाको छाना भएका छन्, कुनै फुसको छाना भएका त कुनै पक्की । मौसम अलि ठुस्किएको थियो ।

पारिपट्टि त कहीँ नभएको जात्रा पो देखिन्छ ए ! चार जना महिला टुक्रुक्क बसिरहेका । एउटी त घोर्ले नै देखिन्थी । एकाबिहानै के गर्दैछन् ? मेरा शिकारी आँखा त्यतै गािडए । थाहा पाएँ ती त आनन्दसँग हगिरहेका पो । म बुट्यानले अलिअलि छेलिएको थिएँ तर घोर्लेले देखिहालिछ ।

सबभन्दा उचाइमा हग्दै गरेकी उसले अर्कीलाई भनी, “त्यहाँ पारि हेर न हामीलाई एउटा मान्छेले हेरिरहेको ।”

“खोइ कता ?” अर्की बोली ।

उनीहरू राम्रै बुझिने नेपाली बोलिरहेका थिए ।

“खोलापारि रुखको छेलमा हेर न ।”

“के हेर्छ मा…ने । हेरेर त्यसले के पाउँछ र ?”

म कसैको चर्पीमा गएर चियाउँदै थिइनँ । म कसैले नुहाइरहेको हेर्दै पनि थिइनँ । न त म कसैले रतिखेल खेलेको हेर्दै थिएँ । म त देख्दै थिएँ एउटा जंगलीपना । पाउनु के नै थियो र ?

उनीहरू गाली गर्दै हगिरहे, म गाली खाँदै हेरिरहें ।

“आउनुस्, फोटो खिच्नुस् ।” घोर्ले इत्रिई ।

त्यतिखेरसम्म उसले मतिर अर्थात् बायाँ फिला कुर्ता तानेर छोप्ने प्रयास गरिसकेकी थिई । लाज लागेको हो कि लाज लागेको जस्तो गरेको । मसँग क्यामेरा नभएकाले उसको इच्छा पूरा गर्न भने सकिनँ ।

उनीहरू मेरा बारेमा गफिँदै थिए । एउटीले भनी, “कम्बल बेच्ने मान्छे रहेछ ।” मैले पछाडि बोकेको कालो–सेतो रङको ठूलो रुकस्याकलाई उनीहरूले कम्बल बोकेको भने । अर्की इत्रिई, “आउनुस् आउनुस् कम्बल ओढेर….!” अनि सबै गलल्ल हाँसे ।

म अवाक् भएँ । कस्ता मानिसहरू रहेछन् ।

मैले बाटो छेवैको घरमा सोधें, “हैन यतातिर मान्छेहरू ट्वाइलेट बनाउँदैनन् कि क्या हो ?”

एउटा फुच्चेले जवाफको अगुवाइ गर्यो, “तिनारु त सधैं त्यैं आउँछ ।” मैले त्यहाँका पाका मानिसहरूसँग पनि जिज्ञासा राखें । उनीहरूले भने, “हाम्रो त ट्वाइलेट छ । तिनारु त पारिबाट आउँछन् ।”

अनुमान गरें, यहाँबाट बोर्डर नजिकै पर्ने रहेछ ।

म धनगढीबाट महेन्द्रनगरतिर लागें । पश्चिम क्षेत्रबाट भारतमा काम गर्न जाने नेपालीहरूको ताँती हुँदो रहेछ महेन्द्रनगरमा । त्यहाँबाट वनबासाका लागि छुटेका टाँगाहरूमा टनाटन थिए नेपालीहरू । टाँगावालाले घोडालाई हानिरहेको कोर्रामा मैले देखिरहेको थिएँ बेरोजगारीको गोर्खेलौरी खाएका नेपालीहरू ।

महाकाली नदीमाथि बनेको प्रख्यात झोलुंगे पुलमा पुग्दा भने दाँतैमा ढुंगा लागेझैं भयो । पुल त मरुभूमिमाथि पो । महाकालीको पानी सप्पै टनकपुरले खाइदिएपछिको यो उराठ । हिउँदमा यस्तो हालत बनाएर बर्षात्मा भने भारतले सप्पै पानी नेपाललाई नै दिएर गुन लाउने रहेछ । गाउँका गाउँ उठीबास लाग्ने गरी डुबान पनि सित्तैंमा । करिब आधी घण्टामा पुल तरें । यो तराइले पुर्यायो महाकालीपारिका गाविसहरू चाँदनी र दोधारा ।

महेन्द्रनगरबाट अत्तरिया आइपुगें । त्यहाँबाट डडेलधुराका लागि हायस चढें । जति अघि बढ्यो उति उकालिँदै जानुपर्ने । भीमदत्त मार्गको यात्रा । सुन्दर प्राकृतिक दृश्यावलोकन गराउँदै गाडी उँभोउँभो लाग्यो ।

गोदावरी खोला पार गर्नेबित्तिकै राजमार्गका दुवैतिर एकेक किमि दूरीमा देखिने स्तम्भहरूले त्यो क्षेत्र कति खतरनाक छ भन्ने बोलिरहेका थिए । कारण, ती मृत्यु स्तम्भ रहेछन् । १४० किमि दूरीको गोदावरीदेखि डडेलधुरासम्मको भीमदत्त राजमार्गमा मात्र दुर्घटनामा मृत्यु भएका परविारजनले बनाएका १२३ स्तम्भ रहेछन् ।

डडेलधुराको प्राकृतिक छटाले मन्त्रमुग्ध भएँ । जंगलले ढपक्क ढाकेका सुन्दर डाँडाकाँडा, क्षितिजमा हिमश्रंखला । घनघस्याको उकालोले त हामीलाई स्कुल जीवनमै सुदूपश्चिमको परिचय गराएको हो । साक्षात्कार भयो । सुदूरपश्चिम होइन, सुन्दरपश्चिम भन्थे, हो लाग्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button