
एक समयको कुरा हो, म पनि सेर्तुङ गएकी थिएँ
संस्मरण
प्रतिभा सुवेदी
एक समयको कुरा हो, धादिङको तत्कालिन सत्यदेवी गाविसमा बास बस्न पुग्यौँ । डाँडाको काखमा देवीको मन्दिर, विद्यालय भएको ठाउँमा बसेका थियौँ । अत्यन्त सुन्दर थियो । बिहान फेरि तात्कालिन सेर्तुङका गाविसका लागि हिँड्यौँ । उकालो हिँड्दा थकाइ लागेर खुट्टा दुख्दा खहरे खोलाको चिसो पानीमा खुट्टा चोपलेपछि सन्चो हुन्थ्यो । रूखको छायामा एकछिन बसेपछि ताजा भएको जस्तो लाग्दथियो । आफनो देशमा पैदल हिँड्न सक्दा पनि अर्कै राम्रो अनुभूति हुने रहेछ । विभिन्न किसिमका प्राकृतिक छटा अनि जति उकालो गयो त्यति चिसो हावा ।
त्रिशुलीबाट हिँडेको चौथो दिन बल्ल सेर्तुङ गाविसमा पुग्दछौँ । यो गाउँ आइपुग्नुअघि सुन्दर बराङ गाउँ रहेछ । त्यहाँदेखि तीन घन्टा ठाडो उकालो । यो गाउँ आइपुग्दा गणेश हिमाल नजिक देखिने र अत्यन्त राम्रो मनमोहक दृश्य देखिँदो रहेछ ।
त्यस गाउँका मानिसहरूसँग कुराकानी ग-यौँ । एक जना पचास वर्षीया महिलासँग कुराकानी गरेँ । उनले उसिनेको आलु खान दिएर स्वागत गरिन् । उनको पाँच जना सन्तान जन्मिएका थिए रे । ठूलो छोरा एक्काइस वर्षका उमेरमा झाडाबान्ता लागेर मरे रे, अनि अर्कोचाहिँ दुई वर्षको हुँदा खोकी लागिरहेर मरेको रे । अब बाँकी तीन छोरीहरूमा दुई जना काठमाडौँ बसाइँ सरेकाले एउटी छोरी जो गाउँमा विवाह भएको थियो, उसको लोग्ने भनौँ ज्वाइँलाई छोरा बनाएर बसेको बताइन् ।

उनीसँग कुरा गर्दा गर्दै एक महिला बिरामी बच्चा लिएर औषधी पाइन्छ कि भन्दै आइन् । गाउँमा नौला विदेशी र सहरिया मानिसहरू गएपछि धेरै औषधीको चासो लिएर पनि आउने गर्दछन् । मैले यहाँ हेल्थ पोस्ट कहाँ छ भनी सोधेपछि उनी भन्छिन्, “मेरो ठूलो बच्चा बिरामी हुँदा हेल्थपोस्ट लगेकी थिएँ, त्यहीँ म-यो । अब मलाई त्यहाँ जानै मन लाग्दैन ।” उनलाई मनमा के परेको छ भने उनको ठूलो छोरा बिरामी हुँदा उनले हेल्थ पोस्ट लगिन् तर बाँचेन तसर्थ उनले हेल्थ पोस्ट गएर बिरामी निको हुँदैन भन्ने विश्वास मनमा पालेकी रहिछन् । घाउ खटिराले सताइएका मुख पनि नधोएका बालबालिकाहरू प्रशस्त देखिए ।
सफा चिसो हावापानी भएको यस गाउँमा पानीको झरना, छहरा छ । तर त्यो पानीलाई सफासँग प्रयोग गर्ने क्षमता नै थिएन वा चेतनाको कमी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)