चौपाया: चाहिञ्जेलको भाँडो नचाहिँदाको ठाँडो !
लघुकथाः उपाय
मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी हाल तिलोत्तमा न पा-२, रुपन्देही
‘राम! राम!! झण्डै ज्यान गएको । कस्ता असती हुन् ? चाहिञ्जेलको भाँडो नचाहिँदाको ठाँडो भने झैँ गर्छन्’, अत्तालिँदै आक्रोश पोखिन् सम्झनाले ।
‘त्यही त भन्या । अलिकतिले ज्यान बच्यो नत्र !’, नरेशले कारको स्टेयरिङ सम्हाल्दै बोले ।
‘दुध दिउन्जेल खान्छन् । तिहारमा गाई,गोरु पूजाको नाटक गर्छन् । यज्ञादि पूजापाठमा गाईकै गोबर, गहुँत र दुध चाहिने अनि अरु बेला चाहिँ घाँडो हुने’, सम्झनाको आक्रोश अझै थामिएन ।
‘सरकार पनि उस्तै छ । न त छाडा चौपाया व्यवस्थित गर्छ न त निर्यात गर्न दिन्छ । लुकिछिपी निर्यात गर्नेहरू तस्करीमा पक्राउ पर्छन् । कमसेकम व्यवस्थित तरिकाले निर्यात गरे राष्ट्रिय आय त बढ्दो हो । यता गाईगोरुले सडकमा दुःख पाउने, उता दुर्घटनाको जोखिम हुने’, नरेशले तितो ओकले ।
‘गाडीले हानेर महिनौँ सडकमा छट्पटिएको दर्दनाक अवस्था । रातमा छाडा पशुबाट खेतीबाली सत्यनास । लक्ष्मी भनी पुज्ने किसानले बालीनाली नष्ट पार्दा कुटीकुटी घाइते बनाउने । यस्तो देख्दा पनि सरकार किन मौन छ ?’, सम्झनाले करुणा भावसँगै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन् ।
‘त्यसैले त अलि पहिले पश्चिमतिरको कुनचाहिँ पालिकाले हो, सडकका गाईगोरु ट्रकमा हालेर लगि रातिमा भिरबाट गुल्टाइदिएको थियो रे !’, नरेशले पुरानो घटना स्मरण गर्न खोजे ।
‘कस्तो निर्दयी दानव रहेछ ? त्यस्तो जघन्य अपराध पनि गर्ने हो त ?’, सम्झनाको मुखबाट आगो निस्कन रोकिएन ।
‘यी छाडा चौपायालाई निकुञ्जहरूमा लगेर छाड्यो भने यिनलाई पनि खानाको समस्या हुने थिएन । किसानको खेती जोगिन्थ्यो । आकस्मिक दुर्घटना पनि हुने थिएन । बाघ, चितुवाजस्ता जङ्गली जनावरलाई जङ्गलमै आहार उपलब्ध हुनेहुनाले बस्तीमा पस्ने सम्भावना पनि कम हुने थियो । प्राकृतिक तरिकाले इकोसिस्टम पनि चल्ने । यो उपाय ठिक हुन्न त बाबा ?’, पछिल्लो सिटमा बसेर बुबाआमाको वार्तालाप सुनिरहेको सन्देशले समाधानको उपाय सुझायो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)