समाधिमा शालिक बनेर कालु पाँडे हेर्दैछन्, धौलागिरी, अन्नपूर्णा, मनास्लु, लाङटाङ र गणेश हिमाल

काजी कालु पाँडेको समाधिस्थल

प्रा. डा. वीणा पौड्याल

काठमाडौ चन्द्रागिरी नगरपालिका वडा न १ इन्द्रदहमा काजी कालु पाँडेको समाधिस्थल छ । काजी भीमराज पाँडेका छोरा हुन् उनी । तीन तहको समाधिस्थल भएकै ठाउँमा उनको पूर्ण कदको प्रतिमा बनाएर राखिएको छ । कलाको दृष्टिकोणबाट यो मूर्ति धेरै प्रशंसनीय छैन तर पनि यसले पाँडेको योगदानलार्इ स्मरण गराउँछ । पाँडेको समाधिनजिकै मनकामना मन्दिर, इन्द्रदह र भ्यूटावर भएकोले आन्तरिक पर्यटकहरु पूजा गर्न, स्नान गर्न र पिकनिक–वनभोज गर्न यहाँ आउँछन् ।

कालु पाँडेको समाधिस्थल भन्दा तल फेदीमा स्वीजरल्याण्ड पार्क नामाकरण गरेर पिकनिक स्पट बनाइएको छ । काठमाडौबाट नजिक भैकन पनि हिमालहरु (धौलागिरी, अन्नपूर्णा, मनास्लु, गणेश हिमाल र लाङटाङ) को दृश्यावलोकन पाँडे समाधिस्थलबाट गर्न सकिन्छ । समाधिस्थलमा प्रवेश गर्ने बित्तिक्कै आधुनिक खुल्ला पाटीलाई संग्रहालयको स्वरुप दिइएको छ । कालु पाँडेको संक्षिप्त जीवनी, प्रमुख कार्यहरु र गोरखा राज्यसँग सम्बन्धित केहि मूर्त सम्पदाको वर्णनसहित चित्रहरु प्रदर्शन गरिएका छन् । प्रकृतिको मनोरम दृश्य अवलोकन गर्न पाइने, छाने शैलीको मन्दिरमा मनकामना माताको दर्शनसहित सिजनमा ढकमक्क गुँरास फूलेको हेर्न पाइने, पुराणहरुमा उल्लेख आएको इन्द्रदहमा जल सेचन, स्नान गर्न पाइने भएकोले कालु पाँडेको समाधिस्थल आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

गोरखामा जनताले मन पराएका, चुनेका व्यक्ति हुन् कालु पाँडे । नेपालको आधुनिक इतिहासमा उनको विशिष्ट स्थान छ । उनको जन्म मिति एकिनसँग तोक्ने प्रमाण छैन । तैपनि वि. सं १७७० तिर उनी जन्मेको अनुमान गर्न सकिन्छ ।

पृथ्वीनारायण शाह युवराजधिराज हुदाँ (१७७९–१७९९) कालु पाँडे औपचारिक कार्यमा लागिसकेका थिए । त्यसबेला २२–२४ से राज्यको आन्तरिक र बाह्यनीति बुझेर कार्य गर्न सक्ने भाइ भारदार जसको हुन्थ्यो, त्यसले सफलता प्राप्त गर्दथ्यो । गोरखा राज्यका भाइभारदार बफादार र पूर्णतः राज भक्त थिए । गोरखाका राजाहरुलाई सफलता प्राप्त हुनुको एउटा प्रमुख कारण कालु पाँडेजस्ता भारदारको सहयोग प्राप्त हुनु थियो ।

इतिहासमा उल्लेख भए अनुसार लमजुङको राजा रिपुमर्दन शाहको नाबालक छोरा वीरमर्दन शाहसँग कालु पाँडेको जेठो छोरा बंशराजले मीत लगाएका थिए (भीम बहादुर पाँडे, राष्ट्रभक्तिको झलक, पृ १०–११) । नेपाली समाजको एउटा अभिन्न विशेषताको रुपमा मितेरी साइनोलाई लिन सकिन्छ । इतिहासको विभिन्न कालखण्ड्मा सर्वसाधारणदेखि राजा, युवराज सबैले मीत लगाएर आफ्नो सम्बन्ध प्रगाढ बनाउन खोजेको उदाहरण थुप्रै छन् । मितेरी साइनो जस्तै विवाह गरेर पनि एउटा परिवार र अर्को परिवारको सम्बन्ध बलियो बनाउने प्रचलन थियो । कालु पाँडेको जेठी छोरी चित्रावतीको विवाह शिवराम बस्नेतको छोरा कहरसिंहसँग भएको थियो ।

गोरखा र कीर्तिपुरको युद्ध

न्वारनमा वंशीधरको नाम पाएका पाँडेलाई धेरैले कालु भनेर सम्बोधन गर्थे । पृथ्वीनारायण शाहले पनि माया गरेर कालु भनेर बोलाउँथे । पृथ्वीनारायण शाह भन्दा ८–९ बर्ष जेठो पाँडे राजनैतिक र सामाजिक कार्य गर्न, ब्यबहार मिलाउन सारै सिपालु थिए । वि. स. १७९७ को लमजुङ राज्यसँग सन्धि गर्ने वातावरणको नेतृत्व कालु पाँडेले नै लिएका थिए । नेपाल एकिकरण गर्न लमजुङ राज्यसँग सुमधुर सम्बन्ध आवश्यक छ भन्ने कुरा कालु पाँडेले पृथ्वीनारायण शाहलाई बुझाउन समर्थ भएका थिए । उनकै प्रयत्नले सन्धि गर्न लमजुङको राजा रिपुमर्दन चेपेघाटमा आए, पृथ्वीनारायण पनि नरभूपाल शाहको छाप लिएर चेपे पुगे ।लमजुङ र गोर्खाबीच एकले अर्कालाई आक्रमण नगर्ने र परेको खण्डमा सहयोग गर्ने सर्तमा सन्धि भयो ।

कालु पाँडे ले चतुराईपूर्वक सबै ब्यबस्था मिलाएर काम फत्ते गरे । पाँडेको बारेमा राजा पृथ्वीले धेरैपल्ट बोलेका छन्, दिब्य उपदेशमा पनि उनले कालुको प्रशंसा गरेका छन् ।

गोरखा दरबारका अर्का भारदार बिराज बखेतिको बोलिचालि र कामबाट पृथ्वीनारायण सारै प्रसन्न थिए, उनैलाइ काजी बनाउने सोचमा थिए । विभिन्न नीतिहरुको अध्ययन गरेकाले जनताको राय बुझ्ने विचार गरेर एकपल्ट ठाउँ–ठाउँमा बिराज बखेति र कालु पाँडेको बारेमा गोप्य रुपले कुरा बुझ्दै गए ।अधिकांश जनताले कालु पाँडेलाई रुचाएको थाहा पाएपछि पृथ्वीनारायणले काजी पद कालु पाँडेलाई प्रदान गरे । वि. स. १८०२ तिर नालदुम, महादेवपोखरी र लामी डाँडा कालुपाँडेले सजिलै कब्जा गरे । वि. सं. १८१२ तिर पृथ्वीको आदेशले कालुले चित्लाङको बाटो गरी फर्पिङ मा पुगेर बुङमति र खोकना सर गर्दै पाटनतिर सोझिए । जयप्रकाश युद्धको लागि तैयार थिएनन् । उनले केहि रकम पृथ्वीलाई बुझाएर झगडा सामसूम पारे । आर्थिक लाभ भएपछि गोरखालीहरु पनि शान्त भए ।

कीर्तिपुर आक्रमण

कीर्तिपुरमा आक्रमण गर्ने साइत जुरेको छैन भनेर कालु पाँडेले परिस्थितिको जानकारी पृथ्वीनारायण शाहलार्इ गराए तर युद्ध गर्न खुट्टा उचालिसकेका उनले कालुको कुनै पनि कुरा सुनेनन् । उल्टै कालु पाँडेलाई युद्ध गर्न डराएको आरोप लगाए । केहि नलागेपछि कालु पाँडे सेनासहित युद्धमा गए ।

वि. सं. १८१४ जेष्ठ १९ गते बिहान सबेरै कालु पाँडे १२०० जति सैनिकको डफ्फा लिएर कीर्किपुर आक्रमण गर्न दहचोक गढीबाट प्रस्थान गरे । पृथ्वीनारायण शाह पनि कालु पाँडेको डफ्फासँगै युद्ध लड्न गए । गोरखाको राम्रो तैयारी थिएन । कीर्तिपुरको राम्रो सैन्य ब्यबस्था र अग्लो भौगोलिक बनोटले गर्दा गोरखालाई युद्ध लडन निकै कठिन भयो ।

तल समतल थलो बल्खूमै गोरखाका धेरै सेना मारिए । कालु पाँडेले ज्यान हत्केलामा राखेर युद्धको संचानल गरिरहे । कीर्तिपुरको युद् मा कीर्तिपुरेहरुको ब्यबस्थापन र गोरखाका राजाको हतारोपन दुबै प्रष्ट देखियो । (गंगा हाडा, काजी कालु पाँडे र कीर्तिपुरको पहिलो युद्ध, सिनास जर्नल)

यहि युद्धमै गोरखाका होनहार काजीले मृत्युवरण गरे । पृथ्वीनारायण शाह पनि ज्यान बचाउन भागाभाग गरेर फर्किए । कीर्तिपुरमा नराम्रोसँग हारेपछि “काल्याले (कालु पाँडे( त भन्याथ्यो मेरो हट्ले लडाई बिगर्यो” भन्दै पृथ्वीले पुरपुरोमा हात राखेर पछुतो गरे ।

जनताले मनपराएकोले कालु पाँडे को विशेष रवाफ थियो । उनको शिर सधै उचा हुन्थ्यो । विदेशीले समेत सम्मान गरेका कालुको नेपालमा त्यति सम्मान पुगेको छैन । दहचोकमा एउटा प्रतिमा र मलेखु, धादिङ मार्गलाई कालु पाँडे मार्ग नामाकरण गरेर उनीप्रति सद्भाव दर्शाइएको छ । दहचोकको समाधिस्थल २०७८ श्रावण २२ गते उद्घाटन भएदेखि त्यस थलो आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न सफल भएको छ ।

कालु पाँडेको समाधिस्थल मा विविध कार्यक्रम हुने गरेको छ । चन्दागिरी नगरपालिका वडा न. १ स्थित ऐतिहासिक, धार्मिक, पुरातात्विक पर्यटकिय स्थलको रुपमा कालु पाँडेको समाधिस्थलले प्रसिद्धि पाउँदै छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button