‘साइकल चलाउनु ८ वटा रुख रोप्नु हो’

साइकलमार्फत पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन सूर्यास्त (महाकाली नदी किनार) बाट सूर्योदय (इलामको अन्तुडाँडा) सम्म हामी २४ दिने साइकल यात्रामा छौं ।

अशोक सिलवाल / स्वर्गद्धारी, प्युठान

हामी नेपाल साइकल उत्सव २०७७ मा छौं । यो यसप्रकारको नेपालकै सबैभन्दा लामो र पहिलो साइकल यात्रा हो । हामी भर्खरै प्युठानको स्वर्गद्धारी आइपुगेका छौं । पहिलो दिन काठमाडौंबाट हिडेका हामीले त्यो रात रुपन्देहीको सैनामैनानजिकको गजडी तालमा बितायौं र दोस्रो रात दोधाराचाँदनीको पुलमुनि । तेस्रो रात कैलालीको धनगढी, चौथो रात बर्दियाको ठाकुरद्धार, पाँचौ रात बाँकेको नेपालगञ्ज, छैटौं रात दाङको अमेलिया, सातौं रात दाङकै पान्डवेश्वरमा बिताएको विश्व साइकलयात्री पुस्कर शाह नेतृत्वको साइकल टीम स्वर्गद्धारी आइपुगेका छौं । कोभिड-१९ ले कोमामा पुगेको नेपाली पर्यटनलाई आन्तरिक पर्यटनमार्फत व्युझाउँन आयोजित यो साइकलयात्राबारे स्वर्गद्धारी हिंड्नुअघि एशियाकै विशालतम दाङ उपत्यकामा विश्व साइकलयात्री शाहसँग नेपालनाम्चाले गरेको यात्रा संवाद:

नेपाल साइकल यात्रा–२०७७ । सबभन्दा पहिला यसबारे थोरै बताइदिनु न ।
कोभिड-९ ले आक्रान्त भएको यो समयमा पर्यटन व्यवसाय एक प्रकारले ध्वस्तजस्तै भएको छ । र, स्वस्थ रहेर कोभिडलाई जित्न सकिन्छ र साइकल पर्यटन अबको पर्यटन हो भन्ने हाम्रो बुझाई हो । र, साइकलमार्फत पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन सूर्यास्त (महाकाली नदी किनार) बाट सूर्योदय (इलामको अन्तुडाँडा) सम्म हामी २४ दिने साइकल यात्रामा छौं ।


सामान्यतया ‘सूर्योदयबाट सूर्यास्त’, ‘इस्ट टु वेस्ट’ वा ‘मेची–महाकाली’ भन्ने चलन छ । तर, यहाँ शाब्दिक रुपमा हेर्दा पोस्ट्मोर्डनिजम देखिन्छ, जस्तो, ‘सूर्यास्तबाट सूर्योदय’, ‘वेस्ट टु इस्ट’ र ‘महाकाली–मेची’ । यसबाट के सिम्बोल गर्न खोजिएको हो ?
पश्चिमलाई राज्यले जहिल्यै पनि सुदुरपश्चिम भनेर नामाकरण गर्यो । पश्चिम पनि राज्यको अभिन्न अंग हो भन्ने हाम्रो सोच हो । र, सबै मान्छेको मुखमा झुन्डिएको शब्द मेची–महाकाली । तर, महाकाली–मेची किन हुँदैन भनेर सूर्यास्तदेखि सूर्योदयसम्म रोजेका हौं ।


नेपाललाई एक किसिमले भन्ने हो भने यो यात्राले सिम्बोलिक रुपमा पुनरव्याख्या गर्दैछ, ‘किन हामी अर्को कोणबाट पनि नहेर्ने ? महाकाली–मेची किन नभन्ने ?’ यात्राको थिम यो हो ?
त्यही हो । राज्यको सबै भाग र भुभागहरु (हिमाल, पहाड, तराई) अथवा पूर्व–पश्चिम र उत्तर–दक्षिण कुनै पनि भागहरु सुदुर हुँदैनन् । सुदुर भन्ने शब्द नै एक प्रकारले टाढा सुनिन्छ । त्यसकारण यो सुदुर होइन, सुन्दर पश्चिम हो भनेर हामीले सुन्दर पश्चिमलाई यात्राको प्रारम्भविन्दु बनाएका हौं ।


यात्रा २४ दिनको र कम्प्लिट साइक्लिङ २१ दिनको ।
हजुर ।


यो २१ दिनका हाइलाइट्सहरु त हामी यात्रामा फिल गर्दै जानेछौं । तर, पनि तपाईंको हाइपोथसिस् के हो ? यसका हाइलाइट्सहरु के के हुन सक्छन् ?
यो यात्राले नेपालको बाइसवटा जिल्ला छुन्छ । त्यो सँगसँगै यो यात्रा सुन्दर पश्चिमको कैलाली कन्चनपरको थारु संस्कृतिदेखि पूर्वको इलाममा राइलिम्बुको संस्कृतिसम्म पुग्छ एउटा कुरा, अर्को कुरा खानाका विविधताहरु, भाषाका विविधताहरु अनि प्राकृतिक विविधताहरुलाई पनि यसले उजागर गर्छ ।


भनेपछि साइक्लिङ भनेको सडकमा पाङ्ग्रा अगाडि बढाउनु मात्र होइन रहेछ ।
साइकल त एउटा माध्यममात्र हो । शाररीक रुपमा अलिकति अप्ठ्यारो भए पनि साइकलमा हिंड्दा प्रत्यक्ष रुपमा प्रकृतिसँग नजिक भइन्छ । खोला, झरना, तालतलैया, जंगल, राष्ट्रिय निकुञ्जहरु अथवा त्यहाँका स्थानीय मान्छेहरुसँग प्रत्यक्ष सम्पर्क हुन्छ । त्यसकारण साइकल साधन मात्र हो । साइकलचाहिँ गुड्नेमात्र होइन, यसले जोड्ने चेन हरेक प्रकृतिको हरेक विषयमा हुन्छ ।


‘नेपाल साइकल उत्सव रेस होइन, र्याली हो र र्याली भनेको इन्जोई द भ्याली हो’ साइकल यात्राको सुरुवात गर्दा दोधाराचाँदनीको पुलमुनि तपाईंले भन्नु भएको थियो । तपाईंले यस्तै खालको ट्रिप पहिले गर्नु भएको थियो ?
म एक्लैले त नेपालको सबै जिल्लाहरु घुमिसकेको छु साइकलमा । तर, यसरी पर्यटन प्रवद्र्धन गर्ने सन्देशमुलक उद्धेश्यसहितको यात्राचाहिँ पहिलो पटक हो । र, अब सम्भवत् नेपालको सबैभन्दा लामो साइकल र्याली हुन्छ यो । त्यही भएर यो रेस होइन, र्याली हो त्यसैले हामीले इन्जोई द भ्याली भनेका हौं ।


र्याली भएकैले नेपाल साइकल उत्सवको बीचबीचमा देशका विभिन्न शहरहरुबाट अनेक साथीहरु जोडिइरहेका पनि छन् । होइन ?
हो । एउटा शहरबाट अर्को शहरसम्म हामीलाई त्यो शहरका साइक्लिस्ट साथीहरुले पुर्याउँछन् । फर्किन्छन् । उनीहरु मिसिन्छन् र फेरि छुट्छन् । हामी यो यात्रामा नेपालको लगभग ३६ वटाभन्दा बढी शहरहरुमा पुग्छौं र ती शहरमा भएका साइकल साथीहरुले हामीलाई बिदाई, सम्मान वा र्यालीमा मिसिएर आत्मीयता देखाइरहेका छन् ।


यो यात्राको बीचबीचमा मान्छेहरु भेटिन्छन् । कतिलाई तपाईंले चिन्नु हुन्छ । कतिलाई व्यक्तिगत रुपमा चिन्नुहुन्न । तर, उनीहरु तपाईंलाई चिन्छन् । फोटो खिच्न आउँछन् । तपाईंलाई आफ्नै छोरो, भाईदाई जस्तो गर्छन् । तपाईंको किताब पनि छ, संसारलाई साढे पाँच फन्को । पर्दाको नायक त होइन तपाईं । तर, पर्दाको नायकजस्तै पाइरहेको छु मैले । कस्तो फिल हुने गर्छ ?
म त एउटा सामान्य मान्छे हो । साइकलमा हिंड्ने मान्छे । धेरै साइक्लिस्ट साथीहरुले मलाई आइडल ठान्छन् । र, म साइकलमा संसार घुमेको नाताले मान्छेहरुलाई मसँग फोटो खिच्न पाए हुन्थ्यो भन्ने उत्सुकता र चाहना हुन्छ ।


बीचबीचमा साइकल साथीहरु, जस्तो रुपन्देहीमा गगन राना र टीम, धनढीमा भरतविक्रम शाह एन्ड टीम, धनगढीवर लम्कीमा यमलाल रसाइली, नेपालगञ्जतिर आइपुग्दा गगन थापा एन्ड टीम, दाङमा केवि न्यौपाने, अशिष पान्डेलगायतका थुप्रै साइकल साथीहरु भेटिनुभयो । उहाँहरको फिड्ब्याक के छ ?
हामीसँग सुन्दर पश्चिमको धनगढीदेखि पूर्वको इलामैसम्म साइकल सिटीको सपना बोकेका थुप्रै साइकल साथीहरु छन् । हाम्रो साइकल सिटी भन्ने सपनाको उद्धेश्यमा उहाँहरुको साथले हामीलाई एकदमै उर्जा मिल्छ । हरेक दिन साँझ हामीलाई साथीहरुले पर्खिरहेका हुन्छन् । भोलिपल्ट बिहान छोड्नका लागि धेरै परपरसम्म आउँछन् । जस्तो कि धनगढीका भरतविक्रम हामीसँग ४ दिन हिँडे । उहाँहरुको एकदैम सकारात्मक फिड्व्याक छ ।


यो नेपाल साइकल उत्सव जो नेपाल साइकल यात्रामा छ, टीमको बारेमा केही भन्नुहुन्छ कि ?
यो टीममा प्रकृतिलाई माया गर्ने, साइकललाई माया गर्ने, आफू स्वस्थ रहने र आफु हिंडेका, उभिएका, आफू दौडिएको समाज र शहरलाई पनि स्वस्थ राख्ने सकारात्मक सोच भएका मान्छेहरुको बाहुल्यता छ ।


नेपाल साइकल उत्सवलाई क–कसले सपोर्ट गरेको छ ?
यो उत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने टान, नाटा र एनएमएसँग पनि हाम्रो सहकार्य रहेको छ । र, स्थानीय साइकल क्लव र साइकल साथीहरुसँग त सँगसँगै छौं नै ।


उत्सवसँग जोडिएका प्रत्यक्ष कुराहरु त भए तर अलिकति ट्र्याकबहिर आएँ म । आमरुपमा तपाईंलाई साधिने प्रश्न पनि होला यो, ‘साइकल जीवनमा कति महत्वपूर्ण छ ?’
साइकलले हाम्रो जीवनमा ३ वटा तरिकाले मुख्य प्रभाव पार्छ । एउटा आर्थिक, अर्को स्वास्थ्य र अर्को वातावरण । १) आर्थिक, दैनिक साइकल कुदाउने हो भने दिनमा १ लिटर पेट्रोलको आवश्यकता पर्दैन । १ लिटर पेट्रोलको आवश्यकता नपुर्न भनेको दिनमा सय रुपियाँको आवश्यकता नपर्नु हो । त्यो भनेको दैनिक १ सय रुपियाँ बचत हुनु हो । त्यो भनेको महिनामा ३ हजार रुपियाँ हो । ३ हजार रुपियाँ भनेको घरमा श्रीमतीलाई अथवा आमालाई तपाईं २ सिलिन्डर ग्याँस दिनसक्नु हुन्छ । २) स्वास्थ्य, हामी दैनिक रुपमा साइकल कुदाएर घर–स्कुल, घर–कलेज, घर–अफिस वा पार्कतिर घुम्न जाने हो भने अरु कसरतको लागि जिमखानाहरु गइरहनुपर्दैन । साइक्लिङ पौडीपछिको सबभन्दा बढी कसरत हुने खेलकुद हो । दिनमा २०–२५ किलोमिटर साइकल कुदाइयो भने स्वस्थ भइन्छ, रहिन्छ । ३) वातावरण, दिनमा १ लिटर पेट्रोल हाल्दा त्यसबाट निस्कने कार्बनडाइअक्साइडलाई खपत गर्नको लागि ६ देखि ८ वटा रुख चाहिन्छ । त्यसकारण साइकल कुदाउनु वा मोटरसाइकल अथवा गाडी नकुदाएर १ लिटर बचाउनु भनेको ६ देखि ८ वटा रुख रोप्नु बराबर हो । त्यसकारण साइकलिस्टहरु आफू पनि स्वस्थ हुन्छन् । र, आफ्नो समाजलाई पनि स्वस्थ राख्छन् । साइकलका यी ३ विशेषताले हाम्रो जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ ।


तपाईले धनगढीबाट हिंड्नुअघि ब्रिफिङमा भन्नु भएको थियो, ‘बाटोमा केरा पाए केरा खाउँ । बदाम पाए बदाम ! निबुवा पाए निबुवा खाउँ । २० को दरले ५ वटा निबुवा किने स्थानीयले सय रुपियाँ पाउँछन् । त्यो उनीहरुको लागि ठूलो पैसा हो ।’ त्यसो भनेर तपाईंले साइकल साथीहरुलाई आन्तरिक पर्यटन र त्यसको प्रतिफलसँग जोड्न जोड गर्नुभएको थियो । आन्तरिक पर्यटन र यो साइकल यात्रालाई जोडेर थप केही भन्नु हुन्छ ?
आन्तरिक पर्यटन प्रवद्र्धनको लागि त्यो हाम्रो साइकल टीमको सन्देश हो । केही पैसा बोकेर स्थानीय उत्पादनमा खर्च गर्यो भने त्यसले सामान्य मान्छेको जीवनमा आर्थिक सहयोग पुग्छ ।


केही दिनदेखि नेपाल साइकल उत्सवमा तपाईं र टीमसँग सहयात्रा गरिरहँदा मलाई छोएको अर्को विषय छ, साइकल र संगीत । यी दुईको कनेक्सन् ?
हरेक साँझ यात्राको थकान मेटाउनको लागि साँगीतिक माहोल बनाउँछौं । म त्यस्तो गाउने मान्छे त होइन, संगीतकार पनि होइन । तर, साँझ साथीहरुसँग एक प्रकारले भन्ने हो भने रोधी गरेर दिनभरको थकाई मेटाउनका लागि हामी केही समयचाहिँ संगीतसँग घुलमिल हुन्छौं ।


नेपालगञ्जमा तपाईंले साइकल साथीहरुमाझ बोलिरहँदा मैले रेकर्ड पनि गरेको थिएँ । त्यहाँ तपाईंले ‘साइकल आन्दोलन’ भन्ने फ्रेज प्रयोग गर्नुभएको थियो । साइकल आन्दोलन भनेको के हो ?
आन्दोलन भन्नेबित्तिकै हामी राजनीतिक विषय भन्ठान्छौं । आन्दोलन भनेको आफ्नो उद्धेश्य प्राप्तिको लागि लडिने लडाईं हो । त्यसकारण हामी साइकल आन्दोलन भन्छौं । सडकमा अरु यातायातका साधनको जति अधिकार छ, त्यति नै अधिकार साइकलको पनि हुनुपर्छ । सडकमा साइकलयात्रीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्य पुग्नपर्छ भनेर यी मुद्धाहरुलाई सरकारसमक्ष पुर्याउने एउटा अभियानलाई हामीले साइकल आन्दोलन भनेका हौं ।


हामी अझ थुप्रै दिन सँगै हुनेछौं । फेरि पनि कुराकानी गर्ने नै छौं । तर, अहिलेलाई टुँग्याउँ । तर, टुँग्याउँनुअघि अन्तिममा केही बुलन्द, विष्फोटक केही भन्न मन लागेको छ भने भन्नुस् । प्रश्नको ट्युनिङ नगेटिभजस्तो लागे पनि तपाईं पोजेटिभ उत्तर दिन सक्नुहुन्छ ।
हा हा हा । त्यस्तो विष्फोटक त के हुन्थ्यो र ! अंग्रेजी भाषामा भन्ने हो भने साइकलेहरु एकदमै ‘कुल’ हुन्छन् । त्यसैले हामी साइकलेहरु त्यस्तो विष्फोटक शब्दहरु प्रयोग गर्दैनौं । नेपालनाम्चालाई धेरै धेरै धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button