
महिला आफैले लेख्ने हो आफ्नो इतिहास

कृष्ण शर्मा
विषय प्रबेश
हाम्रो समाजले महिलालाई सौन्दर्यको पर्यायको रुपमा वस्तुकरण गरेको छ । तर महिला स्वयम् शारीरिक सौन्दर्यको सीमा भित्र वाधिने होइन । क्षमता, आत्मविश्वास र दह्रो चेतनाविनाको आवरणमा देखिने सुन्दरताले मूल्य सृजना गर्दैन । आफूभित्रको बौद्दिकतालाई तिखारेर शक्तिमा रुपान्तरण गर्दै यो समाजको अन्दाजलाई कर्मले प्रमाणित गर्न अब महिलाहरु लाग्नुपर्छ ।
बौद्दिक सुन्दरताको जगबाट सम्पादित कार्यद्वारा महिलालाई कमजोर देख्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन सकियो भने त्यो नै सम्पुर्ण महिलाहरुको स्थायी आभुषण हुनेछ ।
पुरुषलाई उसको क्षमताले होइन केवल पुरुष भएकै आधारमा समाजले प्रिभिलेज दिएको छ, उ शक्तिशाली छ, क्षमतावान छ । उसलाई कामले प्रमाणित गर्नै पर्दैन । तर महिलाहरु कर्मद्वारा समाजलाई जवाफ दिनुपर्ने विशेष चुनौति छ ।
नारी भित्र पनि छ पितृसत्ता
हाम्रो समाजले नारीलाई देवी दुर्गा महाकाली महालक्ष्मी आदि अनेकौ शक्तिको रुपमा पुजा गर्छ । अर्कोतर्फ तिनै छोरीहरुलाई पितृसत्ताको गरुङ्गो भारले थिचेको छ। परिवारमा छोरी जन्मदा, स्वयम् आमा नै छोरो पाउदा जस्तो खुसी देखिन्नन् । बंश परम्परा धान्नको लागि परिवारमा छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक मनोविज्ञानवाट महिला नै प्रताडित छन् । पुरुषलाई भन्दा वढी बंश धान्ने चिन्ता महिलालाई नै देखिन्छ । मैले देखेको छु एउटी शिक्षित महिलाले आज पनि छोरा पाउने आशामा आधा दर्जनसम्म सन्तान छोरी नै जन्माइरहेकी !
महिलाले महिलालाई विस्वास र भरोशा गर्न नसक्नु विडम्वना हो । महिलाभित्र गढेको पितृसत्ताको साम्राज्य नै महिलाको सर्वपक्षीय विकासको खतरनाक वाधक हो । महिलाले आफूभित्रको पितृसत्ताको जरो उखेल्नु पर्छ । पुरुषभित्रको पितृसत्ताभन्दा महिलाभित्रको पितृसत्ता झनै घातक हुन्छ ।
निर्णायक शक्ति महिला ?
नेपालमा २०७८ सालको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार कूल जनसंख्याको ५१.५ प्रतिशत महिला छन् र कूल जनसंख्यामा पुरुषभन्दा ६ लाख ९ हजार ८५८ ले महिलाको संख्या वढी छ । निर्वाचन आयोगको २०७९ सालको प्रतिवेदनले कूल मतदाता १ करोड ७९ लाख मध्ये ८९ लाख ९२ हजार पुरुष र ८७ लाख ४१ हजार महिला मतदाता रहेको देखाउँछ । यसरी हेर्दा जनसंख्यामा पुरुषभन्दा वढी रहेको महिला, मतदाता नामावलीमा कसरी कमि हुन पुग्यो त यो विषयको खोजी हुन आवश्यक छ । कुल जनसङ्ख्यालाई बिश्लेषण गर्दा मुलुकको निर्णायक शक्ति महिला नै हो ।
महिलाले आफ्नो मताधिकार स्वतन्त्र रुपले पुरुषको अधिनवाट मुक्त भएर प्रयोग गर्नुपर्दछ । महिलाको मताधिकारमा पुरुषको प्रभुत्व हावी भयो । श्रीमतीको मतलाई श्रीमानले शक्ति र अधिकार प्राप्त गर्न वार्गेनिङको आधार बनाए । मताधिकार जस्तो नितान्त बैयक्तिक अधिकारमा पुरुषलाई हावी हुन दिने होइन, महिला स्वयम् आफ्नो स्वविवेक प्रयोग गर्न सक्षमता राख्नु पर्छ ।
अब आफैंले लेख्ने हो इतिहास
महिलाहरु इतिहासका कालखण्डमा भएका क्रान्ति, युद्द, आन्दोलन, विद्रोह र सत्ता परिवर्तनका लागि भएका लडाइमा अग्रपंतिमा होमिएर महत्वपूर्ण भूमिका निभाएका छन् । नेपालमा राणाकालदेखि पन्चायती शासन विरुद्दको मोर्चामा होस् वा २०६२।०६३ को आन्दोलनमा, देशको राजनीतिक परिवर्तनका खातिर महिलाहरुको सक्रीय सहभागिता रहेकै हो ।
यद्धपी इतिहासमा वहादुरीका कथाहरु केवल पुरुषका मात्रै लेखिन्छन् । महिलाका योगदानको खासै चर्चा परिचर्चा हुदैनन् । त्यसैले अब महिलाका इतिहास, योगदान र गौरबका गाथाहरु स्वयम् महिलाले नै कोर्नुपर्छ । कसैले लेखिदिएन भनेर गुनासो किन गर्ने ? नयाँ युगको सुरुवात स्वयमबाट गर्ने हो । यसको लागि महिलाहरुबिच नै सहअस्तित्व र एकता हुन जरुरी छ ।
कानुन बलियो, कार्यान्वयन कमजोर
नेपालको संविधानले निर्णायक तहमा कम्तिमा तेत्तिस प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । संविधानको धारा ३८ मा मौलिक हकभित्र महिलाको हकलाई दस्तावेजीकरण गरिएको छ । राजनीतिक, प्रशासनिक, आर्थिक लगायतका सबै तहमा आरक्षण तथा समावेशीकरणको नीतिगत ब्यवस्था गरिएको छ ।
तर संविधान र ऐन कानूनमा गरिएका प्रतिवद्दताहरुलाई पुरा गर्ने दिशामा राजनीतिक दलहरु नै प्रतिवद्द छैनन् । प्रक्रिया र विधि पुरा गर्नका लागि मात्रै संख्यात्मक उपस्थिति मै सिमित गरेको महिला सहभागिता देखिन्छ । निर्णायक तहमा महिलाको उपस्थिति कमजोर देखिन्छ ।
विगतमा महिलालाई उपप्रमुख र “उप” मा थन्क्याउने ध्येयवाट संविधान र कानुनका लुपहोलहरु प्रयोग भैरहेकै थिए । संविधानमा “राष्ट्रपति र उपराष्ट्रपति फरक जातजाती वा लिंगको हुनेछ” भन्ने वाक्यांश राखेर “वा” शब्दमा खेली दुवै पदमा पुरुष हाबी भएको अभ्यास र उदाहरण हाम्रो सामु जगजाहेरै छ ।
यो घुमाउरो पितृसत्तालाई महिलाले समयमै बुझेर प्रतिवाद गर्न नसक्दा पछि परेको प्रष्ट देखिन्छ । महिलाहरुले बेलैमा जागरुक, सचेत र संवेदनशील वन्न नसक्दाका परिणाम हो यो । विगतको तुलनामा हाल शिक्षा र चेतनास्तर वढेको छ तर महिलाहरु अझै पनि आशातित सफल हुन सकेका छैनन् । महिलाहरुले राजनीतिमा आफ्नो यथोचित प्रभाव रहेन । राजनीतिक दलहरुले पनि महिलाको नेतृत्व र निर्णायक भूमिका स्विकार गर्नमा उदार देखिएन । यी यावत विषयहरुमा महिलाहरुले निरन्तर आवाज वुलन्द गर्नुपर्छ ।
नेपालमा मात्रै होइन अन्य मुलुकहरुमा समेत महिला र पुरुष विच विभेदको खाडल छ । जबसम्म समाजको एक पक्ष माथि पुग्छ र अर्को पक्ष पछाडि किनारामा पर्छ वा पारिन्छ भने मुलुक समृद्द वन्न सक्दैन । विकास र समृद्दि तब मात्र सम्भव छ जब पुरुष सगसंगै महिला पनि समानान्तर रुपले प्रतिस्पर्धामा पुग्न सक्षम रहन्छन् ।
यहाँ सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका क्षेत्रहरुमा तुलनात्मक रुपमा पुरुषभन्दा महिलाको अवस्था कमजोर छ । अवसरहरुको पहुँचमा महिलालाई सदिऔंदेखि पछि पारिएकै छ ।
नेपालको संविधानले महिलाका लागि पर्याप्त हक अधिकारको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि महिलालाई पुरुषसरह हरेक क्षेत्रमा समान हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न सम्मेलनहरु सम्पन्न गरी जारी भएका घोषणापत्रहरुमा प्रतिवद्धता जनाउदै त्यससम्बन्धमा कामहरु भएका छन । “यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” भन्ने नारीको महिमा गाइएकोबाट अनुमान गर्न सकिन्छ, हिन्दुधर्मको वेदमा पनि महिलालाई विभेद गरिएको छैन । तर सामन्ती प्रथाको उदय भएसँगै मध्ययुगबाट छुवाछुत तथा नारीप्रति विभेद सुरु हुन थाल्यो । शास्त्रहरुको गलत व्याख्या गरी नारीमाथि शोषण गरियो ।
महिला कमजोर होइनन्
प्रत्येक मानिससँग अथाह उर्जा, क्षमता र खुवी हुन्छ । महिला पनि पुरुषभन्दा कुनै पनि कोणवाट कमजोर छैनन् । कमजोर त समाजले वनाइदिएको हो। शिक्षा, चेतना, अवसर र महिलामा राज्यको लगानीमा भएको कन्जुस्याइँले गर्दा भएको हो र संरचनात्मक विभेदका कारणले महिला कमजोर बनाइएका हुन् । महिला प्राकृतिक कारणले शारीरिक रुपमा पुरुषभन्दा भिन्न छन् । सोही आधारले महिलामात्रैले निभाउनुपर्ने केही विशेष जिम्मेवारी भुमिका छन् ती महिला हुनुका कमजोरी होइनन् । यसलाई कमजोरीको रुपमा विश्लेषण गरेर पुरुष सत्ताले नारीलाई कमजोर देख्नु गलत हो भने महिलाले पनि आफूलाई कमजोर छु भन्ने मानसिकता त्यागेर आफूभित्रको अथाह उर्जा र क्षमतालाई वाहिर उजागर गर्नुपर्छ ।
अबको बाटो
हाम्रो शासन प्रणाली पुरुष प्रधान छ । अधिकांस पार्टीको निर्णायक तहमा पुरुष छन् र महिलाको नेतृत्वलाई उनीहरु सहज स्वीकार गर्दैनन् । पार्टीका संरचनाहरुमा महिलाको उपस्थिती न्यून छ । समाजको सोंच, चिन्तन लैंगिक पुर्वाग्रही छ । यावत कारणहरुले महिला राजनीतिको निर्णायक तहमा पुग्न सकेका छैनन् । सम्पत्तिमा महिलाको पहुँच र स्वायत्तता कमजोर भएका कारण आर्थिक रुपले सवल र सशक्त हुन नसक्दा पनि महिलालाई नेतृत्व तहमा पुग्न कठीन भएको हो ।
महिलाको निर्णायक तहमा उपस्थिती बढाउन गर्नुपर्ने प्रतिनिधिमूलक कार्यहरु:
- महिलाले राज्यले प्रदान गरेका हक अधिकारको स्वयम् वकालत गर्ने । अल्पकालमा राज्य प्रदत्त कानुनी अवसर, कोटा, सुविधा, सहुलियतहरुको खोज, पहिचान गरी कार्यान्वयन गर्ने गराउने दिशामा स्वयम् सशक्त बन्ने र दिर्घकालमा प्रतिस्पर्धामा खरो उत्रने बन्ने ।
- आर्थिकरुपले सशक्तीकरण र सवलीकरण गरी स्रोतसाधनमा पँहुच र संविधानप्रदत्त सम्पत्तिको हकको व्यवहारिक कार्यान्वयन गर्ने ।
- शिक्षा, चेतना, जागरण र सशक्तीकरणमार्फत आफूमा नेतृत्वसीप आर्जन गर्ने ।
- राजनीतिक दल, समाज, परिवारले महिलाको नेतृत्वमाथि विश्वास, भरोसा र समर्थनका साथ उत्प्रेरित गर्ने ।
- महिलाको नाममा रहेको सम्पत्तिको उपभोगमा स्वायत्तता प्रदान गर्न सामाजिक व्यवधानहरु हटाउने ।
- नेपालको संविधानको धारा ८४ (प्रतिनिधि सभा गठन) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलले उमेद्वारी दिदा जनसंख्याको आधारमा महिला सदस्यलाई समावेश गर्ने नीतिको अक्षरस: कार्यान्वयन गर्ने ।
- राजनीतिक दलहरुले पार्टीका सभापति, अध्यक्ष, महासचिव जस्ता पदहरुमा महिला नेतृत्वको उपस्थिती वढाउने ।
- महिला र पुरुष दुबै आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा समभावका साथ मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिका कार्यमा हातेमालो गर्ने ।
महिला सशक्त हुनु भनेको पुरुषमाथि साम्राज्य निर्माण गर्नु होइन, यो त समतामूलक, समृद्ध र न्यायपुर्ण समाज निर्माणको पूर्वशर्त हो ।
निचोड
नेपाली महिलालाई यही स्थितिमा राजनीतिको नेतृत्व तहमा पुग्न चुनौतीका चाङहरु छिचोल्नै पर्छ । तर अवसरहरुको पनि कमि छैन । महिलाहरु संवैधानिक, कानुनी, हकअधिकारमा सम्पन्न छन् । अब कार्यक्षेत्रमा आफूलाई प्रमाणित गर्नुपर्ने मूल चुनौतिलाई स्वीकार्दै अघि वढ्ने आँट र शाहस राख्नुपर्छ । लोकतान्त्रिक विधि र प्रकृया मार्फत महिलाहरु राजनीतिको अग्रपङ्तिमा पुग्न विचमा रहेको ग्लास सिलिङ प्रभावहरुलाई भत्काउन हिम्मत गर्नैपर्छ । आधाभन्दा वढी आकाशको हिस्सेदार रहेका महिलाले नयाँ युगको अध्याय स्वर्णअक्षरले अंकित गर्न सकुन् ।
(लेखक नेपाल सरकारको निजामती कर्मचारी हुन् )
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



