
मेरो डायरीबाट किमाथान्का यात्रा

डा. विष्णुबहादुर जीसी
डायरी लेखन धेरै दृष्टिले उपयोगी र फाइदाजनक हुन्छ भन्ने पढेको,सुनेको र आफै पनि महसुस गरेको छु । अहिले छोरा बुहारीहरूले लेखौँ लेखौँ लाग्ने राम्रा डायरीहरु र मेरो आफ्नो विगतबारे जानकारी दिनुपर्ने-“Dad, I want to know everything about you” जस्ता डायरी उपलब्ध हुँदा लेखन रमाइलो र महत्वपूर्ण रहेको थप महसुस भएको छ । यहाँ मैले भन्न खोजेको, म विगतमा निरन्तर डायरी लेखन गर्न मन पराउने व्यक्ति होइन । किमाथान्का भ्रमण गर्ने अवसर जुरेको थियो, मेरो जागिरको सुरुवात सँगै । अनि संयोग नै भनौँ, त्यो भ्रमणको सम्झनामा केही टिपोट तयार गरेको रहेछु । आज त्यही टिपोटका आधारमा यो आलेख तयार गर्ने संयोग जुरेको महसुस गरेको छु ।
२०४४ सालको अन्ततिर वाणिज्य तथा पर्यटन विकास प्रवर्धनका लागि नेपाल चीन बीचका सीमा नाकाहरूको सम्भाव्यता अध्ययनको लागि वाणिज्य मन्त्रालय र पर्यटन मन्त्रालय बीच संयुक्त टोलीहरू गठन भएका थिए । त्यसमध्ये एउटा टोली किमाथान्का पठाउने निश्चय भएपछि वाणिज्य मन्त्रालयको नेतृत्वमा पर्यटन मन्त्रालयको प्रतिनिधि समाविष्ट टोली गठन भएको थियो । पर्यटन मन्त्रालयबाट प्रतिनिधि चयन गर्ने क्रममा म भर्खर भर्खर नियुक्ति भएर आएको अधिकृत, गाउँमा जन्मे हुर्केको, हिडडुल गर्नका लागि पनि आट गर्न सक्ने जवानप्रति हाकिमहरूको संकेत प्राप्त भएकाले मैले पनि उक्त अवसरलाई सहर्ष स्वीकार गरे ।
वाणिज्य मन्त्रालयका उपनिर्देशकको नेतृत्वमा पर्यटनको तर्फबाट एकजना गरी तीन जनाको टोली किमाथान्का क्षेत्रको अध्ययनार्थ २०४५/१/२४ का दिन एक घण्टाको उडानपछि संखुवासभाको तुम्लिङटार विमानस्थलमा उत्रियौ । हावाहुरीका कारण काठमाडौँ तुम्लिङटारको बीचतिर यात्रुहरूको मुटु हल्लाउने गरी प्लेन तल माथि गर्दा कतै जीवनको यात्रा समाप्त भएको त होइन भन्ने पनि लाग्यो । तुम्लिंगटारमा बद्री ढकालको आतिथ्य र नजिकैबाट बगिरहेको अरुण नदी र वरिपरि देखिने हिमालको मनोरम दृश्यले मनका सबै डरहरू हराउँदै गए ।
अर्को दिन सबेरै उठेर संखुवासभाको सदरमुकाम खाँदबारीका लागि पदयात्रा आरम्भ गर्यौ । तेर्सो र बिस्तारै उकालो पर्दै गएको जमिनमा यात्रा गर्न सजिलो त थियो तर गर्मी बढ्दै गएको कारण छिटो छिटो पाइला चलाउनै उत्तम विकल्प लागेकाले हामी खादबारी चाँडै नै पुग्न सक्यौँ । उत्तरदेखि दक्षिणतर्फ फैलिएको सानो सहर खादबारीमा करिब ४० मिनेटमा तलमाथि गर्न सकिन्थ्यो, त्यतिबेला । टोलीमा त्यहाँका एकजना डाक्टर समावेश हुने भए अनुसार सो व्यवस्थापन र भरिया एवं खाद्य सामग्रीको व्यवस्थापन गर्दा हाम्रो एकदिन त्यही बित्यो । २७ गतेका दिन बिहानै खाँदबारीबाट निस्किएर मानेभन्ज्याङमा बिहानको खाना खान पुग्यौ । पानी परिरहेको कारणले वातावरण खुला थिएन भने जङ्गलको मनोरम दृश्य पनि आत्मसात गर्न सकिएन । बेलुकीको रात बस्न हामीहरू हुरहुरे पुग्यौ, जहाँ पाँच छवटा घर मात्र थिए, त्यो बेला । हुर्हुरेबाट २ घण्टामा मुरे पुग्यौँ,अर्को बिहान । मुरे एउटा हिल स्टेसन हो,यो क्षेत्रको । यहाँबाट मकालु कुम्भकर्ण जस्ता महत्त्वपूर्ण हिमालहरू देख्न सकिन्छ । यहाँबाट हामीहरु फेरि नुमतर्फ ओरालो लाग्यौँ । नुमबाट मकालु बेस क्याम्प वा हेदङ्नातर्फ लाग्ने दुईवटा बाटाहरू छन् । हाम्रो आजको गन्तव्य स्थान भने हेदङ्ना थियो । त्यसैले यहाँबाट पनि अझै ओरालो लागेर सबभन्दा होचो भाग (अरुण electricity project को ड्याम बनाउन प्रस्ताव गरिएको)पुगेर ठाडो उकालो लाग्यौँ हेदङ्नाको लागि । हेदङ्नाबाट भोलि बिहानको खानाको लागि सिम्मा पुग्यौँ । यहाँबाट धेरै नै अप्ठ्यारो बाटो पार गर्दै हामीहरू गोला पुग्यौ । यहाँका घरहरू चित्राले बनेका थिए । खाद्यान्न पाउन र तयार गरिदिने मान्छे पाउन कठिन थियो । त्यसकारण आजको खाना हाम्रो टिमले आफै तयार गर्यो ।
वैशाख ३० का दिन बिहानै गोलाबाट हटियाको लागि हाम्रो यात्रा आरम्भ भयो । अरुण नदीको किनार किनार हामीहरु उकालो चढ्दै गर्यौ हटियासम्म । हटिया यहाँको सानो सहर हो र केही समथर परेको क्षेत्र पनि । यहाँ केही सरकारी कार्यालयहरु पनि थिए,त्यो बेला । ३१ गतेका दिन हटियामै बिहानको खाना खाएर हामीहरु पूर्वतर्फ चेपुवाको लागि यात्रा सुरु गर्यौ । चट्टानहरू बीचको अप्ठ्यारो बाटोमा चेपुवा पुग्न करिब १० घण्टा लाग्यो । उब्जाउशील यहाँको भूमिमा भोटे जातिका मानिसहरूको बाहुल्यता देखिन्थ्यो । जेष्ठ १ का दिन लिङ्गममा बिहानको खाना खाएर रात बस्न छमसुरमा पुग्यौँ। अब हाम्रो गन्तव्य नजिकिँदै गर्दा हाम्रो जोश र आँट अझ बलियो भएछ । जङ्गलहरूको बीचमा निकै अप्ठ्यारो बाटो भएपनि हामीहरू किमाथान्का दिउँसो १२ बजे पुग्न सफल भयौं ।
किमाथान्का नेपालको उत्तरपूर्वी संखुवासभा जिल्लाको उत्तर सिमाना, चीनसँग सँग जोडिएको हाल भोटखोला गाउँपालिकाको एउटा भूभाग हो । यो नेपाल चीनबीचको एउटा होचो भन्ज्याङ हो । Tibetan भाषामा भन्ज्याङलाई ला भन्ने गरिन्छ। यो भन्ज्याङ ३,६०० मिटर उचाइमा अवस्थित छ । त्योभन्दा होचो भन्ज्याङहरू कोदारी र रसुवागढीमा मोटर गुड्ने बाटो बनेर व्यापार तथा पर्यटकहरू आवतजावत गर्ने गरेका छन् । किमाथानकाको चीनतर्फ छिमेकी सहर चेन्ताङ रहेको छ । यही सहरभित्र पर्ने लुङ्गदेर गाउँ किमाथानकाबाट देख्न सकिन्थ्यो । यहाँका घरहरू नेपालको उत्तरी भेगमा देखिने घरहरूसँग मिल्दाजुल्दा थिए । किमाथान्काको उत्तर पूर्वतर्फ अरुण नदी बगिरहेको देखिन्थ्यो भने नेपाल र चीनतर्फ देखिने दृश्य लोभलाग्दो थियो । किमाथान्कामा केही सरकारी कार्यालयहरू थिए र गुम्बा बन्ने क्रममा थियो । स्थानीय मानिसहरूको भनाइ अनुसार किमाथान्काबाट चीनतर्फको मोटर बाटो सम्म पुग्न साढे दुई घण्टा लाग्दछ । तुम्लिङटारबाट पैदल यात्रा सुरु गरेर नौ दिनमा किमाथानका आइपुगेको दिन एक किसिमको उपलब्धि र आनन्द महसुस भएको थियो, मनमा । साथमा डाक्टर भएतापनि कोही कसैलाई घाउचोट बिमार नपरी त्यहाँसम्म पुग्न सफल टिमका हामी सबैले एक अर्कामा खुसी साटासाट गर्यौ । त्यसमाथि त्यहाँको र त्यहाँबाट देखिने मनोरम दृश्यले दिने आनन्द उल्लेखनीय थियो । स्थानीय र पुलिसहरूले हाम्रो बसाइलाई अझ ऊर्जा थपिदिएका थिए । अहिले त्यो समय, दिन र दृश्यहरू सम्झँदा पनि साह्रै खुसी लाग्छ । खुसी लम्ब्याउन चाहयौं, दुई दिन त्यहाँ बसेर । हाम्रो बसाई जेठ २ र ३ सम्मका लागि लम्बियो । यो समयमा हामीहरूले विभिन्न तथ्याङ्कहरू सङ्कलन गर्ने र अध्ययनको प्रारूप तयार पनि गर्यौ । यही आधारमा काठमाडौँ आएपछि विस्तृत प्रतिवेदन तयार गर्ने काम पनि भयो । निर्क्योलमा नेपालको पूर्वी क्षेत्र एवं समग्र नेपालको विकासका लागि यो नाकालाई व्यवस्थित गरी वाणिज्य र पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता सिफारिस गरियो ।
तोकिएको कार्यसम्पन्न भएकोमा खुसी हुनु त स्वाभाविक नै हो । त्यसको साथै बाटो वरिपरि लटरम्म परेका पहेलमपुर ऐसलु टिप्दै खाँदै हिँड्दै गरेका अनुभवहरु पनि अति नै सम्झना योग्य छन् । आधुनिक विकासले प्रभाव नपारेको, अशिक्षा, गरिबी आदि कारणले खानपिन र बसोबास पनि परम्परावादी शैलीकै थियो, त्यस क्षेत्रमा । उदाहरणका लागि त्यहाँका-हामी बास बसेका केही घरहरूका दुई तलामध्ये माथिल्लो तलामा मानिसहरू बस्ने र भुइतलामा गाईवस्तु राख्ने गरिँदो रहेछ । फोहोर तथा फ्याकिएका खाद्य पदार्थ पनि गाईवस्तुलाई माथिल्लो तलाबाटै दिने प्रचलन रहेछ । सरसफाईको कमीले हुनसक्छ, हामी सुतेको माथिल्लो तलामा उपियाहरुले हामीहरूलाई निकै माया गरेकोले र हामीहरू यसमा अभ्यस्त नभएको कारणले पनि होला हामीहरूले खुला ठाउँको फाइदा लिने निर्णय गर्यौ । वैशाख महिनाको गर्मी समयमा खुला आकाशको आश्रय रमाइलो थियो – खुला आकाशमुनि सुन्दर प्रकृतिको माझ र साथमा रात बिताएको रमाइलो अनुभव अहिले पनि ताजै छ ।
झण्डै ३७ वर्ष अगाडि म लगायतको सानो टिम पूर्व नेपालको उत्तरपूर्वी कुनामा पर्ने किमाथान्का यात्रा|अध्ययन र अवलोकनको उद्देश्यले गरिएको थियो । त्यो बेलाको यात्रा सजिलो थिएन- हिँडेरै पुग्नुपर्ने । घना जंगल, उकालो ओरालो र खोला पार गर्दै किमाथांका छिर्दा, एक किसिमको छुट्टै संसारमा प्रवेश गरेझैं लागेको थियो—शान्त, सरल, प्राकृतिक, तर स्वभाविक र सौहार्ध ।
किमाथांकाको समाज थकाली, शेर्पा, राइ, लिम्बू लगायत आदिवासी जातजातिबाट बनेको थियो । यहाँका जनताको जीविकोपार्जन मुख्यत: साना कृषि, पशुपालन र तिब्बतसँगको सीमाव्यापारमा आधारित थियो । तिब्बतसँगको खुला नाका भएर नुन, कपडा, चिया आदिको विनिमय व्यापार हुन्थ्यो । नगदभन्दा बढी वस्तु विनिमय चलनमा थियो । विकास भनेको लगभग शून्य थियो— सीमित विद्यालय, स्वास्थ्यचौकी टाढा, संचार सम्पर्क शून्यजस्तै । तर यस अभावबीच पनि मानिसको अनुहारमा देखिएको आत्मीयता, सहयोगी भावना र सरलता भने अत्यन्त समृद्ध थियो ।
त्यसबेला सोच्यौँ, विश्लेषण गर्यौँ— कति ठूलो सम्भावना छ यहाँ! पर्यटन, सीमाव्यापार, जडिबुटी खेती, र पारिस्थितिक संरक्षणजस्ता थुप्रै क्षेत्रले यो भूगोललाई उचाइमा लैजान सक्ने सम्भावना । कमै उचाइमा रहेको यो नाकासम्म नेपालको प्रमुख सहर विराटनगरदेखि मोटर बाटो भइदिएमा यहाँसम्म आइपुग्न पनि धेरै समय नलाग्ने, पर्यटन र वाणिज्यको अथाह सम्भावना भएकोले सरकारको दृष्टि र लगानीले यो क्षेत्र लगायत सम्पूर्ण नेपालको विकासमा योगदान पुग्न सक्ने निर्क्योलमा पुगेका थियौँ । त्यसका लागि राज्यको लगानी, पहुँच र दीर्घकालीन योजनाको खाँचो स्पष्ट देखिन्थ्यो ।
आज किमाथांका सडकका बारेमा सञ्जालमा जोडिएको खबरहरू पढ्न पाएको छु । विराटनगर किमाथानका बाटोको निर्माण धेरैजसो सम्पन्न भएको छ । विराटनगर–किमाथांका सडक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्ग हो । भारत–चीन–नेपालबीचको व्यापार विस्तारको लागि अत्यन्त महत्वपूर्ण मानिने ३९० किलोमिटरको यो सडक योजना राष्ट्रिय तथा क्षेत्रीय तहका बैठकहरूमा प्राथमिकताका साथ उठाइएको छ । अर्को महत्त्वपूर्ण पहल किमाथांका नाका मार्फत नेपालको चीनसँगको ऊर्जा सहकार्यलाई बलियो बनाउन एक सीमा पार पावर ट्रान्समिशन लाइन निर्माण गर्ने योजना पनि प्रस्ताव गरिएको छ । त्यसैले, किमाथान्का यात्राको सम्झना,३७ वर्ष अघि लेखिएको मेरो सुरक्षित डायरी र हाल सबैको केन्द्रविन्दुका रूपमा रहेको किमाथान्काको विकासको खबर मेरो लागि खुसीको एक अमूल्य पाटो बनेको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)