संसारप्रिय ‘रेशम फिरिरि’को नालीबेली

रेशम फिरिरिः चार दिशा गुञ्जिने गीत

जे. के. बराईली
दिल्ली, भारत
कभरः एआईको सहयोगमा ।

विषय प्रवेशः
सङ्गीतको कुनै साँध सिमाना हुँदैन। कुनै एक भाषाको गीत जिब्रो जिब्रोमा टाँसिएर कहाँ कहाँसम्म पुग्छ, कसैलाई थाहा हुँदैन। हामी नेपालीहरूले मात्र होईन तर अन्य भाषीले पनि एकपटक च्याट्ट सुनेपछि चट्टै मनमा बस्ने हाम्रो आफ्नो विशुद्ध लोक भाकामा सृजित ‘रेशम फिरिरि’ बोलको गीतबारे यहाँ केही मन्थन गर्नु आज मेरो विषयवस्तु हो।

“रेशम फिरिरि रेशम फिरिरि
उडेर जाउँ कि डाँडामा भञ्याङ्ग,
रेशम फिरिरी…”

ठेट् नेपाली लोक भाकामा आधारित बहुचर्चित यो लोक गीत ‘रेशम फिरिर’ नसुन्ने नेपालीहरू सायदै होलान्। नेपाली गीत-सङ्गीतको इतिहासलाई हेर्दा अहिलेसम्म कैयौं लोक गीत र आधुनिक गीतहरू बहुचर्चित र लोकप्रिय हुँदै गए साथै अझै उत्तिकै चर्चित अवस्थमा छन् तर ती सबलाई उछिनेर ‘रेशम फिरिरि’-ले त झन लोकप्रियताको हदै पार गरेको छ। एवं रीतले ‘रेशम फिरिरि’ गीत भने अन्तर्राष्ट्रिय प्रसिद्धिको गीत बनेको छ, जसलाई नेपालीहरू मात्र नभएर अनेकौं देशबाट आउने मानिसहरूले सिकेर आजसम्म उत्तिकै रूचाएर गाउँने गर्छन्। यसको शब्द र भाका टिपेर आफ्नो देशमा लिएर जान्छन्। नेपाल र भारतका नेपाली बहूल क्षेत्रका नेपालीहरूमाझ त झन यस गीतको लोकप्रियताको वर्णन गरेर साध्य छैन। सबै उमेर समूह र सबै वर्ग र श्रेणीका मानिसहरूमाझ यो गीत लोकप्रिय छ। जनसमाजमा पुरानो रिती रिवाज र परम्परामा बाँधिएका मानिसहरूदेखि लिएर आधुनिक संस्कृतिको तामझाममा झुम्ने मानिसहरू सबै सबैले रेशम फिरिरि गीत गाउँन र यसमा झुम्न रूचाउँछन्। कुनै प्रकारको खुशीयालीपूर्ण अवसरमा यो गीत गाउँदै आनन्द उठाउन चुक्दैनन्।
रेशम फिरिरी नेपालीहरूमाझ लगभग सबैसँग परिचित लोकप्रिय नेपाली लोकगीत हो। यसको लोकप्रियताले कैयौं देशहरूका सीमाहरू पार गरेको छ।

यस गीतलाई नेपाली सङ्गीतको इतिहासमा यसको कम्पोजिशनको थालनीदेखि आज पर्यन्त आफ्नो मिठास उत्तिकै कायम राख्नसक्ने ऊर्जाशील गीतको रूपमा मानिन्छ। गीतमा हिमाली जीवनशैली र सांस्कृतिक मूल्य मान्यता र अपरायजेय प्राकृतिक विविधता प्रतिबिम्बित भएको छ। पहाड़ पर्वत डाँड़ा काँड़ा भञ्ज्याङ आदि जस्ता हिमाली प्राकृतिक छटा गीतले झलझल देखाएको छ। गीतले विशेष गरेर नेपालप्रति नै धेरै ध्यान आकर्षित गरेको छ। यस गीतमा नेपालको जीवन्त सांस्कृतिक आकर्षण र प्राकृतिक सौन्दर्यको अनुपम मिश्रणलाई विषयवस्तु बनाइएको छ। यो सुन्दर गीत अत्यन्तै प्रशंसनीय छ र नेपाली संगीत उद्योगमा यो अहिलेसम्म रचिएका उत्कृष्ट गीतहरू मध्ये एक हो।

‘रेशम फिरिरि’-को शाब्दिक अर्थ मानिसहरूले भिन्न भिन्न प्रकारले निकालेका छन्। धेरै मानिसहरूमा सङ्गीतको स्वाद लिने र विश्लेषण गर्ने आफ्नै परिपाटी हुन्छ, त्यसैले यो गीतको अर्थ पनि धेरैले फरक फरक निकालेका हुन सक्छन्। ‘रेशम फिरिरि’-को अर्थ फरक फरक हुने विभिन्न स्रोतहरू छन्। पहाडी जीवनशैली र प्रियजनको लागि आह्वानलाई चित्रण गर्ने यो सुन्दर गीत आफैमा एक मास्टरपिश हो।

गीतको महत्त्वः
‘रेशम फिरिरि’-को अर्थ धेरै सुन्दर छ र यसलाई अंग्रेजी लगायत अन्य भाषामा पनि अनुवाद गर्ने धेरै प्रयत्न भएको देखिन्छ तर यो काम गाह्रो छ, किनकि प्रत्येक संगीत रचनाको वास्तविक सार यसको आफ्नै भाषाको माध्यमबाट जति सुन्दर ढंगमा हुन्छ त्यति अरू भाषाको माध्यमबाट हुन सक्दैन।

रेशम फिरिरि भनेपछि नेपालीहरू जहाँ जहाँ पुगे तापनि त्यही सँगसँगै पुग्ने गीत हो। नेपालीहरूको मात्र होईन तर कैयौं विदेशीहरूकासमेत जिब्रो जिब्रोमा टाँसिएको छ यो गीत। नेपाल र भारतको नेपाली बहुल क्षेत्रमा भ्रमण गर्ने कुनै पनि अनेपाली बन्धुसमेत यो गीत एकपल्ट सुनेपछि यसको मोहनीदेखि उम्कनु नसकेको देखिन्छ।
‘रेशम फिरिरि’-को लोकप्रियता नेपालको सीमा नाँघेर विश्वभर पुग्नुमा गन्धर्व अर्थात गाइने बन्धुहरूको पनि ठूलो हात छन्। नेपाल र भारतका विभिन्न पर्यटकीय स्थानहरूमा सारङ्गी रेट्दै गीत गाउने गाइनेहरूले रेशम फिरिरि पर्यटकहरूलाई सुनाउने गर्छन्। कतिपय पर्यटकले गाइनेले गाएको रेशम फिरिरि रेकर्ड समेत गरेर आफ्नो देश लान्छन्। भनिन्छ, कति गाइनेहरू यो गीतलाई प्रचार प्रसारकै माध्यम बनाउँदै सारङ्गी रेट्दै यो गीत गाउँदै सारङ्गी बिक्रीबट्टा पनि गर्ने गर्छन्।

‘रेशम फिरिरि’-को विश्व–यात्रामा ट्रेकिङ गाइडहरूको पनि महत्वपूर्ण योगदान छ। उनीहरू पैदल यात्राको क्रममा बाटोमा थकाई मेट्दा, होटलमा बास बस्दा र टेन्ट गाडेर क्याम्प बस्दा रेशम फिरिरि गाउँदै उल्लास गर्ने गर्छन्। यस गीतका मूल सर्जक बुद्धि परियारकै छोरो संगीतकर्मी आभास भन्छन्, “रेशम फिरिरि त ट्रेकर (पदयात्री) हरूका लागि एन्थम जस्तै भइसक्यो।”

यो गीतको उदयदेखि आज पर्यन्तमा कैंयौ नेपाली गायक/गायिकाहरूले यो गीत खुबै अभिरूचि र उत्साहका साथ गाइसकेका छन्, कैयौं म्यूजिकल ब्याण्डहरूले विभिन्न कार्यक्रमामा यो गीत अर्केष्ट्रामा समेत प्रस्तुत गरिसकेका छन्। कैयौं रिमिक्स भर्शनहरू निस्किसकेका छन्। यो गीतमा खै के कस्तो जादू छ, कैयौं विदेशीहरूले समेत सिकेर यो गीत गाइसकेका छन्। यसरी यो गीत सिकेर गाउने विदेशीहरूमा कैयौं राजदूतहरूसमेत छन्।

हुन त ‘रेशम फिरिरि’-मा कुनै गहिरो दर्शन छैन। यो सरल छ। अत्यन्तै सरल। यही सरलताले नै गर्दा रेशम फिरिरि नेपालको सबैभन्दा लोकप्रिय गीत बनेको भनाइ संगीतकर्मी आभासको छ। उनको भनाइमा, “एउटा लोकगीतका मुख्य विशेषता भनिएको नै सरलता र सर्वसाधारणका दैनन्दिनलाई प्रतिविम्बित गर्नसक्ने क्षमता हो, जुन ‘रेशम फिरिरी’-मा छ। यो गीतले नेपाली जीवन र बोली बोल्छ। पर्वते जीवनलाई सुन्दर तरिकाले प्रस्तुत गर्छ। यसमा नेपाली समाजका प्रेम–विम्बहरू हल्का ठट्यौली पारामा प्रयोग भएका छन्। यो गीतले दुःखका क्षणमा पनि हाँस्न सक्ने नेपाली चरित्रलाई प्रतिविम्बित गर्छ।”

भारतमा पनि नेपाली बहूल क्षेत्रमा कतिपय ठाउँमा रेशम फिरिरि खुबै लोकप्रिय रहेको छ भन्ने कुरा माथि नै उल्लेख गरियो। मुम्बईमा फिल्म प्रोग्रामरको रुपमा कार्यरत दिप्ती कुन्हा सन् २०११ मा पहिलोपटक सिक्किम जाँदा जताततै एउटै गीत गुञ्जिएको सुनेपछी आफूलाई पनि यो गीत गुन्गुनाइरहूँ जस्तो लागेको कुरा बताउँछिन्। उनको भनाइमा “यो गीत मेरो दिलमै बस्यो, म जतै जाँदा पनि यही गीत सुन्न चाहन्थेँ।”

गीतको लोकप्रियताः
देश र विदेशका भिन्न भिन्न सङ्गीतकारहरूले यो गीतको आ-आफ्नो संस्करण निकालेका छन्। यसो गर्दा उनीहरूले आफ्नै केही विशेषतासमेत थपेका छन्।
नेपाली गीत सङ्गीतमा संलग्न कैयौं गायक/गायिका, कैयौं सङ्गीतकार र व्याण्डहरूले यो गीतलाई विभिन्न अवसरमा भिन्न भिन्न भाव भङ्गिमाले गाएका छन्। ती सबैको वर्णन गर्नपरे धेरै लामो हुन जान्छ। अहिलेसम्म यो गीतको अनेकैं संस्करण देखा परिसकेका छन्। सङ्गीतकर्मीहरूमध्ये कतिले यो गीत अर्केष्ट्रामा पनि प्रस्तुत गरेका छन्।

प्रसिद्ध कुटुम्ब ब्याण्डले खुबै रोचक ढंगमा यो गीत प्रस्तुत गरेको छ। गीतभन्दा पनि नेपाली लोक भाकाहरूलाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दै आइरहेको कुटुम्ब ब्याण्डका ६ सदस्यहरूले अष्ट्रेलियाको पर्थमा एनआरएन पश्चिम अस्ट्रेलियाले आयोजन गरेको नेपाल महोत्सवमा रेशम फिरिरिको धून खुबै कर्णप्रिय ढंगले प्रस्तुत गरेपछि दर्शकहरूबाट अति राम्रो रेशपन्स प्राप्त गरेको रहेछ।

नेपालका लागि नर्वेका राजदूत टोरन ड्राम्डलले जगदीश्वर पाण्डेसितको एक अन्तर्वार्तामा भन्नु भएको रहेछ “मलाई नेपालमा मन पर्ने गीतचाहिँ ‘रेशम फिरिरि’ हो ।” (कान्तिपुर , पुस ७, २०८०.

नेपालीहरू मात्र यो गीतको मोहनीमा झुमेका छैनन्। कैयौं विदेशीहरू समेत यो गीतको मोहनीमा परेका छन्। एक जापानी गायिका सानो आयोईले जीवन्त भाकामा रेशम फिरिरि गाएकी छिन्। दक्षिण कोरियाली व्याण्ड नार्शाले मनमोहक ढंगले यो गीतको भाकालाई विशिष्ट प्रकारले प्रस्तुत गरेको छ। भारतका लोक सङ्गीतका पारखी बङ्गाली बन्धु ओर्को मुखर्जीले एक विशेष शैलीमा यो गीत गाएका छन्।
मुखर्जी संलग्न रहेको कोलकाताको फोक ब्याण्डले पनि कैयौं मञ्चहरूमा नै यो गीत प्रस्तुत गरेको रहेछ, जसमा गिटार, मेन्टोलिन, टेनोर गिटार, दोतारा र अन्य कतिपय वाद्य यंत्रहरू प्रयोग गरिएको थिएछ। उनी भन्छन् ‘यो गीतको अपिल विश्वव्यापी छ।’

२०७४ को मार्घ महिनामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय ब्याण्ड रिषि इंकले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा आफ्नो प्रस्तुतिका क्रममा चर्चित नेपाली गीत रेशम फिरिरि गाएर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ ।

असामका सङ्गीत क्षेत्रमा संलग्न चारजना प्रतिभाशाली सङ्गीतकर्मीहरूले गुवाहाटीमा आयोजित म्यूजिक माल्ट लाइभ सेशनमा खुबै रोचक ढंगले ‘रेशम फिरिरी’-को गायन प्रस्तुत गरेका थिए।

नेपाल-बङ्गलादेश युवा सम्मेलनका लागि काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा दुई देशका १०० बढी युवाले संयुक्त सांस्कृतिक कार्यक्रममा खुबै राम्रो ढंगले रेशम फिरिरि संयुक्त रूपमा समूह स्वरमा गाएका रहेछन्।

नेपालमा महेश संस्कृत गुरूकुलले त झन संस्कृतमा नै ‘रेशम फिरिरि’ गीतको भिडियो निकालेको रहेछ, जसमा स्वर ऋषिराम पौडेलको रहेछ। गीतलाई संस्कृतमा चिरञ्जिवी खतिवडाले अनुवाद गरेका रहेछन्। संगीत संयोजन सचिदान्द पौडेलको रहेछ।

विगत दिनहरूमा जर्मनीको स्टुर्टगार्ट च्याम्बर अर्केस्ट्राले ‘रेशम फिरिरि’ लाई विलक्षण ढंगले प्रस्तुत गरेको थियो।

नेपालमा पाठशालाहरू निर्माण गर्ने परियोजनालाई उत्साह दिँदै अन्तर्राष्ट्रिय स्वयंसेवक तथा कलाकारहरूद्वारा यही गीत प्रस्तुत गरिएको रहेछ।

कैयौं अवसरहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूद्वारा खुबै मनमोहक ढंगमा यो गीतको धून (इन्ट्रूमेन्टल) मात्र पनि प्रस्तुत गरिएका छन्।

ब्रिटिश गोर्खा ब्याण्डले धेरैपल्ट यही गीत प्रस्तुत गर्दै आएको छ।

विदेशका कतिपय रेस्तराँतिर पनि यो गीत प्रस्तुत गरिएको थाहा लागेको छ।
सन् २०२० को दशैंको अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ‘रेशम फिरिरी’ गीत नै गाउँदै नेपालीहरूप्रति दशैंको शुभकामना व्यक्त गर्नु भयो। आफुले गाएको ‘रेशम फिरिरि’ नामको चर्चित गीतलाई राजदूत यान्छीले सामाजिक सञ्जालमा ट्वीटरमार्फत सार्वजनिक समेत गरेकी थिइन्।

यसै वर्षको जनवरी महिनामा प्राचीन चिनियाँ लोक कला तथा चित्रकला सम्बन्धमा काठमाण्डौमा आयोजित एक सप्ताहव्यापी प्रदर्शनीमा पनि चिनियाँ विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममा रेशम फिरिरि गाएका थिए।

एक जापानी कलाकारले रेशम फिरिरि गाउँदै गरेको त जापानकै एक टेलिभिजनमा समेत देखाइएको रहेछ।

इन्टरनेटमा यो गीतको कैयौं संस्करण भेटिन्छन्, जसलाई सुन्यौं भने नेपाल र नेपाल बाहिरका विदेशी कलाकारहरूले यो गीत गाउँदा देखा पर्ने विविधता स्पष्ट थाहा पाउँन सकिन्छ। फिडलर्स ग्रीन नामक अनेपाली ब्याण्डले कैयौं अवसरहरूका यो गीत प्रस्तुत गरिसकेको रहेछ।

रेडियो नेपालमा आजभन्दा पाँच दशकभन्दा बढ़ि समयअघि रेकर्ड गरिएको यो गीतको मूल संस्करणमा सारङ्गी, मादल र बाँसुरीको प्रयोग गरिएको थियो तर पछि पछि विभिन्न नेपाली तथा विदेशी कलाकारहरूले गाएका यो गीतको प्रस्तुतिमा अनेकौं आधुनिक वाद्य यंत्रहरू प्रयोग गरिएका छन्।

रेशम फिरिरि गीतको इतिहासः
यो गीतको मूल रचनाकार हुन् बुद्धि परियार। उनैले लेखेका हुन् कि उनले संकलन मात्र गरेका हुन्, त्यसमा पनि भिन्न भिन्न मत देखिन्छ। उनले नै यो गीत रचना गरेर धून तयार पारेका हुन भन्ने मतलाई पनि अस्वीकार गर्न सकिँदैन। कि त संकलन मात्र गरेर धून तयार पारिएको पनि हुनसक्छ। जे भए तापनि यो गीतको मूल श्रष्टा भने बुद्धि परियार नै हुन्। अन्वेषण गर्दा रेशम फिरिरि गीतको रचना कहिले भएको रहेछ त्यसबारे कसैले स्पष्ट किटान गरेको भेटिँदैन। यति मात्र होईन, यो गीत सर्वप्रथम कहिले रेकर्ड भयो भनि दह्रोसित किटान गरिएको इतिहास पनि छैन। तर, धेरैले सन् १९६९ मा पहिलोपटक रेडियो नेपालमा रेशम फिरिरि रेकर्ड भएको विश्वास गर्छन्। रेडियो नेपालको रेकर्ड पल्टाउँदा यो गीत टेप नम्बर ८४६ मा भेटियो भनेर पनि कतिले भनेका छन्। यसैको आधारमा भन्नु हो भने रेशम फिरिरि सन् १९६० को दशकको अन्त्यतिर वा सन् १९७० को दशकको थालनितिर रेकर्ड भएको हुन सक्छ।

रेडियो नेपालमा सुरूमा रेकर्ड गरिएको ‘रेशम फिरिरि’ मा सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतले स्वर दिएका छन् अनि वाद्य यंत्रमा सारङ्गी, बाँसुरी र मादल प्रयोग गरिएका छन्। कोही भन्छन्, – श्रेष्ठले द्वारिकालाल जोशीसँगको सहकार्यमा यो गीत अलग्गै रेकर्ड गराएका थिए। तर श्रेष्ठ र जोशीबीच सहकार्य भएकै भए पनि त्यसको कुनै प्रमाण छैन। ती सबै प्रमाणहरू समयको विस्मृतिको गर्भमा पुरिएर गइसके। उनीहरू कोही पनि अहिले जीवित छैनन्। नेपालको अंग्रेजी दैनिक ‘राइजिङ नेपाल’-मा ८ मइ २०२४ मा प्रकाशित आफ्नो लेखमा फनिन्द्र अधिकारीले मत प्रकट गरेअनुसार, बुद्धि परियारले ‘रेशम फिरिरि’-को रचना सन् १९७२ मा गरेका थिए अनि यसको ठीक दुई वर्षपछि १९७४ यो गीत रेकर्ड भयो। यसरी गीतले कहिले जन्म लियो त्यसबारे भिन्न भिन्न मत भए तापनि ती विभिन्न मतमाझ धेरै समयको अन्तराल देखिँदैन। यसैले यो गीत साठीको दशकको अन्ततिर वा सत्तरको दशकको थालनितिर रेकर्ड भएको हुनपर्छ भन्ने कुरामा नै हामी सहमत हुन कर लाग्छ। यसो हो भने यो गीतले अहिले ५५ वर्षको उमेर पार गरिसकेछ। यति पुरानो भएर पनि यति व्यापक र लोकप्रिय गीत नेपाली जगतमा मात्र होईन तर अन्य कुनै भाषीहरूका समाजमा पनि भेट्न दुर्लभ पर्छ।

माथि नै भनियो रेशम फिरिरि गीतको सर्जक र धून तयार पार्ने मूल कलाकार थिए पोखराका गायक तथा संगीतकार बुद्धि परियार। बुद्धि परियार किंवदन्ती भइसकेका छन्। उनीबारे धेरै जनश्रुतिहरु छन्। एउटा जनश्रुतिअनुसार उनी एकदमै राम्रो नाँच्थे। त्यसबेला बलिउड सुपरस्टार जितेन्द्र नेपाल आएका थिए। जितेन्द्रले बुद्धि परियारलाई कम्मर मर्काउँदै नाँचेको देखेका थिए। जितेन्द्रले उनलाई बलिउड फिल्ममा नृत्य गर्नसमेत प्रस्ताव राखेका थिए भनिन्छ। नेपाली लोक भाकाप्रति अधिक रूची राख्ने राजा विरेन्द्र पनि उनीबाट निकै प्रभावित थिए भनिन्छ। राजाले उनलाई नेपाल प्रहरीको साङ्गीतिक व्यान्डमा काम दिए। कालान्तरमा उनी ‘रेशम फिरिरि’ कै कारण संगीतकारका रुपमा चिनिए।

पछिबाट अमृत गुरुङले यो गीतको रचनाकार बुद्धि परियारसँगै सन् १९९० को दशकमा ‘रेशम फिरिरि’-को रचनाबारे सोध्ने मौका पाएका थिए। उत्तरमा परियारले गुरुङलाई भनेका थिए, ‘खै, मैले कसरी यो गीत रचेँ!’ अमृत गुरुङ परियारले भनेका कुरा सम्झन्छन्। परियारले भनेका रहेछन्- “पोखरा भञ्ज्याङमा एउटा विहे थियो। त्यो विहेमा भाग लिन जाँदा धेरै लामो पैदलयात्रा गर्नुपरेको थियो। विहेमा पुग्दा धेरै थाकिएको थियो। बाटोमा देखे–भोगेका अनुभवको आधारमा विहे समारोहमा स्वस्फूर्त रुपमा रेशम फिरिरि गीत आयो।” यसरी आफू यात्रा गरिरहेको बेला स्वस्फूर्तरूपमा रेशम फिरिरि आयो भनिएकोबाट गीतको रचना नै उनले गरेका रहेछन् भन्ने कुरा बुझिन्छ।

बुद्धि परियारका गायक तथा गीतकार छोरा धर्मेन्द्र सेवान ‘रेशम फिरिरि’-लाई बेग्लै तरिकाले व्याख्या गर्छन्। उनका अनुसार, ‘मेरो बुवा साथीको घर जाँदै हुनुहुन्थ्यो। बाटो लामो र कष्टकर थियो। एउटा कीरा भूँभूँ गर्दै उहाँकै कान छेउ हुँदै अघि बढ्यो। त्यो कीरालाई देखेर उहाँलाई लाग्यो – म पनि त्यो कीरा झैं उडेर डाँडा भञ्ज्याङ पुग्न पाए कति जाती हुन्थ्यो! यस्तो सोच्दा सोच्दै उहाँले बाटोमै ‘रेशम फिरिरि’-को पहिलो हरफ रचना गर्नुभयो। पछि अरु हरफहरु थपिए।’ अब हेर्नुहोस्, धर्मेन्द्र सेवानको भनाइमा विश्वास गर्नु हो भने यो गीतको धून मात्र होईन शब्द नै उनका बाबु बुद्धि परियारले गरेका थिए।

उपसंहारः संसारभरमा मानिसहरूमाझ भाषा आफ्नो आफ्नै भए तापनि यो विशाल भिड़भित्र रेशम फिरिरि भने वैश्विक भाषा (Universal Language) जस्तै बनेको छ भन्दा भूल नहोला। गीत यति लोकप्रिय हुनु तर यसको मूल सर्जक बुद्धि परियार भने सँधै ओझेलमा पर्नु चाहिँ असंगत कुरा हो। उनको सही मूल्याङ्कन भएको कतै देखिएन। यसरी सही मूल्याङ्कन नभएर हामीभित्र कैयौं प्रतिभाहरू विस्मृतिको गर्भमा विलिन भइसकेका छन्।

सन्दर्भः

१. सफल खबर, १७ मार्घ,२०७४
२. कान्तिपुर, चैत्र २०, २०७४
३. The Raising Nepal, 8 May, 2024.
४. MyRepublica, 25 January 2025.
५. अनुराधा शर्मा, काठमाण्डुप्रेस, चैत्र 27, 2075
६. Magical Nepal, 22 Feb, 2024.
७. Neostuff.com, 18.4.2018
८. युवराज गौतम, नागरिक, १४ श्रावण २०७८
९. अनुराधा शर्मा, Kathmandupress, चैत्र २७, २०७५
१०. रातोपाटी, ११ फाल्गुन २०७६


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. रोचक गीतको धेरै जानकारी पाउने गरि लेखेको लेखको लागि जे.के.बराईलीलाई हार्दिक धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button