… जब प्राण पखेरु उडी जाला

देवका पन्थी

मैरीको नजिकै मलाई सुताइएको छ । मेरो छेवैमा बुढो हुनुहुन्छ । अलि पर ढोकाबाट ठुले टुलुटलु हेरिरहेछ । साने नजिकै आएर नबोली हेर्दै फेरि अलि पर गएर फर्कदै गरिरहेछ । केही आफन्तहरु छन्, केही छिमेकीहरु पनि । कोही बिचमा बोलेको सुन्छु, ‘बिरामीलाइ गाह्रो भयो, अलि पर बसिदिनुस्, हावा खेल्न दिनुस् ।’ म जिन्दगीको अन्तिम सास फेर्दै छु ।

बुढोलाई हेर्छु । आज कति निरास र उदास देखिनुभाको छ । उहाँको आँखाले भनिरहेछ्न्, ‘मलाई छोडेर कहाँ जाँदै छ्यौ प्रिय् ? म तिमीविना अपुरो छु ।’ आज दारी पनि काट्नुभाको छैन ।सानैदेखि फुलेको दारी-कपाल नकाट्दा र स्याहार नगर्दा बिजोग देखिन्छ । अझ त्यसमाथी कपडा पनि कस्तो लगाउनुभएको । मेरो मनले चिच्याएर भनिरहेछ, ‘दारी फाल्नू न ! अर्को कपडा फेर्नू । यसरी त कहाँ जीवन चल्छ र बुढो ? कोही जादैमा दैनिकी रोकिदैन । मौसम पनि त परिवर्तन हुन्छ, आफुलाइ मौसम अनुकुल ढाल्नुपर्छ ।’

गहभरी आँसु लिएर बुढो भन्नुहुन्छ, ‘के खान्छेउ, पानी ?’

कठै मेरो बुढो । म सोंच्छु । उमेरले म भन्दा पाको भए पनि बच्चै हो मेरो श्रीमान । बिरामी हुदा तातो पानी खाने हेक्का हुदैन । बाहिर जादा लगाउने लुगा याद रहदैन । मोजामा दुर्गन्ध आयो कि के थाहा, धेरै कुराको अनभिज्ञता छ । कतिपय कार्यलयका काममा समेत मेरो सल्लाह लिनुहुन्छ । हरेक प्रगतिमा श्रीमानको तागत हुँ म, हरेक दुखको ढाडस हुँ म । म बिना कसरी गर्नुहोला सबै ? मैले नजन्माएको मात्र हो तर मेरो सन्तानभन्दा केही फरक लाग्दैन । सानैदेखी आएँ, सक्दो साथ दिएँ । आफ्नो सानो सन्सार बनायौं, सिन्का सिन्काले गुँड सजायौँ । आफ्नै सुनौलो कहानी लेख्यौं । कहिले बिचलित, कहिले रोमान्चित, जिवनलाई धेरै रङ्गले भर्यौ ।

पुरुषको जिन्दगीमा आमा र श्रीमतीको अतुलनीय स्थान हुन्छ, आमा त गैसक्नुभयो, त्यो अभाव खड्किन नदिने श्रीमती पनि नरहने भएँ । यो साथ यत्ती रहेछ, नियतीको अगाडि हार मान्नुपर्यो, आफ्नो प्रीयतमलाई बिच बाटोमै छोडेर हिड्ने दिन आयो । म व्याकुल हुन्छु, मेरो आन्तरिक युद्धले प्राकृतिक निर्णय ताेड्न खोज्छु ।

फेरि ढोकाछेउ उभिएको ठुलेलाइ हेर्छु । कति सिधा छ मेरो बच्चा । दस वर्षसम्म मेरो काखमै सुत्यो । राम्ररी मुख धुन उसलाई आउदैन । हर्लक्क बढेको मात्र हो, उसमा व्यवहारिकता छैन । ठुलेको साथी हो म । आफुलाई असहज लाग्ने धेरै कुरा वा जिज्ञासा मलाइ नै सुनाउछ । म बिना उ कसरी जिउँला, मेरो ठुलेको सहारा नखोसिदेउ भगवान् ।

निरन्तर मेरा आखाबाट बलिन्द्र धारा आँसु खसिरहेछ, आँसुले आँखा हुँदै कान र सिरानी सबै भिजिसकेका छन् । फेरि भिडमा कोही बोल्छ, ‘नरोउ न देवका गारो हुन्छ, मनमा कुरा नखेलाउ ।’

मेरो मन भन्छ, ‘आज त मलाई सोच्न देउ, मेरो सृजनालाइ तृप्त हुनसम्म निहाल्न देउ ।’

फेरि सानेतिर आँखा घुमाउछु, मेरो मुटुको टुक्रालाई हेरेर मन छियाछिया हुन्छ । कति अबोध छ यो, हिजोसम्म मेरो छाती तानेको आजबाट कसरी बाबासङ्ग मात्र सुत्ला ? उसको जिन्दगी त शुरु पनि भएको छैन । कहाँ खुट्टा राखेर हिड्ने अझै सिकेको छैन । मम्मी, बाबा र दादाबाहेक केही कोही नचिनेको यो दुनियासङ्ग पैठेजोरी कसरी खेल्ला ? तोते बोली फुटेको छैन, आमासङ्ग नाता टुटेको कसरी सहला ?

म बिनाका रातहरु कस्ता होलान् ? सधै त पक्कै आफन्त नहोलान् । सयन कक्षभित्रको त्यो खालिपन मेरो परिवारलाइ कसले पूरा गरिदेला ? मलाइ कष्ट हुन्छ । सास अट्किएको जस्तो भान हुन्छ, आकाशतिर हेर्छु .. भगवान्सङ्ग प्राथना गर्छु, ‘मेरो परिवार तहसनहस नपार प्रभु ! चार पाङ्ग्रामा अडिएको मेरो सन्सारको एउटा पाङ्ग्रा नभाचिदेउ !’

अफ्ट्यारो भयो कि भनेर बुढोले मलाई कोल्टे पारिदिनुहिन्छ, रुमालले आँसु पुछिदिएर आफुले तप्लक्क मेरो छातिमा मोतिका दाना झार्नुहुन्छ । म आफुलाइ गरुङ्गो भएको अनुभुति गर्छु । म निर्बल, क्षमताहिन, बेसाहारा श्रीमानको दुखको साथी र सुखको सहयात्री बन्न सकिन । लाग्छ, चिच्याएर रोउँ तर सक्दिन । शरीर हार मान्दैछ,दिमाग थाक्यो, मन भरिएको छ ।

फेरि मन उडेर जन्मघरतिर पुग्छ । सेतै कपाल फुलेकी मेरी आमा हरेक तीन चार महिनामा मेरो बाटो कुरेर बस्छिन् । अब उनकी कान्छी आउदिन । तिज तिहार सुन्य बनाएर गै । आमा भनेर हक जमाउने, कराउने, लाडिने एउटा फुल जमिनमा खस्यो । आफ्नो जिवनको उतरार्धमा यो बज्रपात आमा कसरी सहनुहोला ?

दिदीबहिनीको आगमनले भरिपुर्ण र सुन्दर लाग्ने त्यो आँगनमा दिदिहरुले कान्छिको अनाढी तिजको नाच अब देख्नेछैनन् । ‘कान्छी चिया बनाउ, कान्छी बजार गएर यो ल्याउ न’, कसलाई भन्लान् ? म बिना उनीहरुको श्रीङार अधुरो, माइतीका भोगाइ अपुरा । मेरा सन्तानमाथी दिदिहरुको कृपा बनोस्, स्वार्थभावले मनलाई सम्झाउछु ।

तिहारमा दिर्घायुको कामनासहित लगाउने सप्तरङ्गी टीका पनि मेरो दाइ भाइको लागि खल्लो हुनेछ । कान्छिको एक थोप्ला सदैव खड्किनेछ । सात समुन्द्र पारिको मेरो भाइ ! हेर् त कान्छी दिदी तँलाइ छोडेर जाने भै । ती दाइ दिदीको मन कति कुँडिएला जो परदेशमा घरदेशका सपनाहरु बुनेर बसेका छन् ! तर मेरा दाइ भाइलाई दिर्घायू र प्रगतिको कामना मेरो तर्फबाट सदासदा रहिरहनेछ ।

केही क्षण मन कर्मघरतिर लाग्छ । बृद्ध बुवा हुनुहुन्छ । मलाई आत्मैदेखी माया गर्ने । बिडम्बना ! बुवाका असक्क्त दिनहरुमा म रहने भइन । आशीर्वाद दिनू बुवा, अर्को जुनी पूरा आयु लिएर जन्मुला । कर्मले जुटाएका दिदी बहिनी छौ । ठुली दिदी, ‘चाडमा देवका सङगै रमाइलो भित्रिन्छ’ भन्नुहुन्छ । माइली दिदिको त म दाहिने हात हो । सुख दुख बिसाउने एक अर्काका चौतारी हौ, हामी उमेरले पनि दौतरी हौ । म बिना दिदी कसो गर्नुहोला । तर विश्वास छ, दिदीले मेरा छोराहरुलाई आमाको ममताको कमी हुन दिनुहुने छैन ।

मन फेरि कार्यथलोतिर लाग्छ, आफ्नो पेसाले जुटेका हामी एक अर्काका साथी हौ । सङै जन्मदिन, पिकनिक, साना तिना चाड मनाउछौं, यी सबैमा उत्साहित हुने म नै हो । पक्का दिदिबहिनीले सम्झेलान् नि, मनको पापी कहिल्यै थिइन भनेर । सानातिना अखबार र समाचारमा मेरा श्रद्धाञ्जलीका खबर छापिदा सङै पढे खेलेका साथी अमिलो मन पार्लान्, कोही त दुई थोपा आँसु पनि झार्लान् ।

लाग्थ्यो मलाई, जिन्दगी जिइसके, मेरो बालापन सकियो, यौवनलाइ थुन्न सकिन । आफ्नो छुट्टै सन्सार सृजना गरेँ । ठुलो बाबू हुर्कियो । सानो पनि बिस्तारै हुर्केला । सानो घर बनायौं, जिम्मेवारी पुर्ण भयो । कसैलाई मेरो खाँचो छैन, इहलिला सकियो तर होइन रैछ । जिन्दगी प्यारो छ, सबै प्यारा छन्, बाचुन्जेल हो प्रतिस्पर्धा, मर्ने दिन नराम्रो र अजाती बिरलै हुन्छ्न् । एकदिन पनि मुल्यवान छ । म मेरो सन्सार भत्किन दिन्न । मलाई उठ्नु छ । नियतीको यो लडाइँमा जित्नु छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button