टाउको जुधाएर एउटै मोबाइलमा केही खोजिरहेका केटाकेटी

जम्काभेट

एसबि सेर्पाइली

मंसिर जन्मिएर पनि जवान हुँदै छ । जाडोले पनि त्यसैको सिको गर्दै छ । अस्ति-अस्तिसम्मको धमिलो भेरीको पानीले चोला फेरेर हरियो भैसकेको छ । त्यसलाई सुम्सुम्याउँदै बग्ने हावा त्यसकै विशेषतामा कडा/चिसो भएको छ । भेटिनेजति सबैलाई आफ्नै रङ्गमा रङ्ग्याउँछ; चिसो बनाउँछ/ठिहिर्याउँछ । घाम झरेपछि/रात परेपछि झन उन्मत्त हुन्छ ।

यतिबेला साँझको आठ बजेको छ । भेरी किनारको सिमलचौर बजारलाई अँध्यारोले छपक्कै छोपेको छ । मौकामा चौका हान्दै चिसोले पनि मुटु छुँदैछ । फ्लोरिसेन्ट बत्तीको प्रकाशमा उज्याल्लिएको कर्मा होटेलको डाइनिङ हल चकमन्न छ । सर्सर्ती नजर डुलाउँछु,- सबै टेबल कुर्सीहरू खाली छन्, सिवाय एउटाबाहेक ।

हातमा हेलमेटको भारी छ, भित्र पसेर बिसाउन र बस्न खोज्दैछु । ढोकामा उभिएको छु । एकजोडी केटाकेटी टाउको जुधाएर एउटै मोबाइलमा केही खोजिरहेका छन् । द्वार उत्तरतिर छ, म उत्तरतिर छु । उनिहरू दक्षिण फर्किएका छन् । अनुहार देखिदैन । म उनीहरूलाई चिन्दिनँ ।

ध्यान मोड्छु । नजर मोड्छु । तर मनमा एकतमासको चस्का पस्छ- निलो कलरको ज्याकेटमा आफुलाई लुकाएकी त्यस युवतीको शारीरिक ढाँचा त उस्मानीको जस्तै लाग्छ । तर अहँ, ऊ यतिबेला यहाँ कसरी हुन सक्छे? यस बखत ? यस ठाउँमा ? उसलाई यहाँ कल्पना गर्नु मरुभूमिमा जीवन खोज्नुजस्तै हो । म निश्चिन्त हुन्छु । र, अपोजिट तिरको ठाउँमा गएर बस्छु । यतिन्जेल उनिहरू मेरो चासोको बिषयभन्दा पर गइसेका हुन्छन् । म खल्तीबाट मोबाइल झिकेर व्यस्त हुन्छु ।

`ओ..! हाई..!!´एउटा महिला स्वर बेस्सरी झस्किए जसरी चिच्याउँछ । मेरो ध्यान भङ्ग हुन्छ । यताउता हेर्छु । केटासँग टाँस्सिएर बसेकी त्यही युवती बिथोलिएकी हुन्छे ।

`हाई..! तपाईं कहाँबाट यहाँ? ओ माई गड!´उहीँ रफ्तारमा तत्कालै ऊ पुनः कराउँछे । उसका आँखामा एकाएक हर्ष-विभोर छछल्किन्छन् । उसले दुवै हातले मुख छोप्छे । अब मेरा आँखाहरू निश्चिन्त हुन्छन् । मलाई झट्का लाग्छ । ऊ त उस्मानी नै हुन्छे ।

उस्मानी राणा । उसको बारेमा `अस्ताएको जुन´मा केहीसम्म भनिसकेको छु । मलाई र मेरो देशलाई छोडेर गएको पाँच बर्ष पछि आज ऊ यसरी यहाँ भेटिई; जो मेरो कल्पना बाहिर थियो । मलाई यसपटक पनि उसले नमज्जाले सरप्राईज दिई ।

म एकाएक छोडिगएको दिनमा गएँ । पल्लो घरको छतमा चिसो कपाल झट्कार्दै ऊ टहलिदै गरेको सम्झिएँ । मेरो लागि मुस्कुराउने ती ओठहरूलाई सम्झिएँ । अन्तिमपल्ट भरिएका उसका आँखाहरूलाई सम्झिए । यतिबेला मुख छोपेर निर्निमेष मलाई हेरिरहेका उसका नजरहरूलाई देखेँ । विभोर भएँ । भावुकताको भासमा भास्सिएँ ।

गला अवरुद्ध भयो । उसका केही जिज्ञासाका उत्तर अत्यन्तै अौपचारिकताकासाथ दिएँ । खुलेर शब्दहरू निस्किएनन् । तर मलाई थाहा छ, उस्मानीले बुझेकी छे – मेरा आँखाहरू धेरै बोलेका छन् ।

उ चकित थिई । साइडको पुरुष ट्वाल्ल । बरु उसलाई हेर्दै बनावटी मुस्कान मुस्कुराएँ । उसले पनि त्यसरी नै फिर्ता गर्यो ।


हिसाब राखेको छु । यतिबेला उस्मानी २६ बर्षकी भई, उसको मान्छे छत्तिसमा बढी । उस्मानीको हाइट पाँच पोइन्ट दुईतीन । उसको मान्छेको ६ मा बढी । उसले आफ्नो जीवनलाई उसैसँग सुरक्षित देखेर कदमहरू चाली । यसमा कसैको केही भन्नू छैन । तर म सम्झिन्छु- उसले मेरो देश छोड्नुको एक महिना पहिलेको एकसाँझ, उसका र मेरा सहकर्मी मौजुद डाइनिङ हलमा उसको अगाडि बसेको एकजना साथीलाई सम्बोधन गर्दै ठूल्ठूलो स्वरमा भनेकी थिई,- `दिपजी! तपाईंलाई एउटा कुरा थाहा छ, अपवाद बाहेक संसारमा कसैको पनि जोडी सुहाउँदो परेको हुँदैन । उदाहरणको लागि तपाईं यति हेन्सम हुनुहुन्छ तर तपाईंको गर्लफ्रेन्ड तपाईं जत्तिको हुनुहुन्न । मेरो साथी-सर्कल र आफन्तहरूमा त्यस्तै पाउँछु । केटा राम्रोको केटी राम्रो हुन्न, केटी राम्रोको केटा राम्रो हुन्न । हाम्रो सौर्न्दर्य मूल्य/दृष्टिकोणको सवालमा मलाई पनि मेरो ह्यान्सम लाग्दैन ।´

खैर, जेसुकै होस् । तर एक्कासी आज उसलाई देखेर मभित्र स्मृतिहरूको थामीनसक्नु बाढी आएको छ । विभोर छु, बेचैन छु ।


एकअर्काको शान्त तलाउमा एकअर्का आज ढुंगा बनेर खसेजस्तो भयो । ऊ शान्त छैन, तरङ्गित छे । म पनि शान्त छैन, उसरी नै तरङ्गित छु । आँखाहरू हट्नै मानेका छैनन् । मन स्थिर हुन मानेको छैन । तर बोलीहरू स्थिर छन् । सिमित अौपचारिकता बाहेकको अन्य आवाज नपुग्ने बिचमा अजङ्गको पर्खाल छ । उसको मान्छे छ ।

उसरी नै सदाझैँ:
समय आफ्नै गतिमा अघि बढ्यो । ऊ घर्कियो । उनीहरू जानेबेला भयो । उनीहरू अँध्यारोमा त्यहाँबाट निस्किए । भ्याइनेजति ठाउँसम्म ऊ सँगसँगै मेरा नजरहरू पनि नमानेरै गए । निस्किनेबेला यसपटक पनि उसले फर्किएर हेरी, जसरी उतिबेला पनि हेरेकी थिई । मलाई उसको गन्तव्य र ठेगाना सोध्ने नैतिकता र आँट दुवै भएन ।

केहीबेरमै पर पुगेर अँध्यारोमा हराएको सडकमा छिरेर उनिहरू पनि हराए । अघिसम्म ठूल्ठूला अंकहरू उक्लिदै गरेको त्यो ठाउँ, ऊ गएसँगै घटेर एकैछिनमा शून्य भयो । म पनि मुर्दा जलाइसेपछीको श्मशानघाटजस्तै एकाएक शून्य भएँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button