
डुकुनी, सुकुनी, बुकुनी र भालुभुत्तेले पनि त्यो समाचार सुने
कथाः बुकुनी
गुरुदत्त ज्ञवाली
कैलाली जिल्लामा खैलार भन्ने गाविस थियो । त्यस गाविसमा बिजुलिया भन्ने गाउँ छ । ६०–७० घर, गुजुप्पको गाउँ र केही घरहरु गाउँको किनारतिर छिरलिएका पनि छन् । लाग्छ, मुल गाउँलाई जङ्गलका घर वा टोलले रक्षा गरेका होउन् । गाउँको पूर्वतिर प्राथमिक विद्यालय भर्खरै शुरु भएको अवस्था छ । बिद्यालय त्यसै गाउँको लागि मात्र खोलिएको जस्तो छ । धेरैजसो थारुहरुको बस्ती छ तर अरु विभिन्न जात–जातिको बस्ती पनि छ । चारैतिर जङ्गगल छ । पश्चिमतिर कनरा नाम गरेको खोलो छ । यो खोलो उत्तरबाट बग्दै आएर गाउँलाई अर्ध–गोलाकारमा घेर्दै दख्खिनतिर बगेको छ । महेन्द्र राजमार्गको सुख्खडतिरको लामो पुल यसै नदीले बनाउन लगाएको हो ।
त्यस खोलालाई सबैले नदी भन्छन् र थारु जिभ्रोले लदी भन्छ । न लाई ल भन्छन् प्रायः । लवा धान, लवा बस्ती, लहर यस्तै । नवा धान, नवा बस्ती, नहर हुनु पर्ने हो । लौबस्ताहेको घर पनि त्यसै गाउँमा छ । नयाँ बस्ती भन्ने गाउँबाट आएकोले उसको नाम स्थानबिशेषबाट लौबस्ताहे भएको हो । लौबस्ता अरु पनि हुन्छन् उ निम्दी गाउँको नजिकै पर्ने लौबस्ताबाट बिजुलिया गएको हो । लौबस्तामा मझराबाट गएको हो । त्यहाँ उसलाई मझरियाने भन्दथे । मझरामा बनबर्षाबाट गएको हो । त्यहाँ बनबर्षाने भन्दथे । यसरी ऊ करीब ३०–३१ गाउँ चहा¥यो जीवन धान्न । हरेक गाउँमा उसका नाम फेरिए । उसको खास नाम भने भुतराम हो । भुतले जन्माएको छोरो । यस्ता मान्छे भाग्यमानी हुन्छन् भन्ने मान्यताको जवाफ लौबस्ताहेको जीवन चक्रले ब्यङ्ग्य गरेको छ । उसको परिवार सानै छ । उनीहरुमा ६।७ जनाको परिवार सानो मानिन्छ । १ सय २० जनाको सगोल परिवार देखिएको त्यो समाजमा मिलेर बस्छन् । अहिले भने आधुनिक सभ्यताले छोएको छ ।
लौबस्ताहे आफू कमैया हो, हाल कानूनमा कमैया प्रथा उन्मुलन भएको छ वा अम्लेख भएको छ । त्यसो त बि. सं. १९९४मै चन्द्रसम्शेरले कमारा–कमारी अम्लेख गरेका हुन् । मुक्त कमारा–कमारीहरुको बासस्थानको ब्यवस्था गरिएको स्थानको नामबाट अम्लेखगञ्ज नाम रहेको हो, जो मकवानपुर जिल्लामा पर्छ । मुक्त कमैयाका अम्लेखगञ्ज धेरै ठाउँमा छन् तर चन्द्रसम्शेरको पालामा जस्तो पनि ब्यवस्था सरकारले गर्न सकेको छैन । लौबस्ताहे त्यस्तै मुक्त कमैया हो र शिविरको पीडा धान्न नसकेर फर्केको हो ।
यस्तै कमैयाहरुको बिउ ब्यवहारमा कुना–काप्चातिर बाँकी छन् । उसकी पत्नी, दुइटा छोरा र तीन बहिनी छोरी । सबै हुर्केका छन् । काम गरेर खान सक्ने भएका छन्, यसो पनि भनुँ तरुनी तन्नेरी भएका छन् । काम त्यही त हो, गाई–बाख्रा चराउने र किसानको काम गर्ने । पुरुषले हलो जोत्ने । महिलाहरुले फुर्सदमा लेहंगा सिलाउने, ढकिया बुन्ने । हिउँदमा अन्न पात राख्ने डेहरी पाथ्ने । सम्पत्ति पनि त्यही हो । बर्खामा भने फुर्सदको मेसो मिल्यो भने माछा मार्न जाने । गँगटा, सिद्रा, घोँघी, उस्तै परे ठूलै माछा पनि पर्छन् । जीवनशैली यस्तै हो । कमैयाहरुको पहाडिया वा दख्खिनतिरका ठूला जमिन्दार परे भने थाहा पाइन्छ कस्तो दुःखद अवस्था हुन्छ ।
स्थानीय थारु वा अरु साना जमिन्दार रहेछन् भने, को जमिन्दार, को कमैया खासै मेसो पाइन्न । सबैले मिलेर काम गर्छन् र मिलेर खान्छन् । कमैयाको स्थानीय रिति अनुसारको तलब हुन्छ । सबै हिसाब अन्नमा हुन्छ । धान, तोरी, दलहन जे उब्जन्छ त्यही पाउँछन् । पैसाको हिसाब हुन्न । पाउने भन्दा बढी लगेछन् भने माघमा मात्र पैसामा हिसाब हुन्छ । अर्को वर्ष त्यसै ठाउँमा बसे भने ऋण थपिने हो । कमैया नछोडुञ्जेल तिर्नु पर्दैन । छोडेर गएमा जुन जमिन्दारकहाँ जाने हो उसैले ऋण सखारेर लैजान्छ । यस्तो ऋणलाई सौँकी भन्छन् । लुम्बिनी अञ्चलका तराइमा भोटा भन्छन् । मुक्त कमैयाको कानूनले छोयो भने ऋण पनि तिर्नु पर्दैन । काम पाइन्न भनेर सबै कुरा भन्दैनन् । यस्तै संस्कार भित्रको कमैया हो लौबस्ताहे । १ लाख २० हजार उसको थाप्लोमा ऋण थियो । उसको खास ऋण ३०–४० हजार हुँदो हो, ब्याजै ब्याजले त्यति पुगेको हो । जुन जमिन्दारले लैजान्छन् उनले ऋण तिरेर लैजान्छन् वा किनेर लैजान्छन् । सबै कमैयाहरुको नियति त्यही हो ।
चैत महिना थियो । त्यो दिन एकाबिहानै डुकुनी गाउँदेखि उत्तरको जंगलतिर ‘झाडा फिरे जाइटुँ दाइ’ भन्दै गइ । ठुली छोरी हो ऊ । ऊ जन्मँदा आमाले धेरै दुःख पाएकोले दुखनी नाम राखेका हुन् । बोल्दा डुकुनी भन्छन् । थारु भाषामा बाउलाई बाबा र आमालाई दाइ भन्ने गर्छन् । डुकुनी झाडा फिर्न गएकी धेरै बेरसम्म आइन । पानी लिएर गएकी छैन । उनीहरुको खासै चलन पनि हुन्न पानी बोकेर जाने । कतै पानी तह परेछ भने धुने हो नत्र त्यसै पनि चल्छ । यो आम थारुको कुरो होइन लौबस्ताहे बर्गको कुरो हो । अचेल भने चर्पी अभियानले धेरै सुधार भएको छ ।
गाउँको नजिक जङ्गल पातलो छ । अग्ला रुख मात्र छन् । उत्तरतिर किर्तिपुर, निम्दी हुँदै सुख्खड जाने मुल बाटो पनि त्यतै छ । डुकुनी एकान्त वा गोप्य ठाउँ खोज्दै जाँदा परै पुगिछ । डुकुनी, देख्दा राम्री हो, लज्जालु पनि । जुन ठाउँमा पुगी, त्यहाँबाट पूर्ब जङ्गल पारी लोखरी भन्ने गाउँमा जाने बाटो पनि त्यतै छ । दुबै बाटोबाट मान्छे आवत–जावत गर्न थाले । मान्छे छल्न ऊ झन् पर जानु प¥यो । संयोग कस्तो प¥यो भने त्यतै गाई चराउन जाने गैवार रहेछन् । विचरालाई दिसाले च्याँपेको छ, तर ठ्याँस्स बस्ने ठाउँ तह परेको छैन । र, अब त जे पर्ला–पर्ला नजिकैको अस्नाको रुखनेर पुगेर बस्छु भन्दै अलि दगुरी । बिजुलिया गाउँकै गैवार थिए, देखे र चिने । लौ डुकुनी त भागी भन्ने परेछ, पछि–पछि लागे । डुकुनी पनि लाजले झन् दगुरी । नजिकैको लोखरीतिर जाने बाटोमा कुनै युवक पूर्वतिर जाँदै थियो । लोखरी तिरै । एक्लो मान्छे, जङ्गलको बाटो, त्यसै पनि मनमा अलिकति डर पहिल्यैदेखि थियो । गैवारहरु दौडेको देखेपछि लुट्न आएजस्तो लाग्यो । हुन त उसंग के पो थियो र ? मन डरायो । भाग्यो । डुकुनी त्यही केटासँग भाग्दैछे भन्ने लाग्यो गैवारहरुलाई ।
चार–पाँच घण्टासम्म डुकुनी घरमा नफर्केपछि घरमा खोजी हुन थाल्यो । कहाँ गई भन्ने उत्सकता जाग्नु स्वभाविकै हो । घरको हल्ला गाउँभरि फैलियो । मान्छे त हुलै बाँधेर खोज्न हिँडे । जङ्गलमा के भयो भन्ने शङ्का भयो । यदाकदा त्यो जङ्गलमा बठिनीहरु बदमास युवाहरुको फन्दामा पारेका पुराना घटना थिए । बठिनी भनेको तरुनी हो । डुकुनी पनि बठिनी हो, उमेरको हिसाबले । गाउँलेहरु जङ्गलमा पुग्दा डुकुनी फर्कंदै थिई । उसको लेहँगाभरि दिसा लत्पतिएको थियो । थाम्नै सकिनछ छोडिदिई । कनरातिर गएर धोइ–पखाली गर्ने सोँच थियो मौका परेन । अरुले उसको मर्म बुझेनन् । अर्कै फन्दामा परिछ भन्ने भयो । ऊ बोल्न सकेकी छैन र यथार्थ कुरा बोले पनि कसैले पत्याउने पक्षमा छैनन् । गाउँमा फर्केर ठूलै कचहरी बस्यो । जङ्गलमा भाग्ने को केटो हो, उसको खोजी गर्ने भन्ने निर्णय भयो । र एउटा टोली लोखरीतिर लाग्यो ।
लोखरी, पहिले आलोक चौधरीको गाउँको नामले प्रशिद्ध थियो । उनी बंगाली चौधरी थिए । डाक्टरै त थिएनन् तर अध्ययन र अनुभवले डाक्टर थिए । सबैले डाक्टर भन्थे । पछि मेनिन्जाइटिसले समातेछ । अन्ततः देहान्त भयो । हुल पहिले मिश्रजीको घरमा गयो । उनी घरमा भेटिएनन् । केटो त्यो गाउँ हुँदै अझ पूर्ब लागेछ । कहाँ जानु पर्ने थियो गयो, भेटिएन । बिजुलिया गाउँको हल्ला सर्बत्र भयो । इलाका प्रहरी भजनीमा कुरो पुग्यो । एफ एमहरुले समाचार बाँचे । डुकुनी बोलेकी छैन र उसको सोझो कुरो कसैले पत्याउनेवाला पनि छैनन् । दिन बित्यो, साँझको समय छ । लौबस्ताहे खटियामा बसेकोछ । अरु दुइटी छोरी आमासँग घरभित्र छन् । छोराहरु अरु छिमेकी भन्दा फरक देखिन्नन् । त्यो दिन कलवा र बेरी सँगै भयो । कलवा भनेको बिहानको खाना र बेरी भनेको साँझको ।
सुकुनी माईली छोरीको नाम हो । ऊ जन्मँदा उसकी आमाले खासै दुःख नपाएको हुनाले सुखनी नाम राखे । बोल्दा सुकुनी भन्छन् । ऊ पनि बठिनी भइसकेकी छ । बोलचालमा बठिनीलाई बठिनिया पनि भन्छन् । तीनवटै छोरीको भोज भएको छैन । बिहेलाई भोज भन्छन् । सुकुनीले बिहान उठ्ने बित्तिकै उक् उक् गर्न थाली । ‘का भइल री.., तोहरो चाल ते निक नैबा काहुन् ?’ उसकी दाइले नजिकै आएर सोधिन् । ‘कुछु नाइ, पेट बठ्ठाइता ।’ सुकुनीको सोझो जवाफ आयो । हिजो डुकुनीको त्यो राइँदलो, आज सुकुनीको कुलक्षण, उसकी आमाको निधारमा एक्कासी चिसा पसिना आए । उसले सुटुक्क लोग्ने लौबस्ताहेलाई भनी । लौबस्ताहे भाउन्नियो एकैछिन् र मुखमा आएको गाली गर्न थाल्यो । उनीहरुको समाजमा कुन अश्लि र कुन न श्लि भन्ने ख्याल हुन्न । ऊ बर्बराएको कुरा छोराहरुले सुने । ठूलो छोराको नाम रेञ्जर हो बोलाउँदा रेञ्जरवा भन्छन् र सानोको नाम भालुभुत्ते हो । गाउँमा रेञ्जर आएको बेलामा जन्मेकोले रेञ्जर नाम राखे । भालुभुत्ते आएको बेलामा जन्मेकोले भालुभुत्ते नाम रह्यो । स्थानीय बोलीमा वन रक्षकलाई भालुभुत्ते भन्छन् ।
त्यस घटनाको भोलिपल्ट बिहानै डुकुनीको बिषयमा भलमन्साको घरमा फेरि कचहरी बस्यो । भलमन्सालाई पूर्वतिरका थारुले बढ्घर भन्छन् । भलो गर्ने मान्छे भनेको हो र यो गाउँलेले हरेक वर्ष चुनेर राख्ने पद हो । गाउँको मुखिया भनेको हो । बहस शुरु भयो । बहसले सुकुनीको पनि प्रशङ्ग जोड्यो र कचहरीमा सामेल गराइयो । गाउँका केटाहरु कोही गलगलाएर हाँस्न थाले, कसैले जिस्क्याउन थाले । बयस्कहरु कोही मुखमा आएको अपशब्द प्रयोग गरेर गाली गर्दैछन् । र भलमन्सा लगायत अलि पाका किसानहरुले समस्याको समाधान खोज्दैछन् ।
यहाँ किसानको अर्थ घरमुली भन्ने हुन्छ । पूर्वतिर दरबारी भन्छन् । पहिले डुकुनीलाई केरकारको शैलीमा सोधे । अदबकासाथ उसले ‘हेगे गैल रहुँ मनै देखके भाग्लुँ’ भनी । उसको कुरो हावामा हरायो, पत्याएनन् । कुनै थारु युवकसँग भाग्दै थिइ सफल भइन भन्ने निष्कर्ष निकाले । अरु खासै त केही भएन डुकुनी नक्कली वा चनमते बठिनिया हो भन्ने भयो । डुकुनी रोई, अरु सबै हाँसे ।
कचहरीमा सुकुनीको बहसको पालो आयो । साँच्चै भन्ने हो भने सुकुनीको पेट दुखेको थियो । हिजो–अस्ति कचर–पचर खाइछ क्यारे, पचेन । पेट ढुस्स भयो र उक्–उक् भयो । कचहरीका एक जना गुरुवा, गुरौ पनि भन्छन्, उनले सुकुनीको पेट छामे । आँखाका परेला फर्काएर हेरे र पेटमा गर्भ रहेको कुरा गरे । यो समुदायमा पेट छाम्ने, पेटमा औँलाले टुक–टुक हान्ने जस्ता काम गर्न सामान्य मानिन्छ । गुरुवाको कुरो सदर भयो । सुकुनी अचम्म परी । दिदीको घटनाले उसलाई पनि त्यस्तो लफडा ब्यहार्नु परेको भन्ने त बुझी, उसले मात्र बुझेर के गर्ने ? “केकर पेट हो बता ..?” सबै एउटै स्वरमा कराए । लौबस्ताहे बिचरा मुढो जस्तो भएको छ । यो समाजमा यस्ता धेरै र साँच्चै घटना–दुर्घटना हुने गर्छन् । यसरी नै कचहरी बसेर निर्णय गर्छन् र कचहरीको निर्णय लागू हुन्छ । त्यसपछि घटना सामसुम हुन्छ । त्यो दिनको फैसलाले दुईटा सुँगुर खाएर उनीहरुलाई चोख्याउने निर्णय भयो, डुकुनीको नाममा एउटा र सुकुीको नामको एउटा सुँगुर । यो सबै खर्च लौबस्ताहेले ब्यहार्ने भयो । उसको ऋणै थपिने त हो … !
यो समाजमा यौनजन्य अपराध, पोइल गएकी पत्नीलाई फर्काएर ल्याउने, अबिवाहित बठिनिया कसैले भगाएर लगेमा फर्काएर ल्याउने जस्ता काममा सम्झौता गर्दा यौनाङ्गको नामै तोकेर चोख्याउने भन्ने चलन छ । यस्तो शब्द आम बोलीचालीमा चल्दछ । चोख्याउनु भनेको सबै गाउँले मिलेर सुँगुर काटेर खानु हो ।
दिउसो डुकुनी र सुकुनी घरबाट बाहिर निस्केनन् । बुकुनीलाई पनि सबैले गिज्याउन थाले । उ पनि दिदीहरुको साथमा छ । बुकुनी कान्छी बहिनी हो । उ जन्मेको दिनमा छिमेकी महिलाहरुले बुकुवा ल्याइदिएका थिए । यो अवसर पहिले मिलेको थियो –थिएन , एउटा नाम राख्नु थियो बहाना भयो । बुकुवा भनेको तोरी पिसेको धुलो हो । बच्चाको शरीरमा बुकुवा दल्ने चलन हुन्छ यो समाजमा । तीन बहिनी बसेर मनका कुरा गरे । आफूहरु अन्यायमा परेका कुरा पनि गरे, कता–कता हेपिएको महसुस भयो । गरीब होलान्, सामान्य समाज भन्दा असभ्य देखिएलान्, अशिक्षित होलान् । मन त उस्तै हो, पीडा पनि त उस्तै हो र न्याय –अन्यायको मर्म उस्तै हो । उनीहरुमा मातृ मानवतामा इख उत्पन्न भयो । मनमा अनौठो खालको अठोट उत्पन्न भयो तर के गर्ने भन्ने बिषयमा बाटो भने देखेनन् । दाईले मिजनी बनाएर ल्याइन् । मिजनी भनेको अर्नी हो । अचेल नास्ता भन्ने चलन छ । मिजनी बिहानको भात थियो । भातमा पानी खन्याए, त्यसैमा नुन हाले । प्याज र खुर्सानी टोके । एकैछिन सबै कुरा बिर्से ।
दिन धकेलिँदै छ । दिनभर मसुरो गोडेकोले लौबस्ताहेका परिवार सबै थाकेका छन् । बेलैमा बेरी खाएर सुते । लौबस्ताहे निदाएन, उसले आफ्नो बिगत सम्झ्यो । उसकी आमा बठिनिया छँदा एक रात भुतले च्याँप्यो र गर्भवती भइन् । छोरो जन्म्यो, नाम भुतराम रह्यो । सोझो कुरो हो, कुनै पुरुष बिनासूचना ती महिलाको बिस्तरामा पुग्यो । उनले प्रतिकार गर्न सकिनन् । न त को मान्छे थियो चिन्न सकिन् । त्यस्तो अवस्थाबाट जन्मेको सन्तान भुतको नाममा हुन्छ अथवा देउताको सन्तान मानिन्छ । भुत उनीहरुका देउता हुन् । त्यसो त हिन्दूरुहरुले मान्ने सबै देवी–देवता मान्छन् । चाड–पर्ब सबै मान्छन् । मान्ने तरिका फरक हुन सक्छ, संस्कार फरक हुन सक्छ । पछि जुन पुरुषले ती महिलालाई बिहे गर्छ ती सन्तान पनि ब्यहोर्छ । भाग्यमानी सन्तान ब्यहोर्दा उ खुसी पनि हुन्छ । यो पुरानो मान्यता हो । सुकुनीको समयमा पनि समय फेरिएन र त्यही चिन्तनको कचहरी बस्यो । यी कुरा सम्झेर लौबस्ताहेले छोरीका बिषयमा उठेका कुरामा चित्त बुझायो । छोरीका समस्या वा बाध्यतामा उसको विबवक घुमेको छैन । उसले उसकै भाषामा यस्तै गण्ठेउला सोँच्दा सोँच्दै पछिल्लाहारा भएछ । मुर्गाको पहिलो डाँको बोल्यो । ‘आ, मुर्गाक डाँक बोलल् भिन्नही भइल काजुन् ?’ यसो भन्दै उ बाहिर निस्क्यो र बम्बा चलायो । घटघट पानी पियो र भित्र पस्यो । बम्बा भनेको चापाकल हो ।
उता उसकी पत्नीको पनि हालत त्यस्तै भएछ । रातभर निद्रा लागेनछ । छोराछोरीको चिन्ता कसलाई पो लाग्दैन र ? त्यसमा पनि सुत्ने बेलामा छोरीहरुले खुलस्त कुरा गरेका थिए । त्यस कुराले आमाको मन छोएको थियो । बुढा–बुढी मिलेर आगो सल्काए । तराइमा बिहानमा चैते जाडो असाध्यै तीखो हुन्छ । गोरु बेचेर सिरक किन्छन् भनिन्छ ा साँच्चै पनि हो । र, एकछिन आगो तापे । त्यसै त उनीहरुको बिहानै उठ्ने चलन हुन्छ । आज त झन सबेरै सबै उठे र आगो ताप्न थाले । “का कैना हो ¥यो छाइ–छावा ? कैसेक गुजार कैना हो ? बडा बेइज्जत भइल् ।” लौबस्ताहेले छोराहरुलाई पनि सोध्यो र जवाफ कसैबाट आएन । छावा भनेको छोरो र छाई भनेको छोरी हो ।
बुकुनी कान्छी छोरी हो, उसको उमेर पनि १८ पुगेको छ । सबै २ । २ बर्षका फरक छन् । उसले बेस नेपाल, फाया नेपाल र सेवक नेपाल भन्ने संस्थाको नामसम्म सुनेकी छ कुरो बुझेकी छैन । उसका संगिनीहरुबाट यो कुरो थाहा पाएकी हो । उसलाई यति सम्म थाहा छ, ती संस्थाले थारुहरुको बिषयमा र खास गरेर कमैयाहरुको बिषयमा राम्रो सेवा गर्छन् । हुन त ती संस्था एनजिओ हुन् र त्यस क्षेत्रमा धेरै काम गरेका छन् । आज बुकुनीको मनमा लाटो सरस्वती खुल्यो । यो कुरो दिदीहरुलाई पनि भनी । बुकुनी अरु दिदीहरु भन्दा टाठी हो र हरेक कुरामा उत्सुक पनि । जमिन्दारको घरमा बस्दा कहिले कम्लर्नी भए, ओर्गानीको काम गरे । उनका छोरा–छोरीको रहन सहन देखे । खाएको, पढेको र बोलेको देखे । सुने । बुकुनीले धेरै कुरा बुझी । पढ्न पाइन तर जमिन्दारका छोरा–छोरीले पढेको कुरा कता–कति सम्झी । जमिन्दार भन्दैमा सबै खराब पनि हुन्नन् ा र, कम्लर्नी बन्नुको मतलव बिचार शून्य प्राणी पनि होइन । त्यस संगतले उसमा थोरै चेतनामा फरक पारेको हुन सक्थ्यो ।
फरङ्ग उज्यालो भएपछि बुकुनी धनकुमारीको घरमा गई । धनकुमारी सामान्य पढे–लेखेकी थारु युवती हुन् र सामान्य किसानकी छोरी हुन् । अलिकति सामाजिक काममा संलग्न महिला पनि हुन् । शुरुमा त बदनाम घरकी बुकुनी किन मेरो घरमा एकाबिहानै आइ भन्ने परेछ धनकुमारीलाई । संस्कारलाई जित्न धाकुमारीले पनि सकेकी छैनन् । उनको बुकुनी प्रतिको तीखो हेराइले बुकुनी पनि झस्की र पीडाका आँसु खसाली । एकैछिनमा सबै कुरा भए । बुकुनीका कुराले धनकुमारीको मन छोयो र रोयो पनि । बुकुनी घरमा फर्की । के मन्त्र लिएर फर्की थाहा भएन ।
घरको किचलोपछि एक साता भयो, लौबस्ताहे काममा गएको छैन । जमिन्दार थारु किसान हुन् नामका जमिनदार हुन् बिचरा । सामाजिक र बौद्धिक स्तर लौबस्ताहेको भन्दा भिन्न छैन । उनीहरु सम्धी–सम्धीको नाताले बोल्छन् । बैवाहिक संबन्ध केही छैन । आज सम्धी किन आएनन् काममा भन्ने लागेको छ । यो महिना खासै कामको माचोको महिना पनि होइन । बर्खामा जोत्नको लागि कमैया राखेको हो । चलनले गर्दा बाह्रमासे वा महिनावारी भएको मात्र हो । फागुराम उनको नाम हो । बोलाउँदा फगुवा पनि भन्छन् । फागुको दिनमा जन्मेकोले फागु नाम राखेको हो । होलीलाई फागु भन्छन् । फागुराम बिहानै उठेर लौबस्ताहेको घरमा गए । लौबस्ताहेको घर भनुँ वा बुकुरो फागुरामकै डिहुवामा छ । डिहुवा भनेको बारी हो । मकै र तोरी छर्छन् ।
डिहुवामा, पानी लाग्दैन । यस्तो जग्गा डिहुवा हुन्छ । लौबस्ताहेको घर सुनसान छ । मान्छे छैनन् । घरको अवस्था हेर्दा सबै भागेजस्तो छ । कुखुरा, बाख्रा केही छैनन् । भित्र डेहरी–कुठुली मात्र छन् । फगुराम फनक्क फर्के र गाउँमा हल्ला गरे । चौकीदारलाई खबर गरे कचहरी डाक्न । चौकीदारले भलमन्साले भनेको मात्र मान्ने अनुशासन छ । भलमन्सा पनि भेटिएनन् र कचहरी डाकिएन । त्यो दिन त्यसै गयो । ‘सारे कोरी भाग गइल ओकर बेटियाके … ।’ फागुरामले मुखमा आएको फुक्लो गाली गर्नु बाहेक केही काम लागेन । लौबस्ताहेको परिवार त्यहाँबाट बेपत्ता भयो । कहाँ गयो कसैले चासो राखेनन् ।
थोरै पुराना कुरा गरौँ । बिजुलियादेखि पश्चिम कनरा नदी पार गरेपछि पचमुडिया भन्ने गाउँ आउँछ । त्यसपछि ठूलो जङ्गल छ । जङ्गल पार गरेपछि कुकुरभुकुवा भन्ने गाउँ आउँछ । कुनै समयमा पतिराम नाम गरेका थारु किसानको पनि घर त्यहाँ थियो । उनको ४ बिगाहा जग्गा थियो । लक्का जवान हुँदा भुतले जन्माएको छोरो सहितकी महिलासँग बिहे गरे । यसको चाँजो–पाँजो गाउँकै कचहरीले गरिदिएको थियो । यस्तो पनि हो, पतिरामले भाग्य स्याहारेका थिए । भाग्य स्याहारेकै समयदेखि उनको दुर्भाग्य शुरु भयो । त्यसै साल गोईं मरे । राँगा वा गोरुको हललाई गोईं भन्छन् । खेती राम्ररी गर्न सकेनन् र मध्य बर्खामा सबै खेत बटैयामा दिएर मझराका जमिन्दारको घरमा कमैया बसे । आउने माघमा एक बिगाहा खेत बेचियो र ब्यवहार मिलाए । थारुहरुको संस्कार भन्ने कि, अशिक्षा भन्ने ? दारु, जाँड, नाच, एक्काहोेरे स्वभाव आदि पतनका कारण हुन् । अति परम्परागत कृषी प्रणाली र बेहिसाबको खर्च यो पनि पतनको कारण हो । कुनै रस–रङ्गमा लागेपछि लागेको लाग्यै गर्छन् । पतिराम यसैको शिकार भए । बजारमा २० रुपियाँ किलो खुर्सानी हुँदा बजियाले उनीहरुलाई ४०का दरले बेच्छ । बजिया भनेको बनिया हो । उता २० रुपियाँ किलो धान हुँदा १० रुपियाँ मूल्य कायम गर्छ । सबै कुरा बस्तु बिनिमयमा हुन्छ र त्यो माध्यम भनेको उही धान हो । राम्रो लाउने, ओढ्ने, बिछ्याउने र मीठो खानेमा खास खर्च हुन्न वा पुग्दैन भन्छन् । चारै बर्षमा पतिराम पूर्ण कमैया भए वा जग्गा बेचेर सकियो । केही महाजनले खाए, केही बनियाले खाए र बचेको जमिन्दारले । महाजन भनेको साहु हो, भारतीय मझौला ठग ब्यापारी । उनै पतिरामको छोराको नाम भुतराम हो ।
बाउसँग छेकराहे (बाख्रा चराउने), गैवार, (गाई चराउने) भैंसवार (भैंसी चराउने) जस्ता काम गर्दा–गर्दै भुतराम पनि पूरा काम गर्ने कमैया बन्यो । तनेरी भएपछि कैलाली गाउँकी बठिनियासँग स्वभाविक भोज भयो । त्यहाँ कैलाली भन्ने गाउँ छ, त्यसै गाउँको नामबाट जिल्लाको नाम कैलाली रहेको हो । भनिन्छ कैलाली गाउँ कुनै जमानामा बोग्टानको सदरमुकाम थियो । यो कुरो प्रमाणित हुन बाँकी छ, कैलाली कुनै रुख बिशेषबाट बनेको नाम पनि हो । कोइलारी नामको रुख । कोइरालो भन्ने रुख हुन्छ, त्यसैबाट अपभ्रंश हुन पनि सक्छ । बोग्टानलाई बड्काफाँटा पनि भन्छन् । बोगटीहरुको जमिन्दारी । कनरा नदीदेखि पूर्व कर्णाली नदी सम्मको क्षेत्र मलवारा भने जस्तै । मल्लहरुको जमिन्दारी मलवारा हो । यो राणा कालको कुरो हो । मलवाराको सदरमुकाम भजहनी हो र अहिले भजनी भनिन्छ ।
यसरी भुतराम बयस्क कमैया भयो । भुतरामले के–के सहेन ? कमैया जीवनमा फलामका सरियाले समेत जमिन्दारको कुटाई खायो, सह्यो । खाने खर्चको ऋण नपाउँदा भोकै बस्यो त्यो पनि सह्यो । बिरामी हुँदा उपचार पाएन, थलियो, त्यो पनि सह्यो । काममा नजाँदा ज्याला काटियो तर १८ घण्टा काम गर्दा कसैले टिठाएन । त्यो पनि सह्यो । उ मान्छे थियो वा कुनै कमैया जातको पशु प्राणी ? समाजले बुझेन । उसले भन्ने गथ्र्यो, “जिम्दरवाके जन्नी बडा कर्रा होइनास् । करुवासन भर करिहीँ । कमवा देख्बे नै करिहीँ ।”
श्रीमतीलाई जन्नी मनै भन्छन् आइमाई मान्छे भनेको । जननी शब्दको अपभ्रंश । जिम्दार भन्दा जिम्दार्नीहरु कडा र निर्दयी हुन्छन् रे । एक दिन हलो जोत्दा भैंसाले फाली कुल्च्यो र हलो भाँचियो । राँगालाई भैंसा भन्छन् । हलो भाँचिएकोले बनाउँदा दिनभर जोत्ने काम हुन सकेन । त्यसै झोँकमा बाबु साहेबवाला जमिन्दारले फलामको सरियाले मरुञ्जेल कुटे । उ मरेन । धेरै दिनसम्म काममा भने जान सकेन । काममा जान नसकेको अवधिको हर्जाना तलब जिविकाबाट काटियो । उसको जीवनमा असाध्यै दुःखद क्षण त्यही थियो । यो लौबस्ताहेको मात्र कुरो होइन । आम कमैयाहरुको जीवन त्यस्तै–त्यस्तै हो । हो, कुनै जमिन्दार दयालु पनि हुन्छन् । हुन्थे । त्यो अपवाद हो चमेरो उड्ने जस्तै । उडे पनि चमेरो चरो होइन ।
कुखुराले पहिलो डाँको निकाल्दा बिहान ४ बजेको थियो । उसका परिवारले चाहिने जति हाँडा–भाँडा बोकेर बिजुलियाबाट जङ्गलको बाटो हुँदै पूर्वतिर लागे र बञ्जरियाको मुक्त कमैया शिविरमा गए । उक्त शिबिर जोशीपुर गाबिस भित्र पर्छ । त्यस कुराको चाँजो–पाँजो धनकुमारीले मिलाएकी थिइन् भने सकृयता बुकुनीको थियो । स्थानीय समाजसेवी, सामाजिक सेवामा संलग्न गैह्रसरकारी संस्था (एनजिओ) जस्तो कि सेवक नेपाल, बेस नेपाल तथा फाया आदिले सबै मुक्त कमैयाहरुको सेवा गर्ने कर्तब्यानुसार लौबस्ताहेको परिवारले पनि पाउने भयो । तर शुरुमा उसलाई त्यहाँ मिसिएर घुलमिल हुन गाह्रो भयो । उ यसअघि त्यस्तै शिबिरको भगौडा जस्तो हो तर त्यो ठाउँको होइन अन्य शिबिरको । मुक्त कमैयाको सुबिधाको प्रकृयाबाट उ बाहिरिएको थियो वा नाम काटिएको थियो । एक त सरकारले दिने सुबिधाको अप्रयाप्तता, र कमैयाहरुको चेतनानाको अभाव । इष्र्या जाग्यो भनुँ अरुहरुलाई । लौबस्ताहेको परिवार त्यहाँ १ हप्ता पनि टिक्न सकेन र भजनीको शिबिरमा पठाउने ब्यवस्था भयो ।
भजनी, तुलनामा उज्यालो ठाउँ हो । त्यहाँ उसको बासको ब्यवस्था भयो । मुक्त कमैयाको शिबिरमा होइन स्वतन्त्र तर नजिकै । संगत भने सातै जनाको परिवारले सानो–तिनो काम पाउने अवस्था पनि भयो । सबै संस्थाको सहानुभुति, स्थानीय समाजको सहानुभुति अथवा न्युनतम् मानवीय मर्यादा र शिबिरमा बस्नेहरुको सद्भाव उसले पायो । कुनै बेला समय बिताउन यस्तो धौ हुन्छ एक घण्टा एक दिन बराबर हुन्छ । र कुनै बेला यस्तो पनि हुन्छ जीवन बितेको पत्तै हुन्न ।
लौबस्ताहेको परिवारले त्यो दिनदेखि समय बितेको पत्तै पाएन । एक न एक काम सबैले पाए । सबै मजदुरीमा लागे । लगभग पैसाको मुख नदेखेको परिवार, सबैको गर्दा दैनिक हजार बाह्रसय आम्दानीको हैसियत बन्यो । दिन बिते, महिना बिते, वर्ष पनि बित्यो । दोश्रो वर्षमा त एउटो चिटिक्को घर बनायो । घर बन्न महलै बन्नु परेन । कच्ची घर तर उसको निजी घर । ऐलानी पर्ति जग्गाको सानो घडेरी उसले पनि पाएको थियो । यो सुबिधा अरुले पनि पाए होलान् । लौबस्ताहे एक्लो भएन ।
अब रेञ्जरवा रेञ्जर प्रसाद भयो । भालुभुत्ते भोलाप्रसाद भयो । आमाचाहिँको नाम पनि नयाँ राखियो । डुकुनी दुखिया चौधरी भइ र सुकुनीको नाम सुखनी चौधरी भयो । उनीहरुको नागरिकताको प्रमाणपत्र बनेको थियो–थिएन तर नाम सच्चियो । पेशा सोझियो । त्यो ठाउँ फाप्यो । बुकुनी पनि बुधकुमारी भइ । बुकुनीले उन्नतिको निकै फड्को मारी । शुरुका दिनमा उनीहरु लगायत टोलका सबै प्रौढ कक्षामा सामेल भए । चेली–बेटी समुहमा पर्नेहरु चेली–बेटी शिक्षामा सामेल भए । अब त कसैले लेहँगा लगाएका छैनन् । कुर्ता–सुवाल वा शुटमा छन् युवतीहरु । नेपाली राम्ररी बोल्छन् । उनीहरुको मौलिक सुन्दरता भित्र चेतनाको क्रिम लगाएर बसाउने भएका छन् । असाध्यै राम्री भएका छन् । आमा भने रनभुल्लमा छन् । ‘का भइल का भइल …..।’ सपना जस्तो ।
लौबस्ताहे पनि अब लौबस्ताहे रहेन, उ भुतराम डँगोरा थारु भयो । उ काठको मिस्त्री बनेको छ । उमेरले ६० काटेको छ । काम राम्रो जानेको छ । कहाँको लाज ढाक्ने ँंगौटा र शीरमा फाटेको टोपी मात्र लगाएर नाङ्गै हलो जोत्ने मान्छे । अब त हनुमान धोति लगाउने भएको छ । शरीर ढाक्ने लुगा लगाउने भएको छ । हेर्दा उस्त–उस्तैै छ, जुनबेला उससँग बिजुलियामा भेट भएको थियो, आज पनि देख्दा उस्तै छ । तर आज उज्यालो छ । रेञ्जर, घर बनाउने मिस्त्री भएको छ भने भालुभुत्तेले टेक्टर मर्मत गर्ने वर्कशपमा काम गर्छ । उ पनि मिस्त्री नै भएको छ ।
डुकुनी र सुकुनी, अब त नाम सँगै काम पनि फेरिएको अवस्था छ । उनीहरुले लुगा सिलाउने पेशा सिके । लाउन–खान सिके । बोल्न बतुवाउन सिके । सहयोग जो सुकैले गरे पनि सेवा गर्ने संस्था वा ब्यक्ति, उनीहरुले इमान्दारिता पूर्वक कर्तब्य निर्बाह गरे । अथवा जश पाए । धेरै एन जि ओहरुले जश नपाएको अवस्था पनि छ । नियत बिग्रेको अवस्था पनि छ र त्यो ठाउँ त्यस्तै पनि हो । यौनशोषण गर्ने गरेको अवस्था पनि हो ।
पहिले राजापुर र सत्ती, अचेल त सर्बत्र र अरु समुदायमा समेत बादी महिलाहरुको खुला यौन ब्यवसायले कतिपय अवस्थामा बिग्रेको समाज पनि हो त्यो । यी सब गल्छेँडाबाट उम्कने आँट बुकुनीले गरेकी हो । जुन बर्गबाट उ उठेकी हो, जुन दिनबाट उसको मनमा सरस्वती पसेको हो, धन्यवादकी पात्र बनेकी छ । र आज त्यही बिषयमा शिक्षा बाँडेकी छ । जमिन्दारहरुको बरु लल्ल बिल्लको अवस्था छ , कोही कालले मरे । कोही द्वन्द्वले मरे र चिन्तै चिन्ताले मरे वा मरेतुल्य भएका छन् ।
पढाएको कुरा बुकुनीले छिटो टिपी । दिदीहरुले सामान्य लेख–पढ सिकेर छोडे । बुकुनीमा प्रारम्भिक ज्ञानको बिउ रोपिएको रहेछ । मौका पाउने बित्तिकै हर्लक्क भयो । शुरुमा थारु भाषामै सिकी । क्रमशः नेपालीमा सिकी । अचम्मको कुरो उसले अंग्रेजी पनि सिकी । एउटा विधि आएको थियो शिक्षाको । नीति नै बनेको थियो । उ नजिकैको महुन्याल उच्च माविमा कक्षा ८ मा भर्ना हुने योग्य भइ । भर्ना भइ । पास पनि भइ । ९ कक्षा पढी, १० कक्षा पढी र त्यो पनि पास गरी । बुकुनीले एस एल सी परीक्षा दिने भइ । नाम त बुधकुमारी भइसकेको छ । त्यही बुकुनी हो । एस एल सी पनि पास गरी । उसको क्षमता, कुशलता, लगनशीलताको बारेमा सर्बत्र चर्चाको बिषय बन्यो । उ आत्तिइन, मात्तिइन । बाउ–आमाले भोगेको कथा, उसैले भोगेको कथा र अझ उसका दिदीहरुले बिजुलियामा छँदा भोगेका अपमानका कथा आँसुले लेखेर राखेकी थिइ । आज सबै पुछी ।
त्यो दिन चर्को घाम लागेन, कतै हुरी बतास आएन । आकाशमा बादलका छिर्का–छिर्की थिए, एकै छिनमा हराए । आकाश सफा छ । बुकुनीको घर परिवारको मन पनि आकाश जस्तै छ ।
र, आजै बिहान, महुन्याल उच्च माविको प्राङ्गण भब्यताकासाथ सजिएको छ । ठूला–बडा, सज्जन तथा महिला समेत मञ्चमा बसेका छन् । दर्शकदीर्घामा धेरै मान्छे छन् । नजिकै घर भएकोले भुतराम तथा उसका छोरीहरु त्यसै हुलमा मिसिएका छन् । मौसम अनुकूल त छंदैछ । कुनै बेलाका क्रूर जमिन्दार र आजका कुनै समाजसेवी प्रमुख अतिथिको आसनमा छन् । बुकुनीलाई सम्मान गर्ने कार्यक्रम छ । कार्यक्रमको समुद्घाटन भयो । स्वागत मन्तब्य भयो । र सम्मान गर्ने विद्यार्थीहरु अरु पनि थिए होलान् । नाम बोलाइयो । शुरुमै ‘बुधकुमारी चौधरी …..।’ भनेर बोलाइयो । बुकुनी छाँगाबाट खसे जस्ती भई । हर्ष र आश्चर्यको मिश्रित भाव थियो उसमा । उसको मुटु ढक्क फुल्यो, रोई र सम्मान तथा पुरस्कार ग्रहण गरी । दर्शक दीर्घामा बसेका उसका दिदीहरु पनि चुन्नीले मुख ढाकेर रोए ।
बुकुनीको बारेका परिचय बाँचियो अथवा पढियो । लौबस्ताहेकी छोरी । त्यहाँ लौबस्ताहे भनिएन, भुतरामकी छोरी भनियो । एउटी कमैयाकी छोरी, कमलर्नी …..। कुनै समयमा भुतरामलाई हलो भाँचिएको कारणले फलामको सरियाले मरुञ्जेल हिर्काउने जमिन्दार प्रमुख अतिथि थिए । आज उनैले उसैकी छोरीलाई सम्मान गरे । पुरस्कार दिए । प्रमुख अतिथि र भुतरामका आँखा जुधे । भुतरामले हेरेको हे¥यै ग¥यो प्रमुख अतिथिको मुखमा, मनले त के सोँच्यो थाहा भएन तर उसको मुखाकृतिले बेस्सरी रिसाएर दाह्रा किटेको भान हुन्थ्यो । प्रमुख अतिथिलाई किन हो किन चक्कर आयो । सभा, नियमानुसार समापन भयो । प्रमुख अतिथिलाई चक्कर आएकै अवस्थामा उपचारको लागि हेल्थसेण्टर तिर लगियो ।
दोप्पहर तिरको समय, गाउँ सुनसान छ । गाउँका कुकुर पनि भुक्ने बेला भएको छैन । गर्मीको मौसम त हो नै । हावा खासै चलेको छैन । घाम चर्केका छन् । बुकुनीको घरमा रेडियो बजेकै छ । समाचारको धुन आयो र एफएमले समाचार बाच्यो । कसैको देहान्त भएको भुमिकामा समाचार शुरु भयो । दानी, दयालु, समाजसेवी, गरीबका अन्नदाता….। भन्दै भन्दै गयो । साबिक नाम डुकुनी, सुकुनी, बुकुनी, आमा, लौबस्ताहे, रेञ्जर र भालुभुत्तेले पनि त्यो समाचार सुने । सो कार्यक्रममा आजका प्रमुख अतिथि हुनुभएका …….। र, शोक धुन बज्यो ।
मर्नुअघि उनले भनेका थिए, ‘मेरो घरमा समेत कमैया बसेको भुतरामका परिवारले भोगेको त्यो दुःखद जिन्दगी र आजको यो सुखद जिन्दगी तथा मेरो त्यो बेलाको राजसी जिन्दगी अनि आजको छोरा–छोरी लाखा–पाखा लागेर बुढेसकालमा पीडा र पश्चाताप निलेर बसेको जिन्दगीको कुराले च्वास्स मुटु घोँच्यो । मेरो घरको चुला–चौका सम्हालेर कम्लर्नीको भूमिका निर्बाह गरेकी बुकुनी, आज मेरै हातले सम्मान गर्ने अवसर मिल्यो । उसले र उसका परिवारले पुराना कुरा बिर्सुन् । मेरो तर्फबाट पनि बुकुनीलाई सम्मान गर्नु । उसले अरु पढ्छे भने पढ्ने ब्यवस्था गरिदिनु । म अब……।’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



