प्रमलाई राजदूतीय बधाई ‘प्रोटाेकाेल’सित मेल खाने कुरा हाे हाेइन ?

समाचारभित्रकाे खुला गाेप्य !

अरविन्द रिमाल

याे रायाेलाई पहाड बनाउन खाेजेर पाेखिएकाे विचार हाेइन ! याे हाम्रा पहिलेका राष्ट्रपतिकाे, भनिन्छ नि, खाेपीसम्म चप्पल लगाएर पुग्ने बेसाेमतिला राजदूतकाे व्यवहारले, देशका उपप्रधानमन्त्री- परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्न जाँदा शिष्टाचार विपरीत खुट्टा उठाई, गम्म फूलेर कुराकानी गरेकाे दृश्य सम्झना आउँदा उठेका आक्राेश हुन् । कुरा के भने परमादेशीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिला त अमेरिकाली राजदूतले गत मङ्गलवार ट्विटरमार्फत बधाई दिएकाे, भारतीय राजदूतले बुधवार बधाई दिएकाे र बिहीवार प्रमकाे निवासमा प्रम तथा अमेरिकी राजदूतबीच बिहान भेटवार्ता भएकाे खबरले उठाएका प्रश्न ।

हाम्राे देशका राजदूतलाई अमेरिका तथा भारतमा यस्ताे राष्ट्राध्यक्ष वा सरकार प्रखुका ‘खाेपी’सम्म पहूँचकाे ‘हैसियत’ छ छैन, परराष्ट्रविद् वा विज्ञरुले बताउन् । अनि प्रमलाई राजदूतीय बधाई ‘प्रोटाेकाेल’ सित मेल खाने कुरा हाे हाेइन, त्याे पनि बताउन् ।

नीति नभएकाे परराष्ट्र नीतिवाला देशकाे रूपमा व्यंग्य गरिने हाम्राे देशले यता केही समयदेखि दिशालिई काम गर्दागर्दै पूर्व प्रधानमन्त्री ओलीजीले आफ्नाे परराष्ट्रमन्त्रीलाई ‘रणनीतिक खारेजी’ गरेकाे घटनाले पनि माथि बताइएका दुई देशका राजदूतलाई यति ‘निर्धक्क’ बनाएकाे हुनसक्छ, भन्लान् काेही । राज्यका चार अङ्गमध्ये तीन अङ्गले देश सञ्चालनमा अनिवार्य रूपले प्रमुख स्थान लिने कार्यकारी अङ्गलाई नराम्ररी घाइते बनाएकाे परिस्थितकाे अनुचित लाभ उठाएकाे मात्र हाेला भन्ने पनि तर्क आउला । तर याे घटनाले टीकाकारलाई यस व्यवहारभित्र कुनै खास रणनीति लुकेकाे आशङ्का नदिई रहन सकेन ।

कुरालाई अब यसरी राखाैँ ।

पहिलापहिला नेपालकाे सरकारले आफ्नै राष्ट्रिय आवश्यकता अनुसार कुनै विदेश नीति अख्तियार गर्दा ‘हामीलाई नसाेधी गर्ने-गरेकाे’ भन्ने भारतीय हप्काई खानुपरेकाे कुरा अब थाेरैलाई मात्र थाहा छ, हाेला । हैकमवादी नशाकाे यस हङ्हङतिले नछाेडेकाे भारतीय सरकार अहिले आफूभन्दा अघि बढेर नेपालसम्बन्धी कूटनीति देखाउने अमेरिकीकाे यस व्यवहारबाट किन चूप ? अनि नेपाल सरकारलाई किन औंला नठड्याइएकाे भन्ने आश्चर्य नभइरहन सक्दैन ! चीन सरकारका राजदूतले यस्ताे गरेकाे भए भारतका अपवादविना नेपालविराेधी पीत मीडियाहरुले के-के पाे रडाकाे मचाउने थिए हाेलान् !

तर अब त असंलग्न आन्दाेलनका तीन संस्पाथक देशहरुमध्येमा पनि एउटा प्रमुख देशकाे मानसम्मान पाएकाे भारतकाे वर्तमान सरकारले आफैँ आफ्नाे विद्वेष नीतिका कारण चीनविरुद्ध आइलागी अमेरिकी ‘शरणं गच्छामी’ गरिसकेकाे छ । त्यसैले हाेला, सरकारले मुख्यत: चीनविरुद्ध तर आम तवरमा अमेरिकालाई मन नपर्ने गरी स्वतन्त्र विदेश नीति सञ्चालन गर्ने कुनै पनि स्वाभिमानी देशविरुद्ध खडा गरिएकाे [अ]प्रशान्त क्षेत्रीय डक्ट्रिनभित्र पर्ने एशियाली ‘नेटाे’ नाम दिइएकाे फाैजी संगठनमा जाेतिन पुगिसकेकाे, पनि ! अब ‘विदेश नीति क्षेत्र’ सञ्चालनमा भाइभाइ भएका यी दादाहरुले आफ्नाे अह्राईपह्राइ मान्ने र मान्दै आएकाहरुकाे सरकारबाट आफूले चाहे बामेजिम गर्नगराउन सजिलाे भएकाे, यसरी जनाऊ दिएकाे त हाेइन ? भन्ठान्न गाह्राे पर्दैन । नत्र त एक देशकाे प्रधानमन्त्रीलाई छिमेकी देश वा अन्य मित्र देशले आ-आफ्ना सरकार प्रमुखबाट बधाई सन्देश पठाउनु पर्ने शिष्टाचार हाेइन, र ?

याे जिली न गाँठीकाे कुरा उठाएकाे हाेइन, न त याे रायाे जस्ताे माम्लाेलाई पहाड नै बनाउन खाेजेकाे हाे ।

नाम चलेका राजनीतिक विश्लेषक- पत्रकार कनक दीक्षितले अस्तिका दिन प्रधानमन्त्रीलाई विश्वास प्राप्त गर्न लागेकाे नेपालकाे विदेश नीतिसञ्चालन गर्न सुयाेग्य व्यक्ति राेजियाेस् भन्ने सुझाव ट्विटरमार्फत पठाएकाे यस टीकाकारले पनि पढ्याे । उनकाे परामर्शकाे उचित सम्मान गर्दै यहाँ के आशङ्का उठाउनु अनुचित नहाेला भने परमादेशकाे, त्यसमा पनि भागबण्डाकाे सरकारमा, त्यसमा पनि थप कुरा द्वेष- विद्वेषले जन्मेकाे सरकारी यन्त्रविन्यासमा –अङ्ग्रेजी भनाईलाई सापट लिई भन्दा, ‘बिहानकाे माैसमले दिउँसाेकाे रूपरङ्ग बताउँछ’ भन्या झैँ– नेपाल मातृभूमिका राष्ट्रिय हितप्रति एवम् नेपाली जनताका चिरपरीक्षित आकांक्षालाई मूर्तरूप दिनमा समर्पित के काेही कुनै राष्ट्र वा राष्ट्र मन्त्री निस्कलान् भन्ने प्रश्न मात्र पनि नउठिरहन सक्दैन । किनकि भने, एमसीसी अनुबन्धबाट देशलाई बन्धक बनाउने तथा राज्यकाे संसदीय प्रजातान्त्रिक व्यवस्थालाई विदेशकाे समर्थनबाट हत्या- हिँसाद्वारा ध्वस्त गर्ने तत्त्वहरुबाट नै याे सरकार बनेकाे हुनाले पनि यस्ताे कहालिलाग्दो विचार उपस्थित भएकाे हाे ।

तर समय र जनता दुवै शाश्वत बलवान् शक्ति हुन् भन्दै आजकाे याे शनिवारे विचार मन्थन यहीँ जय नेपालकाे उदघाेषसाथ सम्पन्न हुन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button