स्कुटर नकिनेसम्म यस्ता चर्तिकला अझ कति देख्नुपर्ने हो ?

कथाः बच्चोले बुझ्योचाहिँ के ?

सलुजा बस्नेत

सदा झैँ शीलालाई आज पनि हतार । एक गाँस भात टिपेर कुदेकी । धन्न बसचाहिँ बेलैमा नै पाउँछिन् । तर, सीटमा बस्ने त्यति धेरै अवसर नपाएकीले होला बस्नेतर्फ खास ध्यानचाहिँ हुदैन उनको । उभिने भाग त्यो दिन अलि फराकिलो पाएकी शीला पछाडि गएर उभिन्छिन् ।

घर गोठाटार भएकाले नेपाल यातायातकै बसमा सफर गर्न सजिलो उनलाई ।

त्यहि बसमा अंकल भन्न सुहाउने एउटा मान्छे पनि करिब ६-७ बर्षको बच्चो चेपेर चढेका हुन्छन् । बच्चो समातेर सकसले उभिएकाले होला सीटमा बस्नेले बच्चो चेपिदिन समेत नखोजेकाचाहिँ हुदैनन् । तर, सायद अपरिचित भएर होला बच्चोले बस्न भने मानेको हुँदैन । केहि बेरपछि उनीहरु अगाडिको २ जनाको सीट खाली हुनपुग्छ । सीट खाली हुनेबित्तिकै कुदने शीला त्यो दिन सीटमा ती अंकल नै बसुन भन्नेमा हुन्छिन् । र, फेरि त्यस्तै पनि हुनपुग्छ ।

घच्घच् रोकिने नेपाल यातायात न परो । यसो रोकिएको मात्र के थियो, मौका छोपी बस चढेका सलक्क परेका दुई केटी त्यही अंकलकै छेउमा गएर उभिए । सारै संस्कारी रहेछन क्यार अंकल ! उनीहरु आउने बित्तिक्कै ‘उठ् छोरा, महिलालाई पहिला बस्न दिनुपर्छ जहिल्यै पनि’ भनेको सायद नेपाल यातायातमा त्यो दिन दोहोरी नघन्एिकोले होला पछाडिसम्म प्रस्ट सुन्छिन् शीलाले ।

‘यदि हरेक आमाबाउले छोराछोरीहरुलाई यस्ता कुरा सिकाउने हो भने हामी पछिका महिलाका दिन अवश्य फिर्ने थियो होला’ भनी टोलाउन समेत भ्याएकी हुन्छिन शीला । फेरि त्यस्तो खचामखच बसमा कसैले त्यत्रो सम्मान दिएर बस्नुभन्दा कोचाहिँ बस्दैन होला र भनी मनमै हाँस्न समेत छाडदिनन् उनी । अलि बेर हिडेर के रोकिएको हुन्छ बस, ती केटीहरुले धन्यवाद भनेर ओर्लिएको देख्छिन शीलाले । ती अंकल छेउमै हुनाले पनि होला झट्टै बसी पनि हाल्छन त्यहि खाली सीटमा फेरि । त्यसमा शीलालाई खुशी नै लाग्छ ।

कहिले आफ्नो अफिस आउला भनेर हतारमा बसेकी शीलाको बस पुन कोटेश्वरको लामो जाममा रोकिन पुग्छ । अनि त्यो भदौको चर्को घाम र त्यो तिखो कन्डकटरको आवाज । सारै पोलिरहेको हुन्छ उनलाई । त्यत्तिकैमा दुई मोटा अधवैशे आन्टीहरु हुरुक्क हुँदै चढेका मात्र के देखेकी हुन्छिन्, एक्कासी चर्को स्वरमा ‘ओई ! भाइ खोइ त सीट ? अघि छ भनेको होइन खोइ ?’ भनेर कराएका ती आन्टीका आवाज त झन् कानमै ठोकिन्छ शीलाको ।

खास त्यस्ता कुरा सधै हुने र सामान्य लाग्ने शीलालाई त्यो दिनचाहिँ ती अंकलले फेरि दुख पाउने भए, अब झन् ती आन्टीहरुलाई सीट नदिने त कुरै छैन भन्ने लाग्छ । त्यत्तिकैमा कन्डकटर आएर अंकललाई ‘बच्चा काखमा राख्नुस्’ मात्र के भनेका हुन्छन्, एक्कासी ‘अँहँ ! म त सीट छोड्दै छोड्दिन बरु हामी दुवैको डबल पैसा दिउँला’ भनी झर्केको सुन्न पुग्छिन् शीला । फुटेको त्यो महान पुरुषको चरित्रको महल समेट्न पाउँदा नपाउँदै उनको आफ्नो गन्तव्य आइपुग्छ ।

हरेक दिन एक न एक अनुभव बोकेर आउने शीलाको अक्क न बक्कको अनुहार देखेर उनकी सहकर्मीले आज त्यस्तो ठुलै के दुर्घटना भयो फेरि भनेर प्रश्न समेत गर्छिन शीलालाई । सबै वृतान्त सुनाएकी शीला र उनकी सहकर्मी पनि अन्तिममा आएर त्यहि बच्चोमा अड्किन्छन्, उनीहरु यो जान्न चाहिरहेका हुन्छन कि आखिर त्यो अवोध बालकले आफ्नो बाउबाट के चाहिँ शिक्षा पायो त ? राम्रा तरुनीहरुबाहेक कसैलाई पनि सीट छोड्नु हुन्न भन्ने देखेको आफ्नो बाउको त्यो प्रस्ट अनि प्रत्यक्ष क्रियाकलापलाई नै बुझ्यो होला नि ! भन्नेमा हुन्छन् उनीहरु पनि । हामीले भनेर सिकाएको भन्दा पनि हामीले गर्ने हरेक कृयाकलापहरुलाई नै छोराछोरीहरुले नजानिँदो रूपमा नियालेर आत्मासात गरेका हुन्छन भन्ने कुरो प्रस्ट बुझेकी शीला अबका हाम्रा पुस्ता कस्ता बन्लान् त भन्ने सोचमा समेत डुब्छिन् ।

काम गर्दागर्दै बेलुकी ५ पनि बज्छ र हतार हतार फेरि बसमा चढेकी शीलालाई अफिस आउँदा र फर्किँदा एउटा ठुलै युद्ध जितेसरह लाग्ने र’छ क्यार !

सदा झैँ शीलाले सँगै खाना खान बसेका आफ्ना आमा, बुवा र दिदीलाई त्यो दिनको अनुभव नसुनाउने त कुरै थिएन । र, फेरि दिदीचाहिँ त्यो ती अंकलका बारेमा ठट्टा गर्न समेत छाडदिनन् पनि । उता सुब्बासरह सरकारी जागिर गर्ने बाउ पनि कहाँ पछि हट्थे र ! आफ्नो सहकर्मीले भर्खर नियुक्त भएकी अविवाहित महिला अधिकृतलाई गरेको छेडखानी र त्यसको परिणामस्वरूप उजुरी भोगेका सुब्बाले सबैका सामु माफी समेत मागेका र हाल मुन्टो लुकाउँदै हिँड्नु परेको बुबाका कुराले त झन् चर्कै हाँसो फुटेको हुन्छ शीलाको घरमा त्यो रात ।

सरकारी कार्यालयमा हुने त्यस्ता थुप्रा घटनाहरु आफ्ना बुबाबाट सुनेकी शीलाले बुबाको कुरो सकिन पाउँदानपाउँदै सदा झैँ स्कुटर किन्ने मुद्दा उठाउन भने छाडदिनन् । हुन त मुद्दा २ वर्ष अघिदेखि उठेता पनि झट्ट किन्ने अवस्था भने थिएन शीलाका बुवाको पनि । त्यसैले सदा झैँ दशैँको पेस्कीमा थपथाप गरी किनिदिने शर्त राखेका शीलाका बुवाको वाचा पुग्न भने अढाई महिना अझ बाँकी नै थियो ।

अरु त त्यही हो हजुर । विचरा ! शीला अनि पिठ्युँमा भिरेकी ठुलो ब्याग, त्यसमाथि हतारमा चालेका ती उनका ठुला ठुला फड्काहरु गोठाटारको डोटेल डेरीअगाडि आएर रोकिएको आजभोलि पनि देख्न सक्छौ हामी । सायद दशैँपछि अलि सजिलो होला शीलालाई । हाम्रो पनि अग्रिम शुभकामना छ उनलाई ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button