
कथा भयो जिन्दगी तर कविता लेखेँ
ब्राह्मणपुत्रको लकडाउन डायरी–५७
भरत शर्मा
कभरमोडलः रेखा लिम्बु
सडकहरुमा मोटरको ताँती लागेको छ, मानिसहरु घरबाट कार्यालय दौडिरहेका छन् । सरकार जोर–विजोरमा हिँड्नु भनेर सूचना निकाल्छ । जनता जोरमा पनि हिँड्छन्, विजोरमा पनि । यस्तोलाई कसरी लकडाउन भन्न सकिन्छ ?
सुरक्षाकर्मीको केको दोष ? जनता आजित भएर घरबाट बाहिर निस्केका छन् । काम त शुरु गर्नुप¥यो । यस्तो लकडाउनको समयमा लामो र प्रोज डायरी होइन, छोटो र सरल कवितात्मक डायरी नै उपयुक्त होला ।
देशले इतिहास रच्दै छ
संसारको सानो मन्त्रीपरिषद् ।
जनसंख्या–तीन करोड
पार्टी– तीसभन्दा बढी ।
मन्त्री हुन चाहने सयौं
तर मन्त्री पाँच मात्र ।
राजनीतिको ‘राज’ सकियो
कानुनले ‘नुन’ निकाल्दा ‘का’ हरायो ।
इतिहासमा यस्तो मन्त्री पहिले कहिल्यै थिएन
इतिहासमा यस्तो पछि पनि कहिल्यै हुँदैन ।
…
स्मार्ट डाउन
सकड न खाली न भरी
न जोर भो न विजोर
के भो केभो ?
महामारी हिजो पनि थियो,
आज पनि देखियो
लक स्मार्ट भो
जनताको जिन्दगी डाउन भो ।
न पुरा, न आधा कति खुल्यो–खुल्यो
न प्रशासनलाई थाहा भो
न शासकले भने–
कहाँ खुल्यो, कहाँ बन्द भो ।
चटक भयो
बजार खुल्यो
व्यापार बन्द भो
व्यापार शुरु भयो
बजार बन्द भयो ।
…
कथा
कथा भयो जिन्दगी
तर, कसरी लेख्ने ?
बोल्न नसक्ने भो जिन्दगी
कहाँ कसरी बोल्ने ?
सुन्नै नसक्ने भो देशको कथा
हरेकको जिन्दगीका कथा भयो ।
कथा नहुने कोही भएन
लकडाउनले कथा जन्मायो
व्यापारको कथा
जागिरको कथा
मजदूरको कथा
भोजनको कथा
सबैको साझा कथा
जिन्दगीमा मेरो र हाम्रो कथा ।
लेख्नै पर्ने भो
हामी सबैले
देशको कथा ।



