डायरीको डायरी

ब्राह्मणपुत्र लकडाउन डायरी–३६
भरत शर्मा

‘भोक सबैभन्दा ठूलो दुःख हो, संस्कार सबैभन्दा ठूलो सुख हो, त्यसैले तिमी संस्कारको पछि लागिरहनु जीवनमा सुख प्राप्त गर्नेछौं ।’

लकडाउनले खुसी भएँ म । किन खुसी भन्नुहोला ? पर्खनुस् म भन्छु ।

म खुसी हुनुको कारण हो, मैले पुरानो कुरा फेला पारेँ । सन् १९९९ मा भारतमा बस्दा लेखेको डायरी केही दिन पहिलेमात्र घरभित्र फेला प¥यो । अब खुसी हुनु परेन त ? तपाई भन्नुहोला, यस्तो सानो कुरामा पनि खुसी हुन सकिन्छ ?

सकिन्छ । र, म खुसी भएँ ।

‘भोक दुःख, संस्कार चाहिँ सुख’ डायरीमा लेखिएको वाक्य पढ्दा निकै खुसी भएको हो । यो कसले भनेको हो, डायरीमा अज्ञात भनेर लेखेको रहेछु् । त्यतिबेला मैले बुझेर लेखेँ वा राम्रो लागेर लेखेँ मलाई थाहा छैन । तर, आज २० बर्षपछि राम्रो कुरा लेखेको रहेछु भन्ने लाग्यो । त्यसैले खुसी भएँ । खुसी हुनका लागि कुनै कारण नैं चाहिन्छ भनिन्छ र मेरो कारण यत्ति हो ।

२० बर्ष पुरानो डायरी पल्टाएर पढ्दाको खुसी बयान गर्न सक्दिनँ ।

काशीमा पढ्दा विद्यार्थी जीवन लकडाउन जस्तै थियो । समयतालिका । उठनेदेखि सुत्नेसम्मको तालिका ।

‘भोकमा दुःख, संस्कारमा सुख’ अनुभव कतिले गर्नुभएको छ ? सबैले आफैले आफैलाई प्रश्न गर्नुहोला । म चाहिँ यो कुरामा सहमत भएँ ।

अहिले लकडाउन छ, आम मानिसको जीवनचर्चा बिग्र्रिएको छ । फ्रन्टलाइन र स्वास्थ्य सेवामा खटिनुपर्नेबाहेक सबै घरभित्र बस्दा ‘भोक’ नैं यतिबेला आमदुःख हुन थालेको छ । बाँच्नका लागि खानु र कर्म नगरिकन खानुको बीचमा फरक छ । मचाहिँ कर्म–संस्कारले जीवनमा सुखको अनुभुति गर्दैछु ।

श्रीमद्भगवतगीताको अध्याय ६ श्लोक संख्या ६ मा श्रीकृष्णले अर्जुनलाई उपदेश दिदै भनेका छन्, ‘बाबु अर्जुन, तिम्रो सबैभन्दा प्रिय मित्र तिमी हौं, तिम्रो महान शत्रु पनि तिमी नैं हौं ।’

कुरो अलि बढी दार्शनिक भयो कि ? डायरी पढ्ने सबै बर्गका पाठकले सरल तरिकाले बुझ्ने गरी लेख्न सकिनँ भने नेपालनाम्चाका सम्पादकज्यूको शब्दबाँण सुन्नुपर्छ । त्यसैले कठिन कुरालाई पनि सरल शब्दमा लेख्न सक्ने क्षमताको लागि माता सरस्वतीसँग आशीर्वाद मागिरहेको छु ।

हरेक व्यक्तिले जीवनमा ‘दुःख’ भोगेको हुन्छ । र, उसले ‘संस्कार’ बोकेर आएको हुन्छ । मित्रबाट सहयोग र धोका नपाएको कुनै ब्यक्ति हुँदैन । शत्रु नभएको व्यक्ति त कलिकालमा कहाँ भेट्नु ?

लकडाउन डायरीमा २० बर्षे पुरानो डायरीभित्र के–के लेखेको रहेछु, डायरीभित्र लेखिएका कुरा शुरु गर्छ । तर, त्यसअघि ‘यस्ता डायरी त हामीले पनि लेखेका थियौं’ भन्दै झर्को नमान्नु होला । यदि २० बर्ष पुरानो डायरी फेला प-यो भने त्यसमा तपाईं पनि खुसी हुनुहुन्छ । यो लकडाउनमा घरको कुनै पुस्तक राखेको दराजभित्र लुकेर बसेको छ छैन, आजदेखि खोज्नुस् ।

मेरो डायरीमा चाहिँ मैले मुलत १. संस्कृत साहित्य, २. नेपालका साहित्यकार ३. विश्वका साहित्यकार–दार्शनिकका साथै ४. पत्रकारितासम्बन्धी वाणीहरु चारवटा भाषामा लेखेको रहेछु । संस्कृत, नेपाली, हिन्दी र अङ्गेजी । आज चाहिँ शास्त्रीय वचनहरुलाई मात्र प्रस्तुत गर्छु । बाँकी आगामी दिनहरुमा लेख्नु त छँदैछ ।

‘अवस्यं भाविनो भावाभवत्येव नशंशय’ श्लोकको स्रोत चाहिँ लेख्न भुलेको रहेछु ।

अर्थः जुन कुरा हुुनु छ, त्यो कुरा नभईकन छोडदैन । हेर्नुस् त, आज संसारमा जाबो भाइरसले विश्व मानव जगतलाई त्रसित पारेको छ ।

हामीले रामायणमा लक्ष्मणले सीतालाई लकडाउनमा बस्नु भनेको पढेका थियौं । अहिले हामी आफै ‘भाइरस’ लाई पराजित गर्न घरभित्र बसेका छौं ।

‘सीता’ले लकडाउन पालना नगर्दा ‘रावण’ले अपहरण गरेर लंका लगे । अहिले हामीले लकडाउनको नियम पालना नगर्ने हो भने के होला ?

जीवनमा कर्म, चरित्र, र प्रवृति ठीक नभएसम्म जीवन सफल हुँदैन । भक्ति, ज्ञान, र कर्म जीवनको अपरिहहार्य तत्व हो । यो चाहिँ विष्णु पुराणमा उल्लेख भएको वचन रहेछ । हाम्रो सनातनशास्त्र केवल कर्मप्रधान छ । फलको आशा नगर्नु भन्छ । गीतामा पनि श्रीकृष्णले अर्जुनलाई ‘तिम्रो काम कर्म गर्ने हो, गर्दै जाऊ, फल कहाँ, कहिले, कसरी, किन, कसलाई, केका लागि भन्ने प्रश्न नैं नगर’ भनेका छन् ।

पत्रकारितामा एउटा सूत्र छ, ‘फाइप डब्लु वन एच ।’ प्रश्न सोध्ने काममा प्रयोग हुने यो सूत्रको प्रयोग कम हुन थालेको छ अहिले । तर यो सूत्र लेखक पत्रकार दुवैले कर्म क्षेत्रमा खटिदा प्रयोग गर्ने औजार हो ।

‘पत्रकारका लागि लेख्ने समय कम हुन्छ, त्यसैले पत्रकारिता हतारमा लेखिने साहित्य हो ।’

डायरीमा एउटा राजनीतिक भनाइ पनि रहेछ, ‘क्रान्तिकारी राजनीति गर्ने व्यक्तिको पहिलो उद्देश्य त्याग हो, दोस्रो सहनशीलता हो, तेस्रो धैर्य हो । राजनीतिचाहिँ सधै कुटिल खेलमात्र हुन्छ । त्यसैले राजनीतिमा लाग्नेहरुको शत्रु धेरै, मित्र कम हुन्छ ।’

यो भनाई पनि कसले भनेको हो ? डायरीमा अज्ञात छ ।

मेरो राजनीतिमा त्यति दख्खल छैन, चाँसो पनि त्यति धेरै छैन । समय मिलेको बेला मताधिकार प्रयोग गर्नेबाहेक कुनै दलको सदस्य नभएपछि देखेको, भोगेको र लागेको कुरा लेख्नका लागि कसैको डर छैन ।

यो पनि एउटा संस्कार हो, संस्कारभित्र सुख लुकेको छ । कुनै दलको सदस्य भएको भए आफुनो दलका कमजोरी लेख्न सक्ने आँट हुँदैन थियो होला । त्यसभित्र दुःख लुकेको हुन्छ ।

२० बर्षअघिको डायरीभित्रको सबैभन्दा मनपरेको ‘उपदेश मञ्जरी’को कवितांशबाट आजको डायरीको विट मार्न चाहन्छु ।

लेखेको जति कर्म, भाग्यमा छ उतिता मिल्नें छ पक्का भनी ।
उद्योग सबै छोडिदिने मानिसको नाशिन्छ भाग्य पनि ।।
तोरीमा तिलमा छ तेल तर त्यो आफैं कहाँ झर्छ र ।
पेल्नै पर्छ विना प्रयत्न मुखमैं आएर के पर्छ र ?

कवितांशको अर्थ लगाउन त्यति उचित नहोला । हरेक व्यक्तिले फरक–फरक ढंगले अर्थ लगाउन सक्छन् ।

फेरि अर्को १० दिन लकडाउन थपिएको छ । तपाईं–हामी सबैलाई समेत लकडाउनका दिनहरु सुखद होस् भन्ने कामना गर्दछु ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button