त्यो म हुँ

कविता
रेणुका जि सी

बोकेर इन्द्रेणी रंग छायाँभरी
हृदयको तलाउभित्र
छाउने
अरु नै होलान् ।

पोतेर हिमाली रंग कायाभरी
समुद्री छालजस्तै कामुक आँखाहरुभित्र
सलबलाउने
अरु नै होलान् ।

अरु नै होलान्
सुगन्धराजको मगमगाउँदो
वासना छरेर लट्ठ पारिरहने
गुलमोहर फक्रिरहेका अधरहरुसँग
अधरकै भाषा साँटिरहने
कपासजस्तै मुलायम तनभरी
समुद्री किनारको बालुवा झैँ
लपक्क भएर टाँसिरहने
अरु नै होलान् ।

अरु नै होलान्
तिम्रा
कविताहरुमा भाव बनेर जन्मिने
संगीतहरुमा सुर बनेर गुन्जिने
गीतहरुमा लय बनेर घन्किने
शब्दहरुमा व्यन्जना झैँ व्यन्जित हुने
अर्थहरुमा अलङ्कार बनेर सजिने
आख्यानकी सुन्दर पात्र बनेर
तिम्रा मथिङ्गलभरी चित्रित हुने
अरु नै होलान् ।

अरु नै होलान्
जो सपनाहरुमा छुट्टिदा समेत
तिम्रो मुटुमा काँडाले घोचेझैँ बिझाइदिन्छ
अर्को सपनामा भेटिने लोभमा
बिउँझेकै आँखा पनि निदाइदिन्छ ।

अरु नै होलान्
ती जो जो हुन्
जोसुकै हुन्
मलाई कहिल्यै थाहा पाउनु छैन
तर तिमीले यत्ति थाहा पाउनुपर्ने छ
अँ, ध्यान दिएर सुन मान्छे
तिमीले यत्ति थाहा पाउनुपर्ने छ
भर्खर तिम्रो फोक्सोभित्र पसेको
एक मुठ्ठी स्वाश जो छ नि
त्यो म हुँ ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button