
‘म कोही पनि होइन’
बबिता बस्नेत
‘बषौं लगाएर गरेको सत्यको खोज र त्यसबाट प्राप्त परिणामको बाटोमा सबै हिँडुन्’, गौतम बुद्ध चाहन्थे । विभिन्न मुलुकमा उनले देखाएको बाटो हिड्ने प्रसस्त प्रयास भए पनि हामीकहाँ भनें ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने कुरामैं रमाएर हामी बसिरहेका छौं ।
प्रत्येक महिना औंशी र पूर्णिमाहरु आउँछन्, जान्छन् । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका कारण बैशाख पूर्णिमालाई बुद्ध पूर्णिमाका रुपमा मनाउने गरिएको छ । संयोग कस्तो छ भने सिद्धार्थ गौतम जन्मिएको, उनले निर्वाण प्राप्त गरेको र उनको देहान्त भएको दिन एउटै थियो बैशाख पूर्णिमा ।
गौतम बुद्धसँग जोडिएको अर्को संयोग हो, रुख । उनको जन्म रुखको फेदमा भयो, रुखको फेदमा बसेर ध्यान गरिरहेका बेला ‘इन्लाइन्टमेन्ट’ प्राप्त भयो र उनको मृत्यु रुखको फेदमै भयो । चन्द्रमा र रुखसँगको यो गज्जबको संयोग थियो गौतम बुद्धको ।
सिद्धार्थ गौतम जन्मिएपछि ज्योतिषले भनेका थिए रे, यो बच्चा कि त राजाको रुपमा संसार बिजेता हुन्छ कि त भिक्षुको रुपमा । जे हुन्छ, संसारमा यसको नाम हुन्छ । राजा सुद्धोधन आफ्नो छोराको जन्मकुण्डलीलाई लिएर ज्योतिषले गरेको भविष्यबाणीको पहिलो भनाई पुरा होस् भन्ने चाहन्थे । त्यसैले उनी हुर्किदै जाँदा राजकीय सुख सुविधा बढाउँदै लगे । तर, १८ बर्षको उमेरमा जब उनले बुढो मान्छे बाटोमा देखे, मानिस किन बुढो हुन्छ भन्ने बारेमा उनमा जिज्ञासा भयो । बिरामी भेटे, यो के हो ? किन यस्तो भयो ? भन्ने प्रश्न मनमा आयो । घाट लाँदै गरेको लाश देखेपछि मानिस किन मर्छ ? के सबै मान्छे मर्छन् ? म पनि मर्छु ? भन्ने कुराले आत्मैदेखि हल्लायो । त्यसपछि खाने, लाउने, सुत्ने, उठ्ने, बिहे गर्ने, बच्चा पाउने मानिसका आम दिनचर्याभन्दा छुट्टै, जीवन र मृत्युको सत्यको खोजी गर्न सिद्धार्थ दरबारको बैभव छोडेर हिँडे ।
हिजोआज हामीकहाँ कतिपय मानिस मैले त्याग गरेँ भन्छन् । सिद्धार्थसँग राजकीय बैभव थियो, त्यसलाई त्यागे । अहिले जसले त्याग गरेँ भनिरहेका हुन्छन, उनीहरुसँग त्याग गर्नका लागि खासै केही हुँदैन । जिन्दगीमा भन्नु र गर्नुबीचको दुरी निकै लामो छ ।
बुद्धको बारेमा मनमा आउँछ, उनी रुखको मुनि नै ध्यानमा किन बसे ? त्यति बेला अहिलेजस्तो घरहरु थिएनन् । आश्रम बनाउने सोच पनि थिएन, शायद त्यसैले उनी रुखमुनि बसे । कठिनभन्दा कठिन समय गुजारेर गौतम बुद्धले जीवनको सत्य पत्ता लगाए । जसलाई बुद्धको आर्य सत्य पनि भनिन्छ । जीवनमा दुख छ, दुखको कारण छ, निराकरणका उपायहरु छन् । जिन्दगीमा सुख र दुख आफैभित्र छ, राम्रो नराम्रो आफैमा निहित छ । बुद्धत्व प्राप्तिपछि बुद्धलाई जसजसले तिमी को हौ ? भनेर सोधे, जवाफमा एउटै कुरा आयो— ‘म कोही पनि होइन ।’ जब मानिस आफु सबै थोकको अवस्थामा पुग्छ अनि उसले भन्छ, म कोही होइन, केही होइन । हामीकहाँ त कसैको परिचय माग्यो भने परिचयहरु यति लामा भइदिन्छन् कि तिनका योगदान नै परिचयले छोपिदेलान् जस्तो हुन्छ ।
बुद्धको सन्देश मध्येको एक विनम्रता हो । अहम्ले मानिसलाई मान्छे बन्न दिंदैन । हामी त आफैले आफैलाई ‘म यस्तो’ बाट सुरु गर्छौ । को कस्तो भन्ने कुरा मानिसको बोली, ब्यवहार र विनम्रताबाट थाहा हुने हो । अहम्माथि जति प्रहार हुँदा पनि सहन सक्ने भएपछि मानिस साधु या जोगी बन्छ । साधुजीवनमा आफुसँग जे जे भए पनि कमण्डलु बोकेर माग्न हिँड्ने गरिन्छ । हात थापेर ढोका ढोका माग्दै हिँड्नु भनेको आफ्नो सम्पूर्ण अहम् त्याग गर्नु हो । अहम्मा प्रहार हुँदा पनि सहनशील भएर एउटै व्यवहार गर्न सक्नु साधुजीवन हो, जुन जीवन बुद्धले अपनाएका थिए ।
सम्भावना र वास्तविकताबीचको दुरी लामो हुन्छ । सम्भावना अनुमान गर्ने कुरा हो, वास्तविकता भोगेर महसुश गर्ने या अनुभव गरिने कुरा हो । हामी सम्भावनाको कुरा गरेर, सोचेर जीवन गुजार्छौ, बुद्धले सधै वास्तविकताको कुरा गरे । सत्य आफैले अनुभव गर्नु पर्छ भन्ने सन्देश दिए । एक पटक एक ज्योतिषले जंगलमा मानिसको पाइलाका डोब देखेछन् । पाइलाका रेखा हेरेर कुनै राजामहाराजाका पाइला भन्ने लागेपछि उनले पाइला पछ्याउदै हिँडे । बुद्धलाई जंगलमा भेटेपछि ज्यातिषले भने— ‘तिम्रा पाइलाका रेखाअनुसार तिमी ठुलो राजामहाराजा हुनुपर्ने हो, तर तिमी त भिक्षुको भेषमा छौ । भन, म गलत कि तिमी गलत ?’
बुद्धले जवाफ दिए, गलत हामी दुवै छैनौं । तिमी भविष्यवाणी गर्छौ, म योजना बनाउँछु । योजना बनाएर अघि बढे
भविष्य राम्रो हुन्छ । मानिसहरु आफ्नो बारेमा थाहै नपाई, त्यसै हिँडिरहेका छन् । खुसी हुने उपायहरु हुँदाहुँदै दुखले यताउता भड्किरहेका छन् ।
भगवान बुद्धका सन्देश व्यवहारिक मात्रै छन् किनभने व्यवहारिक अभ्यासबाट आएका अनुभवहरु नै उनका सन्देश हुन् । ध्यान बुद्धले छोडेर गएको सबैभन्दा वैज्ञानिक जीवन बुटी हो, जसले मानिसलाई आत्मैदेखि स्वतन्त्र बनाउँछ । ध्यानले मानिसलाई सकारात्मक बनाउँछ, जसको प्रत्यक्ष सम्बन्ध शारीरिक र मानसिक स्वास्थसँग छ । प्रायः मानिस आफ्नो बारेमा थाहै नपाई, आफुलाई चिन्दै नचिनीअरुको बारेमा टिकाटिप्पणी गर्छन् । आफुलाई चिन्ने प्रक्रिया त्यति सहज छैन र कोशिस गर्ने हो भनें त्यस्तो गाह्रो पनि होइन । असल र खराब दुबै कुरा हामीभित्र छन् । असल गुणलाई बढावा दिएर खराबलाई कुल्चिने या खराबलाई हुर्काएर असल कुरालाई बढ्न नदिने हाम्रै हातमा छ । मानिसको आफ्नो शत्रु आफै हो र मित्र पनि आफै हो । मिठो बचन, राम्रो ब्यवहार, अरुलाई सम्मान र असल कामहरु हाम्रा मित्र हुन् जसले राम्रो नै परिणाम दिन्छन् । छुद्र व्यवहार, अरुको अपमान र बोली वचन हाम्रा शत्रु हुन्, जसले नराम्रै परिणाम दिन्छन् ।
बुद्धलाई सम्झिने हो भने बुद्ध नेपालमा जन्मिएका हुन् भनेर मात्र पुग्दैन, बुद्धले अपनाएका प्रज्ञा र शिलको उपयोग गर्नु पर्छ । ध्यानले नम्रतापूर्वक सबैलाई राम्रो व्यवहार गर्न सिकाउँछ । बुद्धले त्यतिका बर्ष कठिन संघर्ष गरेर पत्ता लगाएको सत्यलाई हामीले जीवन शैलीका रुपमा अपनाउन सक्यौं भनें हामीलाई असल हुनबाट कसैले रोक्न सक्दैन ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




Very impressive writing. Congratulations Babitaji. Keep going. All the best.