पाशुपत दर्शनमा बुद्ध धर्म​

डा. विपी बडाल

कर्पूरगौरं करुणावतारं, संसारसारं भुजगेन्द्रहारम् ।
सदा वसन्तं हृदयारविन्दे, भवं भवानीसहितं नमामि ॥

कपुर झैँ गोरो करुणाका अवतार यो संसारको सार (लोकेश्वर) सर्पको हार लगाएका सधैंको बसन्त झैं सबैको हृदयमा बस्ने भवानी सहितका शिवलाई नमस्कार | यो लोकका ईश्वर लोकेश्वर करुणामय नै भगवान शिव – पशुपतिनाथ हुनुहुन्छ | न आकार छ न निराकार छ | न कसैले देखेको छ न कसैले भेटेको नै छ | शुन्य छ, अनित्य छ | निरन्जन निराकार छ | न जात छ, न धर्म नै न लिङ्ग नै | देवता पनि छन् दानव पनि छन सुर असुर दुवै गण छन् | छ भनौं कतै छैन, छैन भनौं सबैको हृदयमा करुणास्वरूप रहेको छ | त्यसैले यो शिवतत्व अनन्त आकाश हो | निरन्जन निराकार र शुन्य हो | प्रथम आदिनाथ आदियोगी नै पशुपतिनाथ हुनुहुन्छ |

साश्वत सत्य नै धर्म हो | हालको रिलिजनको सबै भन्दा ठुलो समस्या भनेको राजनैतिक सिमा हो | राजनैतिक सिमा हटाउने वितिक्कै रिलिजन धर्म हुन्छ | ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भाषिक, भौगोलिक, साहित्यिक, सांगीतिक, मनोबैज्ञानिक दृष्टिकोणले नेपाल भनेको उत्तरमा कैलासमानसरोवर, उत्तर पुर्व र पुर्वदक्षिणमा ब्रह्मपुत्र, दक्षिणमा गंगा यमुना र पश्चिममा रावी नदी नेपालको प्राकृतिक तथा सांस्कृतिक सिमा हो | यो सिमा भित्र उत्पन्न भएका सबै धर्म, दर्शन, भाषा, सभ्यता संस्कृति सबै नेपाली हुन् | यो नेपाल दर्शन नै नेपाली सनातन धर्म हो | धर्म राजनैतिक सिमामा खुम्चिनु जरुरि छैन | यहि भूमिको केन्द्रमा नेपाली सभ्यताको केन्द्रमा भगवान श्रीपशुपतिनाथको प्रादुर्भाव भयो | शिन्धु सभ्यता भन्दा पुरानो पाशुपत सभ्यता हो |

यहि भूमिमा बुद्ध जन्मे, ज्ञान प्राप्त गरे, प्रब्ज्या गरे, महापरीनिर्माण गरे | यतिमात्रै होइन अन्य २८ पूर्वशाक्यमुनि बुद्धहरुको पनि यहीं जन्म भयो | यी सबै बुद्धहरुको एकीकृत दर्शन नै नेपाली बुद्ध दर्शन हो | तर नेपालमा थेरावादी, महायानी, बज्रयानी, लामायानी आदि बुद्धिष्ट सम्प्रदायमा तारतम्य मिलेको देखिदैन | यद्दपी सबै सम्प्रदायमा हिन्दु दर्शनको बलियो प्रभाव देखिन्छ | आजकालको दुषित राजनैतिक प्रभावले नेपालमा हिन्दुले बुद्धिष्टलाई र बुद्धिष्टले हिन्दुलाई होच्याउने नराम्रो प्रथा पनि प्रसस्तै पाइन्छ | यो परम्परालाई सुधार गर्न अनि आवस्यक छ | त्यसकोलागि सबै भन्दा पहिला नेपाली बुद्धिजम के हो बुझ्नु जरुरि हुन्छ | त्यसैले नेपाली बुद्धिजमको खोज गर्नु यस अध्ययनको प्रमुख उद्धेस्य हो | यस उद्धेस्य प्राप्तिको लागि बौद्ध तथा हिन्दु नेपाली साहित्यको समिक्षा गरि यो लेख तयार पारिएको छ | हाम्रो लागी हिन्दु-बौद्ध गाई-गङ्गा बराबर हो | पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भुनाथ, मुक्तिनाथ, मत्सेन्द्रनाथ, कुमारी, बज्रयोगिनी, लोकेश्वर, इन्द्र, भैरव, गणेस सबै हाम्रा पुजनीय बन्दनीय हुन् | पुर्खादेखि चल्दै आएको परम्परा नै हाम्रो पहिचान हो | बौद्ध र हिन्दु भनेर विभेद गर्नु नै फुट ल्याउन खोज्नु हो | त्यसैले हामी नेपाली फुटेर होइन जुटेर हाम्रो धर्म संस्कृति सभ्यता र पहिचान विश्वव्यापी बनाउनु आजको टड्कारो समस्या हो |

नेपाली बौद्धदर्शन भनेको के हो ? नेपाली संस्कृतिमा उम्रिएको, नेपाली समाजमा हुर्किएको, प्रेम करुणा र शान्तिको जगमा उभिएको, अनित्यतावादमा विश्वास गर्ने, इश्वरवाद र अनिश्वरवाद दुबैमा विश्वास गर्ने, हिमाल, पहाड, तराईका सबै समुदायलाई प्रेमको शुत्रमा बाँध्ने दर्शन नै नेपाली बुद्धिजम हो | थेरावादी, महायानी, बज्रयानी, लामायानी आदि सबैलाई समेट्ने एकीकृत दर्शन नै नेपाली बौद्ध दर्शन हो | तामांग (२०८०)का अनुसार, हिन्दुहरू बौद्ध किराँतलाई देख्दा मुस्कुराउँछन् । बुद्धिस्टहरू हिन्दु किराँतलाई देख्दा दर्शन गर्छन् । किराँतहरू हिन्दु बौद्धलाई सम्मान व्यक्त गर्छन् । आ–आफ्ना धार्मिक कर्म गरेपछि एकै ठाउँमा बसेर चिया नास्ता गर्छन् अनि गफिन्छन् । आफ्नो धर्म र आस्थालाई मात्रै सही मान्ने र अन्य धार्मिक समुदायलाई हेयको दृष्टिकोणले हेर्ने अथवा धर्मको नाममा द्वन्द्व गरेर संसारलाई अशान्त बनाउन उद्यत हुनेहरूका लागि गतिलो झापड हो, हलेसी महादेव (तामांग, २०८०) | धार्मिक सहिष्णुता र प्रेम हो नेपाली बुद्धिजम |

“बुद्ध वाज बर्न इन नेपाल” भनेर धेरै सूचनामुलक कार्यक्रम गरिए | के बुद्ध नेपाल मै जन्मिएका हुन् ? अहिले पो लुम्बिनी नेपालमा पर्यो त पहिले लगभग ६२३ बिसी तिर लुम्बिनी नेपाल नै थियो त ? के राजा सुद्धोधन सम्पूर्ण नेपाल मण्डलका राजा थिए त ? दुखी, रोगी, वृद्धको मुक्तिकै लागी बुद्धले गृह त्याग गरे, वहाँ विश्वको प्रकाश बन्नु भयो के सबैको दु:ख हट्यो त ? उनि राम भए, उनि कृष्ण भए, उनि महादेव भए, उनि गुरु पद्मशंभव भए, बज्रपाणी लोकेश्वर भए, बज्रयोगिनी, मुक्तिनाथ भए, उनै बुद्ध संकराचार्य भए तर अझै पनि मान्छे दुखी छ | यताउति भौंतारिएको छ | विवेकशीलताको उच्चतम विन्दु नै शुद्ध चित्त हो | यहि शुद्ध चित्त जहाँ भगवानको अर्थात् सत्यको अवस्थिति हुन्छ त्यसैलाई हिन्दूहरु आत्मा भन्दछन | त्यसैले शुद्ध चित्त नै आत्मा हो | सामान्य मान्छेले आफुलाई त चिन्न सकेको हुँदैन कसरी आत्मा र भगवान चिन्नु र ! यो गहिरो ध्यान तपस्या अध्ययन र अनुसन्धानको बिषय हो | ऋषिमुनी, लेखक प्राध्यापकहरुको काम हो | सामान्य काम गरेर खाने बर्गको विषय नै होइन | नेपाली बुद्धिजमको खोज गर्नु यस अध्ययनको प्रमुख उद्धेस्य हो | के हो नेपाली बुद्धिजम ? उक्त उद्ध्येश्य प्राप्तिको लागि बौद्ध तथा हिन्दु नेपाली साहित्यको समिक्षा गरि यो लेख तयार पारिएको छ |

चौतारीमा झोक्राएर बसेको थिएँ, मनमा धेरै कुरा खेल्दै थिए | आफ्नो घर परिवार र समाजको लागी कति संघर्ष गरें तर आज तिनै सन्तान तथा पत्नीले तुच्छ बोले | कसैको मुख हेर्न पनि मन छैन | तर कता जाउँ ? के गरौँ ? हे भगवान, मलाई किन मृत्य आएन ? साह्रै दिक्क भएर चौतारीमा आएर वसेको ! चौतारीको कुनामा पानीको धारा थियो | सबै बटुवाहरु पानी पिएर एकै छिन सुस्ताउने चौतारो हो यो | बुढापाका बसेर भजन गाउने, दु:ख सुख बाँढ्ने चौतारी हो यो | खासमा मनको भारी विसाउने चौतारी नै हो यो | माथि लेकको भोटे गाउँबाट एकजना लामा आए, काठमाण्डौ तिरबाट श्रेष्ठ र बज्राचार्य थर भएका दुई नेवार आए | संगै एक जना शैव र एकजना वैष्णव साधुसन्त पनि जम्मा भए | सबैले मलाई प्रश्न गरे मलाई जवाफ दिने मुड नै थिएन | रिसाउँदै ठुलो स्वरमा भने “हे भगवान मलाई किन काल पनि आउंदैन ?”

हाँस्दै लामाले भने:- “के खान बाँचेको त ? प्रकृतिको अन्न नास के को लागी ? श्रेष्ठले थपे: “उमेरमा उद्योग व्यवसाय गरेन, काम नगरे पछी पैसा नकमाए पछी दु:ख हुन्छ नि !” शैव सन्तले भने: “ छोड, चडाइदेउ सबै, स्वाहा …….! शुन्यबाट जीवन सुरु गर ! वैष्णव सन्तले भने: हैन समाज परिवार मै बसेर पनि वैराग्य शान्ति प्राप्त गर्न सकिन्छ नि ! बज्राचार्यले भने: तन्त्र मन्त्र पुजा पाठ श्राद्ध भक्ति ध्यान नगरी कसरी सुख हुन्छ ?

सबै बुद्धिमान छन् | सबैको तर्क ठिक छ | यो हो नेपाली समाज, मलाई सबैले सत्मार्ग देखाउंदै छन् | सहानुभूति देखाउंदै छन् | मुक्तिको मार्ग देखाउंदै छन् | कुन मार्ग सत्य हो ? कसको कुरा सहि हो ? कसको बाटो हिड्नु ? मेरो दु:ख माथि अर्को दु:ख थपियो | यी सत्मार्ग नै मेरा लागी दु:ख भए | हिमाल पहाड तराइका यी सबै समुदायलाई सत्मार्ग देखाउने साझा करुणामय दर्शन नै नेपाली बौद्ध दर्शन हो | ईश्वर छन् त ? तपाईलाई के लाग्छ ? छन् ? या छैनन् ? कि थाहा छैन ? पूर्वीय दर्शन अनुरुप जस्तो दृष्टि उस्तै सृष्टि भनिन्छ | तपाइँ हामीलाई ईश्वर छन् भन्ने लाग्छ भने ईश्वर छन् | तपाइँ हामीलाई ईश्वर छैनन जस्तो लाग्छ भने ईश्वर छैनन् | यदि थाहा छैन भने थाहा छैन | यी तिनैवटा दृष्टान्त सही छन् | पक्का के छ भने जन्मेको मर्छ | कुनै चिज पनि नित्य छैन | सब अनित्य छ | सबै अनित्य छ | हिन्दुहरु आत्मा (ईश्वरको अस्तित्व) नित्य हुन्छ भनेर विश्वास गर्छन | आफु खुद के हो ? के गर्न जन्मिएको ? के गर्दैछु ? भन्ने सम्म जानकारी नहुने मानिसले आत्मामा ईश्वर छ कि छैन कसरी जानकारी पाउन सक्छ ? त्यसैले यस्ता हामी सबैलाई दु:ख छ | जीवनमा धेरै समस्या रोग ब्याध छ | कुनै देवीदेवता आएर हाम्रो उद्धार गर्दैनन् | कुनै मन्त्रतन्त्र पुजापाठले हाम्रो दु:ख हर्दैन | तन्त्र मन्त्र यन्त्रले काम गर्न यी सबै विधामा पारङ्गत हुनुपर्दछ | सिद्धि प्राप्त हुनु पर्दछ | त्यसैले दु:ख छ, दु:ख पाउनुको कारण छ, दु:ख निराकरण गर्न सकिन्छ | यसको मार्ग छ | यहि हो बुद्धधर्मको सार अर्थात चार आर्य सत्य | नमो बुद्धयाय: – बुद्धलाई नमस्कार छ | हिन्दु धर्ममा मात्र होइन, बौद्ध, जैन आदि धर्ममा पनि देवीदेवताहरुको महत्व रहेको पाइन्छ | देवलोकबाट देवताहरु भगवान बुद्धसंग ज्ञान आर्जन गर्न आउने गरेको उल्लेख बौद्ध शास्त्रहरुमा नै भेटिन्छ (बुद्धप्रिया, २०७६) | बुद्ध धर्म अनिश्वरवादी हो भन्नु अज्ञानता हो | भगवान आफैंले सिर्जना गर्ने हो | मार्ग आफैंले निर्धारण गर्ने हो | तत् त्वं असि – त्यो तिमी नै हो |

कर्मकाण्ड के हो ? गौतम बुद्धको सन्दर्भमा, त्यसबेलाको समाज कर्मकाण्ड र अनुष्ठानको प्रक्रियाहरूमा जकडिएको हुनाले, जब उनले कुनैपनि कर्मकाण्ड र अनुष्ठान संलग्न नरहेको आध्यात्मिक प्रक्रिया प्रस्तुत गरे, त्यो अत्यन्तै लोकप्रिय भयो | यदि त्यस समाजमा खासै कर्मकाण्ड र अनुष्ठानको प्रक्रियाहरू नभएको भए, उनको प्रक्रिया नौलो कुरा हुने थिएन र त्यस हदसम्म महत्त्वपूर्ण बन्ने थिएन (सदगुरु, २०२३) | उनि थप्छन आदियोगी शिव र बुद्धको मार्गमा के भिन्नता छ ? यस प्रश्नको उत्तर दिने क्रममा सद्‌गुरु बताउनुहुन्छ कि शिवद्वारा प्रस्तुत आध्यात्मिक प्रक्रियाको सबै ११२ आयामहरूमध्ये बुद्धले केवल एउटा पक्षमा काम गरेका थिए | मानवजातिलाई सक्षम र सशक्त बनाउने साथै मानव चेतनालाई माथि उठाउने सन्दर्भमा शिवको जुन योगदान छ, त्यसलाई यथेष्ट रूपमा पहिचान गरिएको छैन, जुन असाध्यै महत्त्वपूर्ण छ । यो कर्मकाण्ड सम्बन्धित ११२ वटा विधामा यौटा सामान्य मान्छे जान सक्दैन | त्यसैले “एको हम द्वितोयो नास्ती” | आफ्ना पुर्खा देखि चलिआएको कर्मकाण्ड (धर्म कर्म रिति रिवाज परम्परा) समय सापेक्ष रुपमा बैज्ञानिक तरिकाले ग्रहण गर्नु नै बुद्धिमानी हुन्छ | चटक्कै छोड्नु जरुरि छैन | कर्म नै पहिचानको आधार हो | यहि कर्म काण्डले नै हाम्रो पहिचान दिएको हुन्छ |

एकदिन पर्यटन व्यवसायी कर्ण शाक्यले सिन्धुलीस्थित दुम्जा क्षेत्रको फोटो सामाजिक सञ्जालमा राखेर लेखे– ‘हाम्रो कुलदेवता कुशेश्वर महादेवस्थानमा पनि पुगियो’ | उनको यो ‘स्टाटस’ मा केहीले ‘महादेव कसरी शाक्यको कुलदेवता ? प्रमुख कुरा बौद्ध देवीदेवतालाई कुलदेवताका रूपमा पुज्ने हिन्दू र हिन्दू देवीदेवतालाई कुलदेवताका रूपमा पुज्ने बौद्धको यो सन्दर्भ नेपालको धार्मिक इतिहासमा महत्वपूर्ण पाटो हो (महर्जन, बुद्ध र शाक्य, २०७६)| हिन्दुधर्मीहरू “शरणं प्रपद्ये” भन्ने गर्छन् भने बौद्ध धर्मीहरू “बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि” भन्ने  गर्छन् | सबैको अर्थ शरणमा पर्ने अर्थात् शरणागति नै हो | (पौडेल ‘चिन्तन’, २०७६ ) | भगवान कसलाई भन्ने र कसलाई नभन्ने भन्ने सन्दर्भमा गौतम बुद्धले स्पष्ट शब्दमा व्याख्या गरेका छन् | रागादि सबै कुरालाई भंग गरिसकेको र फेरि जन्मनु नपर्ने भएकाले आफूजस्तोलाई नै ‘भगवान’ भन्न सकिने कुरा बताएका छन् | “तत्वमसी” यस अवस्थामा बुद्ध भन्नु नै भगवान हो र भगवान बुद्ध भन्नुमा आपत्ती देख्नु जरुरी छैन (महर्जन, अनेक नामका भगवान बुद्धहरु, २०२० ) | नमो भगवतो अरहतो सम्मा सम्बुद्धस |

हिन्दु र बौद्धका समान देवीदेवता छन् | बौद्धहरुले गणेश, महादेव, भैरव, लक्ष्मी, सरस्वती, वसुन्धरा, बाराही, अष्टमातृका र योगिनीहरुलाई पनि बौद्ध परम्परा अनुसार मान्दै आइरहेका छन् | त्यसै कारणले पनि यहाँ प्राख्यात देवीदेवताहरुको पनि बुद्धसँग घनिष्टसम्बन्ध रहेको देखिन्छ | शुक्ल पक्ष अष्टमीका दिन देवाधिदेव पशुपतिनाथलाई बुद्ध भगवानको रुपमा पूजा गरिन्छ | बुढानिलकण्ठ नारायणको शिरमा पनि बुद्ध भगवान रहेको छ | यसरी बौद्ध धर्म, दर्शन र संस्कृतिले यहाँ बौद्ध र हिन्दू धर्मको अत्यन्तै गहिरो सम्बन्ध भएका प्रमाण धेरै नै भेटिन्छन् | हरेक वर्ष पशुपतिमा हजारौं बौद्ध धर्मावलम्बीहर गएर व्यापक रुपमा पूजा गर्ने चलन नै छ | पशुपतिको शिरमा भगवान बुद्ध देख्ने वित्तिकै भगवानसंग क्षमा मागी वागमती नदीको किनारमा गई सिद्ध भएका योगी नै विरुपाक्ष हुन् (श्रेष्ठ, २०७२ )| त्यसैले पशुपतिनाथ नै बुद्ध हुन् | अथवा बुद्ध नै पशुपतिनाथ हुन् | शिव तत्वमा कुनै विभेद छैन |

वैशाख पूर्णिमामा गौतम बुद्धको जन्म हुनु, त्यही दिन बोधिसत्व प्राप्त गर्नु र त्यही दिनमा ८० वर्षको उमेरमा भिक्षु आनन्द तथा अन्य भक्तजनसँग कुरा गर्दागर्दै कुशीनगरमा उनको स्वर्गारोहण हुनु यो एक असाधारण दैविक घटना हो | बौद्धहरूले तीर्थ तथा धामको रूपमा लुम्बिनी, बोधगया, सारनाथ, कुशिनगरलाई मान्छन् | बौद्ध धर्मबारे प्रसिद्ध वैज्ञानिक अलवर्ट एन्स्टाइनले भनेका थिए, ‘प्राकृतिक र अध्यात्मिक दुवैलाई समेटेर, प्राकृतिक र आध्यात्मिक सबै कुराको अनुभवबाट उत्पन्न हुने धार्मिक भावनामा आधारित सार्थक एकता हुनुपर्छ | आधुनिक वैज्ञानिक आवश्यकताहरू पूरा गर्न सक्ने कुनै धर्म छ भने त्यो बुद्ध धर्म हुनेछ।’ हिन्दू र बौद्धमा अत्यन्त सौहार्दका साथ धार्मिक सांस्कृतिक सम्बन्ध कायम छ | वैदिक हिन्दू तथा बौद्धहरूमा मन्त्र, तन्त्र र यन्त्रमा गहिरो सम्बन्ध छ (प्रसाई, २०७९ ) | बैदिक हिन्दुधर्मका कुनैपनि पुजापाठ अनुष्ठान गर्दा संकल्प गर्दा नै बौद्धवातर अन्तर्गत भनेर संकल्प गर्नु पर्दछ | त्यसैले हिन्दु र बौद्धमा भेद गर्नु मुर्खता हो | तन्त्रका आदि गुरु भैरव नै शिव हुन् |

इतिहास खोज्दै जाने हो भने लिच्छवि राजा जयदेवले पशुपति अभिलेखको वंशावलीमा वृषदेव राजालाई ‘बौद्ध धर्मको पक्षपात गर्ने’ भन्दै प्रशंसा गरिएको छ | यसैगरी मल्ल राजाहरू हिन्दू तथा बौद्ध दुवै धर्मलाई आफ्नो मातृ धर्म जस्तो मान्यता गर्थे | नेपालका बज्रयानी बौद्धहरू देवीदेवताको पूजा गर्छन् र दशैंमा पनि पूजाआजा गरी चाड मनाउँछन् | शंकराचार्यले बौद्ध भिक्षु र भिक्षुणी बीचमा सामाञ्जस्य ल्याउन बौद्ध धर्मभित्र सन्यासी आश्रम र गृहस्थाश्रम हुन्छन् भन्ने परिभाषा गरेको बेलादेखि बौद्ध धर्ममा सन्यासाश्रम र गृहस्थाश्रमको विकास भएका बेलादेखि बौद्ध धर्म विश्वव्यापी हुन गएको हो | त्यसबेला बौद्ध गन्थहरू सुरक्षार्थ पशुपतिनाथमा राखेका थिए (प्रसाई, २०७९ ) | राजा अम्शुबर्माको छोरी भृकुटीले बुद्धको शान्ति संदेश उत्तर चिन तिब्बतमा फैल्याएको भब्य इतिहास त छंदै छ |

यसैगरी बज्रयान बौद्ध परम्परामा भैरवतन्त्रको योग-साधनाद्वारा सिद्धी प्राप्त गरिन्छ | त्यसमध्येको एक हो गुरु रिम्पोछे (पद्मसम्भव) उहाँले भैरवतन्त्र साधनाबाट अमिताभ बुद्धको साक्षत दर्शन गरेर महामुद्रमा सिद्धी प्राप्त गर्नु भएको हो | यता हिन्दु भित्र भैरव शिवको अर्को उग्र रुप हुन् भय-रव अर्थात “भय” बाट रक्षा गर्ने महादेवको अर्को रुपमा मानिन्छ भने बौद्धले भैरवलाई बोधिसत्वहरुका, बज्रभैरव, तथा यमन्तकको रूपमा पुजा गर्ने गर्दछन (श्रेष्ठ, २०७२ ) | बौद्ध ग्रन्थ पालीमा सिद्धार्थ गौतम बुद्ध अगाडिको २९ वटा बुद्धको नाम मध्ये तणंकर बुद्ध ,शणंकर बुद्ध , मेघंकर बुद्ध, शंकर भगवानको नै अर्को नाउँ हो भन्ने एकथरी विद्वानहरुको मत राख्दै सैव दर्शनको थुप्रै सैद्धान्तिक आधारहरु प्रस्तुत गरेको छ |

श्रीधर रेम्पोछेले “शैव तन्त्रशास्त्र रुद्रयामल र ब्रम्हायामलमा ऋषि वशिष्ठ बुद्धरूपी शिवको दर्शन गर्न भनेर महाचीन (तिब्बत) जानु भयो” भनेर उल्लेख गरेको पाइन्छ | यसरी शैव र बौद्ध दर्शनमा एकता छ | जनसंख्याका दृष्टिले नेपालमा हिन्दूहरूको संख्या ८५ प्रतिशतभन्दा धेरै भए पनि बौद्धप्रति हिन्दूहरू नकारात्मक हुँदैनन्, छैनन् | हिन्दुहरु भगवान बुद्धलाई विष्णुको ९औं अवतारको रूपमा मान्छन भने यसैगरी यसरी बौद्धहरू पशुपतिनाथलाई घोलाङवाकछयूक भनेर मान्छन्, गुह्येश्वरीलाई फामाडोलछयूक भन्छन् (प्रसाई, २०७९ )| यस्तै बुद्ध, हिन्दु धर्मावलम्बीहरुका लागि भगवानका नवौं अवतार हुन | बुद्ध धर्माबलम्बीहरुका लागि एकमात्र देवता (आचार्य, २०१३ ) हुन् | के हिन्दू के बौद्ध, हामी सबैलाई सृष्टि गर्ने त एकै हुन् | आदियोगी प्रथम ध्यानीबुद्ध नै भगवान श्रीपशुपतिनाथ हुनुहुन्छ |

संस्कृतिविद् डा. जगमान गुरुङ भन्छन्, ‘यही काठमाडौं वरिपरि आठवटा शिवलिङ्ग छन् | यी शिवलिङ्गहरूलाई यहाँका बौद्धहरूले अष्ट-वैतराग अर्थात् रागरहित अष्टबोधिसत्वका रूपमा मान्छन् | शैवहरू शिवका रूपमा मान्छन्, बौद्धहरू अष्टबोधिसत्वका रूपमा अर्चना गर्छन् | चौसठ्ठी शिवलिंगमध्ये दुम्जामा कुशेश्वर महादेव छन् | जुन काडमाडौंका बौद्धमार्गी शाक्य–बज्र्राचार्यहरूका कुलदेवता हुन् | शाक्य कै कुल देवता महादेव हुनु भनेको बुद्धको पनि कुल देवता महादेव नै हो भन्न सकिन्छ | तर “फुटाउ र राज गर” भन्ने सिद्धान्तको शिकारमा परेकाहरुमा समस्यै छ | आफुलाई भक्त भन्ने तर मनमा घृणा इर्स्या राख्ने अल्पज्ञानीहरु नै समस्याका मूल जड हुन् | न केहि तिम्रो न केहि मेरो – तुतु मेमे नै प्रमुख समस्या हो | बुद्ध पनि मेरो पशुपति पनि मेरो | विश्व ब्रह्माण्डका मालिक कैलास पर्वतमा वस्ने हिमालय पर्वतकी छोरी पार्वती विहे गर्ने गणेश र कुमारका पिता भगवान भोलेबाबा शिवसंकर श्रीपशुपतिनाथ नेपाली हुन् | विष्णु र शिवमा भेद छैन | भर्ता भोक्ता महेश्वर नै महाविष्णु हुन् | उनै आदिसंकराचार्यका अनुसार महाविष्णुका ९औ अवतार नै भगवान बुद्ध हुन् | विष्णु वेदमै वर्णित भगवान हुन् | त्यसैले भगवान बुद्ध बैदिक हुन् |

स्वामी विवेकानन्दलेस्पष्ट रुपमा बारंम्बार भन्नु भएको थियो कि विष्णु भगवानका पुराना अवतारहरुले गर्न नसकेको काम पुरा गर्न, हिन्दुधर्मलाई पूर्णधर्म बनाउन र मानव कल्याणका लागि बुद्ध भगवानको जन्म भएको हो भनेर | त्यसैले हिन्दुको पुरक बौद्ध र बौद्धको पुरक हिन्दु धर्म हो | राहुल साँस्कृत्यायनले आफ्नो पुस्तक “बौद्ध संस्कृति” नामक पुस्तकमा इन्डोनेशियाको हिन्दु सैव मार्गीको पुजामा बौद्ध भिक्षु लाई पनि राखेर पुजा गर्ने चलन छ, दक्षिण मुख फर्काएर बौद्ध भिक्षु पाठ गर्ने पुर्व पश्चिम् उत्तर र एकजना बिचमा बसेर सैव पुजारी पुजा गर्ने परम्परा अद्यावधिक रहेको छ, त्यहाँ राजाको देहावसान हुँदा सैव पुजारीले मन्त्रोच्चरण गरेको जलमा बौद्ध भिक्षुले मन्त्रोचरण गरेको जल मिलाउने गरेपछि बल्ल अमृत जलले पुर्णता हुने रहेछ भनेर बौद्ध र हिन्दु धर्मको परिपुरक्ता प्रष्ट्याएका छन् | त्यसैले विभेद गर्नु नै धर्मको विरुद्ध जानु हो | आफ्नै पुर्खा र इतिहास नचिन्नु अथवा इतिहास मेटाउन उद्धत हुनु हो | जसरि बुद्ध धर्ममा जात भात छैन भनिन्छ त्यस्तै पाशुपत दर्शनमा भगवान भोलेनाथको जात धर्म वर्ण लिंग आकार प्रकार केहि छैन | जो छैन नि, त्यहि शिव हो | त्यसैले शिव शुन्य हो | सुन्यतावाद र प्रतित्यसमुत्पद दुवै दर्शन कर्मको सिद्धान्तमा आधारित छन् | त्यसैले शिव तत्व र बुद्ध तत्वमा विभेद छैन | शिव, बुद्ध, राम, कृष्ण जे जे भने भने पनि सत्य त एकै हो नि | सत्यमा विभेद अक्षम्य छ | अध्यात्म भनेको आफु भित्रको हरिलाई चिन्नु हो | मनमा बसेको करुणामयलाई बुझ्नु हो |

सामान्य मान्छेले आफु को हो, के हो त चिन्दैन भने – देवता, भगवान, आत्मा, चित्त, बुद्ध तथागत केहि पनि चिन्दैन, चिन्नै सक्दैन | आफुलाई चिन्ने मान्छेले हरेक पदार्थको गुण र अवगुण छुट्याउन सक्छ | हिन्दु नराम्रो बौद्ध राम्रो वा हिन्दु राम्रो बौद्ध नराम्रो भन्नु सबै भन्दा तुच्छ र मुर्खता हो | दुवै राम्रा छन् | बुद्ध बचन अनुरुप “कोहि प्रिय वा अप्रिय हुँदैनन्” | सबैको मृत्यु निश्चित छ | दु:ख, कारण, निराकरण, र मार्ग चार आर्य सत्य भन्दा माथि सबै बुद्धिविलास मात्रै हो | बिदेशीहरुले “फुटाउ र राज गर” भन्ने नीति अनुसार हिन्दु र बौद्ध जुधाएर दुवै सभ्यतालाई मेटाउन लागि परेका छन् | हामी होशियार हुनु जरुरि छ | हाम्रो लागी हिन्दु-बौद्ध गाई-गङ्गा बराबर हो | पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भुनाथ, मुक्तिनाथ, मत्सेन्द्रनाथ, कुमारी, बज्रयोगिनी, लोकेश्वर, इन्द्र, भैरव, गणेस सबै हाम्रा पुजनीय हुन् | पुर्खादेखि चल्दै आएको परम्परा नै हाम्रो पहिचान हो | बौद्ध र हिन्दु भनेर विभेद गर्नु नै फुट ल्याउन खोज्नु हो | फुटेर होइन जुटेर हाम्रो धर्म संस्कृति सभ्यता र पहिचान विश्वव्यापी बनाउनु पर्दछ | पशुझैं सामाजिक संस्कृतिक पारिवारिक माया मोहमा बाँधिएका अज्ञानी पशुका उद्धारकर्ता मालिक नै पशुपतिनाथ हुन् |

सन्दर्भ सूची:
आचार्य, मधुसुदन. (२०१३). बुद्ध कसरी नवौँ अवतार ? क्यानाडा : https://mysansar.com/2013/05/5066/.
तामांग, चन्द्र. (२०८०). धार्मिक सद्भाव र सहिष्णुताकाे मुहानः हलेसी महादेव. खोटांग, हलेसी: https://www.himaldarpan.com/news/halesi-3/.
पौडेल चिन्तन, अच्युतराज . (२०६७). बुद्ध धर्म एक दर्शन. काठमाडौं: https://madhyanhadaily.com
प्रसाई, दीर्घराज. (२०७९). महामानव गौतम बुद्ध र अहिंसाको मार्ग. काठमाडौं: https://nagariknews.nagariknetwork.com/opinion/826231-1652780169.html?click_from=category.
बुद्धप्रिया, टेकबहादुर थापा. (२०७६). बुद्ध र देवताहरु. काठमाडौं: https://www.wenepali.com/2019/05/62824.html.
महर्जन, वसन्त . (२०२०). अनेक नामका भगवान बुद्धहरु. काठमाण्डौ: https://nepalbuddhistnews.com/2020/08/2957.
महर्जन, वसन्त . (२०७६). बुद्ध र शाक्य. ललितपुर : https://www.himalkhabar.com/news/12585.
श्रेष्ठ, मानव. (२०७२). बुद्धका रुपमा पुजिने पशुपतिनाथ. काठमाण्डौ: https://www.souryaonline.com/2015/11/120418.html.
सदगुरु, जग्गी वाशुदेव. (२०२३). शिवलाई किन महादेव भनिन्छ ? कोयम्बतूर: https://isha.sadhguru.org/mahashivratri/ne/shiva/shiva-as-mahadeva/.

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button