
क्षितिजजस्तै तिमी
रेशम रेग्मी
तिमी क्षितिजजस्तै छ्यौ,
देखिन्छौ नजिकै,
तर जब छुन खोज्छु
तब झन् टाढा भाग्छ्यौ।
म जति हिँड्छु
तिमीतिर,
उति नै तिमी
पर पर सर्र्छ्यौ ।
आकाश र जमिन जस्तै
हामी भेटिन्छौं,
तर आँखामा मात्र।
बीचमा एउटा दूरी छ
जो न मेटिन्छ,
न कम हुन्छ।
नजिकै भएर पनि
म बाट टाढा छौ तिमी।
तै पनि अचम्मको कुरा के छ भने,
क्षितिज हेर्दा
आशा जाग्छ।
लाग्छ
निरन्तर पाइला चालेँ भने
हामी एकदिन भेटिन्छौं।
यो आशाले नै
मलाई तिमीतिर
हिँडाइरहन्छ।
सायद प्रेम पनि
क्षितिज नै हो,
न त पूरै भेटिन्छ,
न त पूरै मेटिन्छ।
यो त एउटा सुन्दर
धोका हो
जसलाई मन
हर दिन महशुष गर्न चाहन्छ
त्यसैले तिमी आफु लाई
क्षितिज जस्तै नै रहन देऊ,
नजिक पनि र टाढा पनि।
कम्तीमा आँखा अगाडि त छौ,
यो नै काफी छ
यो यात्रा काट्नलाई।
किनकि जुन दिन
तिमी देखिन छोड्नेछौ,
त्यस दिन
मेरो बाटो पनि
सकिनेछ।
…
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



